कार्यालयमा कसको तस्बिर राख्‍ने ?

कार्यालयमा कसको तस्बिर राख्‍ने ?

गणतन्त्र आएपछि पनि राष्ट्रपतिको तस्बिर देशभरिका कार्यालयमा राखेर राजतन्त्रकालीन मानसिकतालाई किन निरन्तरता दिइयो ?


सन् २००२ मा एउटा मानव अधिकार संस्थाको कार्यक्रममा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेको बेला भारतका तत्कालीन राष्ट्रपति केआर नारायणन्सँग भेट्ने संयोग मिलेको थियो। आयोजक संस्थाका सहअध्यक्ष भारतका पूर्वप्रधानमन्त्री आईके गुजराल थिए। गुजरालको प्रधानमन्त्रीत्वकालमा नारायणन् राष्ट्रपति निर्वाचित भएका थिए। कार्यक्रमका सहभागीका लागि राष्ट्रपति भवनमा जलपान आयोजना गरिएको थियो। सहभागीहरू २५० भन्दा बढी हुनुपर्छ, प्रत्येकसँग राष्ट्रपति नारायणन्ले हार्दिकताका साथ हात मिलाए। कूटनीतिक/प्राज्ञिक पृष्ठभूमिका नारायणन्को विनम्रताले धेरैको मन जित्यो।

नेपालमा २०६५ सालमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने अवसर डा. रामवरण यादवले पाए। गणतन्त्रवादी अभियन्ता नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ नामक बन्दी वृत्तान्त वैशाख महिनामा सार्वजनिक भयो। कुनै बेला नेपाली कांग्रेसको प्रवक्तासमेत रहेका आचार्यले दरबारविरोधी अडानका कारण प्रवक्ता पदबाट हात धुनुपरेको थियो। २०६२ माघ/फागुनमा आचार्यलगायत हामी एक दर्जन बढी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा बन्दी बनाइएका थियौं। आचार्यका अनुसार, त्यो बेला नरहरिका कारण दरबारसँग कांग्रेसको सम्बन्ध बिग्रने भयो भनेर आचार्यलाई ठुङ्ने अग्रपंक्तिमा रामवरण यादव थिए।

भाग्यले साथ दिएकाले यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बने तर उनी/उनका समर्थकले रामवरणलाई यदाकदा नेपालको ‘संस्थापक राष्ट्रपति’ को रूपमा चित्रण/प्रचार गर्न खोजे जुन धृष्टता मात्र नभएर अपराध पनि हो। गणतन्त्रको ‘ग’ समेत उच्चारण नगरेको मान्छे कसरी संस्थापक राष्ट्रपति हुन सक्छ ? जबकि नेपालमा गणतन्त्रको संस्थापक भनेको ती लाखौं नागरिक हुन्, जुन आन्दोलनमा तातो गोलीको परवाह नगरी ज्यान हत्केलामा राखेर सडकमा उत्रिएका थिए। देशको पहिलो राष्ट्रपति, सौम्य र भद्र हुनुपर्ने तर नानीदेखि लागेको बानी छुट्दो रहेनछ, जहाँ पनि बकबक गरिरहनुपर्ने। त्यसैले पहिलो राष्ट्रपतिको छवि ‘बकबके’ को रूपमा हुन पुग्यो। दोस्रो राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीलाई चिट्ठा पर्‍यो। गणतन्त्रको उच्चारणसमेत सुन्न नचाहने भण्डारीको बेहोराका कारण चिट्ठा पर्‍यो भनिएको हो। भण्डारीको बानी यस्तो, सधैंभरि यो पुगेन, ऊ पुगेन भनेर कचकच/गनगन मात्र गरिरहने। दुर्भाग्य भन्नुपर्छ– दोस्रो राष्ट्रपति छवि ‘गनगने’ को रूपमा हुन पुग्यो।

सन् २००९ को अगस्तमध्येमा भारतको स्वतन्त्रता दिवसका सन्दर्भमा काठमाडौंस्थित भारतीय दूतावासले चाबहिलको एउटा पाँचतारे होटेलको सभाकक्षमा सांगीतिक प्रस्तुतिसहित एउटा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा आमन्त्रण गरिएको हुँदा निर्धारित समयमै म पुगें र पछिल्लो लहरतिर बसें। उक्त कार्यक्रमको प्रमुख अतिथि को हो मलाई थाहा थिएन। एकछिनपछि सभाकक्षमा उपस्थित सबै जर्‍याकजुरुक उठे, यसो हेरेको राष्ट्रपति डा. रामवरण यादव रहेछन् तर म उठिनँ। अगाडिकाले नदेखे पनि पछाडिको लहरमा बसेकाहरू आश्चर्यचकित भावले मलाई हेर्न थाले। मेरो देशको राष्ट्रपति आउँदा राष्ट्रिय धुन बज्नुपर्छ, तर त्यहाँ नेपालको राष्ट्रिय धुन बजाइएन। पदीय गरिमा कायम राख्न नसक्ने, हल्का भएर अनेकौं कार्यक्रम चहार्ने राष्ट्रपतिको आगमनमा नागरिक किन उठ्नुपर्ने ? पञ्चायत/बहुदलीयकालमा तत्कालीन राजालाई दूतावासहरूले निमन्त्रणा पठाउँदा कहिले शाही नातेदार त कहिले दरबारका सचिवलाई पठाएको समाचारमा पढ्न पाइन्थ्यो। त्यति मर्यादा पनि गणतन्त्रका राष्ट्रपति/उपराष्ट्रपतिले कायम गर्न सकेनन्। पञ्चायतकालमा केही मन्त्री/सहायक मन्त्री गाडीमा झन्डा हल्लाउँदै भट्टी छिरे भनेर दरबारले झन्डा खोसिदिएको चर्चा सुनिन्थ्यो। गणतन्त्रका केही मन्त्रीले राष्ट्रिय झन्डाको अपमान हुने गरी आचरण गर्दा तिनको झन्डा खोस्ने ह्याउ किन गणतन्त्रका प्रधानमन्त्रीहरूमा देखिएन ?

युक्रेनका नवनिर्वाचित राष्ट्रपति जेलेन्सकीले केही साताअघि उद्घाटन मन्तव्यमा सरकारी कार्यालय/सार्वजनिक स्थानहरूमा आफ्नो तस्बिर नराख्न आह्वान गरे। हास्य कलाकारसमेत रहेका राष्ट्रपतिले आफू आइकन नभएको दोहोर्‍याउँदै राष्ट्रपतिको तस्बिरको सट्टा आफ्ना बालबालिकाको तस्बिर झुन्ड्याउन र हरेक निर्णय गर्दा त्यही तस्बिर हेरेर निर्णय गर्न आग्रह गरे। जो नागरिकको हृदयमा बसेको छ, उसको तस्बिर कहीं सजाउनु पर्दैन। तर नेपालमा राजा/महाराजाहरूको सिको गर्दै रामवरण यादव र विद्यादेवी भण्डारीको तस्बिर किन देशभरिका कार्यालयमा राखियो ? गणतन्त्र आइसकेपछि पनि राजतन्त्रकालीन मानसिकतालाई किन निरन्तरता दिइयो ?

११ वर्षअघि देशमा गणतन्त्र स्थापना भयो, तर गणतान्त्रिक संस्कृति स्थापना हुन सकेन। राष्ट्रपति–उपराष्ट्रपति जो नेपालका आलंकारिक पद हुन्। उनीहरूलाई देख्दा श्रद्धाले शिर झुक्नु राम्रो तर अहिले ग्लानिले नागरिकको मन पोलेको छ भन्ने चर्चा चुलिँदै गएको छ। गणतन्त्रका ती सर्वोच्च सम्मानित पदमा आसीनहरूलाई देख्दा सम्मानसहित नागरिकको दुई हात जोडिनुपर्ने हो। तर अहिले अधिकांश नागरिक राष्ट्रपति–उपराष्ट्रपतिलाई देख्दा धारे हात लाएर सराप्न थालेको सुनिन्छ ? एउटा कारण प्रस्ट छ– सवारीका नाममा नागरिकले भोग्नुपरेको सास्ती।

काठमाडौंमा पिच सडक ११ सय किलोमिटर पनि छैन तर बागमती अञ्चलमा मात्र ११ लाख सवारी साधन दर्ता भएका छन्। यसमध्ये ८ लाख बढी मोटरसाइकल मात्रै छन्। काठमाडांै ट्राफिकले तीन वर्षअघि सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंका सडकको लम्बाइ ४८ लाख फिट र दर्ता भएका सवारी साधनको लम्बाइ ७२ लाख फिट छ। यस्तो अवस्थामा राष्ट्रपतिको सवारी चलाउने नाममा सडकमा हुने जाम र आम नागरिकले खेप्नुपरेको सास्ती अवर्णनीय छ। राष्ट्रपति–प्रधानमन्त्रीले हवाई यात्रा गर्दा आकासे ट्राफिकलाई पनि त्यसरी नै अस्तव्यस्त बनाइएको छ। यो कथित चलन वा नियम किन फेरिँदैन ? नियम भनेको नागरिकको सुविधाका लागि हो वा पदाधिकारीको फोस्रो मान–सम्मानका लागि ?

नेपालमा गणतन्त्रको संस्थापक भनेका ती लाखौं नागरिक हुन्, जो आन्दोलनमा तातो गोलीको परवाह नगरी ज्यान हत्केलामा राखेर सडकमा उत्रिएका थिए।

पञ्चायतकालमा राजा–महाराजाको जन्म दिनमा होस् वा कथित सवारीमा विद्यालयका ससाना विद्यार्थीलाई तातो घाममा टट्याइन्थ्यो। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केही महिनाअघि गुल्मी भ्रमण गर्दा विद्यार्थी जम्मा गरेर दुःख दिएको देखियो। भन्नलाई विद्यालयकै कार्यक्रम भएकाले विद्यार्थी आएका हुन् भनिए पनि पञ्चायतकालीन मानसिकता फेरिएन। उपराष्ट्रपति नन्दबहादुर पुनको रौतहट भ्रमणका दौरान ससाना बालबालिकालाई लाइन लगाएर घन्टौंसम्म तातो घाममा हिँडाएको देखियो। कुनै पनि प्रकारको जुलुस र आमसभामा १६ वर्षमुनिका बालबालिकालाई संलग्न गराउनु हँुदैन भनेर हामी आग्रह गरिरह्यौं तर गणतन्त्र नेपालका राष्ट्रपति–उपराष्ट्रपतिलाई कलिला बालबालिकालाई कष्ट नदिई निद्रा पर्दैन। गणतन्त्र नेपालका राजनीतिक दलमध्ये कतिपयलाई १६ वर्षमुनिका बालबालिकालाई प्रचारमा नहिँडाइ निद्रा पर्दैन।

तीन वर्षअघि सैनिक श्रीमती संघको ब्यानरमुनि आयोजना गरिएको एउटा कार्यक्रममा भाग लिन सेनाले भारतीय अभिनेत्री सोनाक्षी सिन्हालगायतलाई काठमाडौं आमन्त्रण गरेको थियो। त्यस क्रममा बहालवाला एकजना जर्नेलले सैनिक पोसाकमा हवाई अड्डामा भारतीय अभिनेत्रीलाई स्वागत गरेको घटनाको तीव्र आलोचना भयो। संस्था/निकायहरूबाट काम गर्दा गल्ती हुन्छ तर त्यस्तो गल्तीलाई सुधार्ने इच्छाशक्ति र संयन्त्र हुनुपर्छ। त्यसपछि सेनाबाट त्यस्तो गल्ती दोहोरिएको देखिएन। राष्ट्रपतिको कथित सवारी प्रकरणमा सेनालाई दोष दिएर एकथरी मनपरीतन्त्रलाई ढाकछोप गर्न खोज्दै छन्। यो गल्ती सेनाको नभएर सरकार र राष्ट्रपति स्वयंको हो।

नेपालीमा एउटा उखान छ– आफू ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो। गणतन्त्रको एक अभियन्ताका हिसाबले लोकतान्त्रिक गणतन्त्रप्रति मेरो अनुराग छ। कतिपयले यसलाई आसक्ति पनि भन्न सक्छन्। गणतन्त्र जान्छ भन्ने म कल्पनासम्म गर्न सक्दिनँ। राजतन्त्रलाई बिदा गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु नेपालको इतिहासको अभूतपूर्व र महŒवपूर्ण घटनाक्रम हो। गणतन्त्रात्मक चेत र नागरिकको अपूर्व आवेगका अगाडि समस्त विश्व नतमस्तक भएको थियो। नेपालमा पनि जन्मजात दास मानसिकताको एउटा सानो पंक्तिलाई छाडेर सिंगो नेपालले गणतन्त्रलाई स्वागत गरेको थियो। त्यसरी स्वागत गर्ने पुरानो भारदारी पंक्तिको एउटा सानो जत्था अहिले पूर्व र वर्तमान राष्ट्रपतिको आचरण देखाएर फेरि राजतन्त्र पुनस्र्थापनाको माग गर्दै छ। नियत जेसुकै भए पनि निहुँ राष्ट्रपतिको आचरणलाई बनाइएको छ। यो क्रम रोक्न पनि राष्ट्रपतिको आचरण बदलिनु आवश्यक छ। तर, प्रधानमन्त्री ओलीको कण्ठबाट एउटै राग दोहोरिन्छ, राष्ट्रपतिको विरोध गर्नु भनेको गणतन्त्रको विरोध हो।

२०६२/६३ मा गणतन्त्रको उग्र विरोध गर्ने, गणतन्त्रवादीको हुर्मत लिने गणका गणनायक केपी ओली अहिले सत्ताको गुलियोमा भुलिन पाएकाले ओलीको कोपभाजनमा गणतन्त्र परेको छैन। र, केही हदसम्म सुरक्षित छ। गणतन्त्रविरोधीलाई पनि समाहित गर्दै राजनीतिक यात्रा सुनिश्चित गर्नु नै लोकतान्त्रिक गणतन्त्रको विशेषता हो। किशोरवयमा प्रवेश गर्न लागेको गणतन्त्रलाई बलियो बनाउन, नागरिकलाई बलियो बनाउनुपर्छ। नागरिकको गुनासा/सिकायत सुन्नै नचाहने, नागरिकको पीडा अनुभूत नगर्ने सरकार, नागरिक सरकार हुन सक्दैन। ओली नेतृत्वको यो सरकार, आकृतिमा नागरिक सरकार हो। तर यसको आत्मा निरकुंशतन्त्रको छ।

ओली सरकारको कुशासन र स्वतन्त्रताविरोधी सोचकै कारण गणतन्त्रविरोधीको मनोबल ह्वात्तै बढेको छ। कतिसम्म भने गणतन्त्र दिवसका दिन एउटा जमात ‘गणतन्त्रवादीलाई भगाऊ’ भनेर सडकमा नारा लगाइरहेको दृश्य युट्युबमा हेर्न पाइयो। राजतन्त्र पुनस्र्थापना अभियानमा ओली पथ र शैली सहयोगी हुन सक्ने विश्लेषणका कारणले होला, उनीहरूको आक्रोश राष्ट्रपति भण्डारी वा ओलीप्रति भन्दा गणतन्त्रका अभियन्ताप्रति ज्यादा छ। विगतमा पञ्चायत र राजतन्त्रको विरोध गर्दा जेल जानुपथ्र्यो। आज गणतन्त्रको सैद्धान्तिक विरोध गर्ने स्वतन्त्रता छ। गणतन्त्रको कसैले विरोध गर्दैमा वा कालो झन्डा देखाउँदैमा थुन्नु/थुनिनु हुँदैन तर गणतन्त्रका संस्थापक ती लाखौं नागरिकलाई भगाऔं भन्ने आँट पूर्वदरबारीमा कहाँबाट आयो ?

अन्त्यमा अर्को एउटा प्रसंग, फिनल्यान्ड र तान्जानियाका विदेशमन्त्रीको संयुक्त निमन्त्रणामा एउटा कार्यक्रममा भाग लिने सिलसिलामा सन् २००७ को अन्त्यमा म तान्जानियाको राजधानी दार ए सलाममा पुगेको थिएँ। म बसेकै होटेलमा तान्जानिया भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री पनि बसेका रहेछन्। क्यानडाजस्तो देशका प्रधानमन्त्री विदेश भ्रमणमा निस्कँदा त्यति ठूलो लावालस्कर देखिँदैनथ्यो, जति ठूलो लस्कर अहिले नेपालका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देखिन्छ। प्रधानमन्त्रीको विदेश भ्रमणमा राज्यकोषबाट खर्च कति भयो र भ्रमणको उपलब्धि के–के रह्यो ? प्रधानमन्त्री स्वयंले हिसाब दिनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.