विश्वकप क्रिकेटमा आज प्रभाव पार्न सक्ने खेलाडी
महेन्द्रसिंह धोनी (भारत)
भारतीय टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, महेन्द्रसिंह धोनी। धोनी आक्रामक ब्याट्सम्यानसँगै विकेटकिपर पनि हुन्। धोनीसँग भारतीय टोलीलाई सफल कप्तानी गरिसकेको अनुभव पनि छ।
अन्तिम विश्वकप खेलिरहेका ३७ वर्षीय धोनीले भारतका लागि तीन सय ४३ एकदिवसीयको दुई सय ९१ पालीमा ५०.५३ को औसतले कुल १० हजार पाँच सय ६१ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ८३ रन हो। एकदिवसीय क्रिकेटमा उनले १० शतक र ७१ वटा अर्धशतक बनाइसकेका छन्।
उनले तीन सय १५ क्याच लिएका छन् भने विपक्षी टोलीका एक सय २१ जना ब्याट्सम्यानलाई स्टपिम्ङ पनि गरेका छन्। जारी विश्वकपको अघिल्ला दुई खेलमा भने उनी खासै जम्न सकेनन्। दक्षिण अफ्रिकाविरुद्घ ३४ रनमा आउट भएका धोनी अस्ट्रेलियाविरुद्घ पनि २७ रनमै पेभेलियन फर्किएका थिए। तर, बिहीबार हुने न्युजिल्यान्डविरुद्घको खेलमा उनको प्रदर्शन भारतका लागि महत्त्वपूर्ण बन्न सक्छ।