डेंगु उकालो लाग्यो सरकार बेखबर

डेंगु उकालो लाग्यो सरकार बेखबर

पूर्वीनेपालमा लामखुट्टेको टोकाइका कारण डेंगु फैलिएको छ। यो रोगका बिरामी बढेका कारण सुनसरीको धरानमा डेंगु इन्डेमिक भएको छ। दुई सयभन्दा बढी संख्यामा यो संक्रमण रहेको पुष्टि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ टोलीले गरेको छ। टोलीले धरानका वडा नं ८ र १५ लाई डेंगु आपत्कालीन अवस्थासहितको डेंगु संक्रमित वडा घोषणा गरेको छ भने १३ र ९ वडामा समेत यसको प्रकोप बढेको छ।  

गत वर्ष पूर्वीक्षेत्रको दमकका विभिन्न भागमा करिब दुई दर्जन बिरामी सम्बन्धित रोगले ग्रसित भएको परीक्षणबाट पुष्टि भएको थियो। उनीहरूमा एनएसवानएजी रियाक्टिभ देखिएकाले यो रोग सुरुवाती अवस्थामा रहेको छ। कति बिरामीमा आईजीएम पनि पोजिटिभ देखिएको छ। रोग ठीक हुन लागेका बिरामीमा वा रोग सुरु भएको ४–५ दिनमा आईजीजी पनि रिएक्टिभ देखिन्छ। बिरामीमा सामान्य ज्वरो आउने, जीउ, हात, जोर्नी दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएको खण्डमा चिकित्सहरूले अन्य रोग पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगु रोगको पनि परीक्षण गर्ने अवस्था सिर्जना भएको छ।  

यसअगावै पनि डेंगु रोगबाट नेपालको पूर्वीभाग काँकडभिट्टामा दुई बिरामीको मृत्यु भएको पुष्टि भएसँगै बिरामी रोग पहिचान भएको थाहा पाएर आत्तिने गरेको पाइएको छ, तर त्यसो गरिनु हुन्न, यस रोगको नियन्त्रण र उपचार दुवै सम्भव छ। सरकारले यस प्रकारका रोगका बारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा समयमै चासो दिनुपर्छ। बिरामीको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा काम गर्नु हो तर स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय हुन नसक्दा रोग नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ।  

रोगको पहिचान दुई सय बिरामीमा गरिए पनि धेरैको पहिचान हुन सकेको छैन। किनकि सामान्य ज्वरो आएका बिरामी औषधीपसलमा पाइने सामान्य औषधी सेवन गर्ने र रोगले थलिएपछि मात्र डाक्टरको सल्लाह लिन अस्पताल आउने प्रचलनका कारण यस क्षेत्रमा यस रोगले विकारल रूप लिन सक्छ।  

डेंगु रोग

विश्वमा लामखुट्टेको टोकाइबाट अति शीघ्र फैलिने भाइरस संक्रमणबाट हुने रोगमध्येमा पर्छ– डेंगु। विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएर समस्याको जड भएको छ। यो रोग ग्रसित भएको क्षेत्रका मानिसको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले जनाएको छ। नेपालीको जस्तो आर्थिक स्तर कम भएको समाजमा यस रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकाले सरकारले समयमै समाधान खोज्न जरुरी छ।  

मानिसका शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीईएन एक प्रकारको डेंगु भाइरसको संक्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ। यो रोग मुख्यतः स्त्री जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। पानी जम्ने ठाउँ एयर कन्डिसन, फूलका गमला, पुराना टायर, ड्राम, नरिवलका खोस्टा, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलिने सम्भावना रहन्छ। तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो। साथै लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धूप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ।

डेंगु फैलिनुअघि सरकारी निकायले चासो दिएर रोग नियन्त्रणमा अथक प्रयास गर्नुपर्थ्यो। तर डेंगु रोग लाग्यो सरकार भने यो रोग नियन्त्रणमा फितलो देखिएको छ।    

सुरुमा बिरामीमा सामान्य ज्वरो आउने, जीउ हात दुख्ने, जोर्नी दुख्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने र आलस्य हुनेजस्ता लक्षण देखिन्छ। रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ। शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगत अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुन सक्ने भएकाले बेलैमा चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ। ज्वरो आएमा त्यसलाई सामान्यरूपमा नलिई अस्पताल गइहाल्नुपर्छ। तर यो रोग लागिहाल्यो भनेर आत्तिने र त्रासमा बस्ने पनि गर्नु हुँदैन किनकि अधिकांश रोगीको सामान्य उपचारपछि घर फर्काउन सकिन्छ। केही पाँच प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्छ, जसको सघन उपचार आवश्यक हुन्छ।  

बिरामीको लक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ। रगतमा श्वेत कोषिका, प्लेटलेटको संख्या कम भएमा वा रगतमा उक्त भाइरसको एन्टिजेन एनएसवानएजी पोजिटिभ आएमा सो भाइरसको बोझ शरीरमा रहेको बुझिन्छ। उक्त भाइरसविरुद्ध मानिसको शरीरले बनाउने एन्टिबडीमध्ये आईजीएम र आईजीजी पनि पोजिटिभ हुन सक्छ। शरीरमा हिमाटोक्रिटको मात्रा उच्च हुने ल्याब परीक्षण यस रोगको पहिचानमा सफल मानिन्छ।  

यस रोगको उपचार सुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ। शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार सलाइन चढाउनुपर्ने हुन्छ। तर शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनुपर्छ। बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घन्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनुपर्ने भएकाले स्वास्थ्यकर्मीले पनि आधिकारिक उपचार पद्धतिबाट मात्र उपचार गर्नुपर्छ  

सरकारको जिम्मेवारी

कुनै खास क्षेत्रमा फैलिएको यस प्रकारका रोग नियन्त्रणदेखि बिरामीको उपचारमा सरकार सक्रिय हुनुपर्छ। सरकारले यस प्रकारको रोगको रोकथामका लागि आफ्नो टोली खटाउनेदेखि सक्रिय भएर रोग पहिचान, नियन्त्रण तथा रोग उन्मूलनमा जोड दिनुपर्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टोली खटाएर केही हदसम्म आफ्नो जिम्मेवारी निर्वाह गरेको छ तर यही कदम यो रोग नियन्त्रणका लागि पर्याप्त होइन। डेंगु फैलिनुअघि सरकारी निकायले चासो दिएर रोग नियन्त्रणमा अथक् प्रयास गर्नुपर्थ्यो। तर डेंगु रोग लाग्यो सरकार भने यो रोग नियन्त्रणमा फितलो देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.