यार्सा टिप्न गएका युवककाे लेक लागेर मृत्यु
जोमसोम : यार्सागुम्बा टिप्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ लेकमा पुगेका दुई युवामध्ये एकजनाको लेक लागेर पाटनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोर्खा धार्चे गाउँपालिका–४ घर भएका ४५ वर्षीय राजेन्द्र घलेको यार्सा पाटनमा मृत्यु भएको हो । स्थानीयका अनुसार घले मुटु रोगबाट पीडित थिए ।
छुसाङ पाटनमा यार्सा टिप्न घलेसहित उनका साथी सोलुखुम्बु बुङ्गर–६ बस्ने ३२ वर्षीय सुमन राई जोमसोमबाट एक साताअघि यार्सा पाटन प्रस्थान गरेका थिए ।
उनीहरु छुसाङ गाउँबाट पूरै दुई दिन ठाडो उकालो उक्लेर पाटन पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली र मृतक घलेका आफन्तले यार्सा पाटनमै पुगेर लाश जोमसोम ल्याइ सनाखत गरेको प्रहरीले जनाएको छ । मुस्ताङका करिव आधा दर्जन यार्सा पाटनमा स्थानीय र जिल्ला बाहिरका सर्वसाधारणको पनि भीड लागेको छ ।