त्रिभुवन विमानस्थलको ‘रनवे रिह्‍याब’ को मुख्य काम सकियो

त्रिभुवन विमानस्थलको ‘रनवे रिह्‍याब’ को मुख्य काम सकियो

सिवी अधिकारी/काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ। विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ।

धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए। उनका अनुसार धावनमार्ग खनेर पिच परिवर्तन गर्ने पहिलो चरणको काम सकिएको छ। अब पुनः पातलो गरी कालोपत्र गरिनेछ।

बाँकी काम यही असार १५ भित्रै सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको छ। आयोजनाले गत चैत १८ देखि धावनमार्ग मर्मतको काम सुरु गरेको थियो। नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्णरुपमा पिच परिवर्तन गर्न लागिएको हो।

स्तरोन्नतिको काम थालिएको तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिँदै आएको छ। आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार धावनमार्गको पहिलो चरणको कालोपत्र यही जेठ २५ गते सकिएको थियो। दोस्रो चरणको पिच राख्ने कार्य पुनः सुरु भइसकेकाले अबको १५ दिनभित्र धावनमार्गको स्तरोन्नतिको काम सकिने श्रेष्ठको भनाइ थियो।

धावनमार्ग मर्मतको पहिलो चरणमा तल्लो ‘लेयर’ को काम सकिएको छ। यसमा २० सेन्टिमिटर कालोपत्र गरिएको छ। अब दोस्रो चरणमा ६.५ सेन्टिमिटर कालोपत्र थपिनेछ। धावनमार्गको मर्मतसँगै पहिलो पटलक ‘रनवे सेन्टरलाइन लाइट’ जडान गरिएको छ। बत्ती जडानको अहिलेसम्म ‘डट’ हाल्ने काम सकिएको छ।

यसअघि विमानस्थलमा रनवेको ‘एज लाइट’ मात्र थियो। स्तरोन्नतिको सुरुआती चरणमा एक/दुई दिनबाहेक बिना अवरोध तीव्र गतिमा काम भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। नेपाली तथा चिनियाँसहित २५० भन्दा बढी जनशक्तिले काम गरिरहेका छन्।

धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ। धावनमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेकाले निर्धारित समयअगाडि नै काम सकिने आयोजना निर्देशक पौडेलको भनाइ छ।

धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो। सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो।

धावनमार्ग मर्मत जिरो टूबाट सुरु गरिएको थियो। हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ।

धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो। निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ। उक्त कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ।

गौचरनबाट सुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्यहोरिसकेको छ। सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो।

हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन्। सन् २०१९ देखि २०११ सम्म विमानस्थलको धावनमार्गको ‘ओभर ले’ गरिएको थियो।

सन् २०१३ देखि पिच उप्किने समस्या आयो। त्यसको अस्थायी समाधान गरिरहेका बेला सन् २०१५ को भूकम्पले सतहमा खासै क्षति नपुर्‍याएको भए पनि भित्री तहमा समस्या उब्जेको विज्ञहरुले बताएका थिए।

अन्तर्राष्ट्रिय परामर्शदाताबाट पनि रनवे तथा ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेको नयाँ प्रविधि प्रयोग गरी नयाँ पेभमेन्ट राखी रिह्याब गर्न सुझाएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.