चिनियाँ विद्यार्थीको विदेश पढ्ने मोह

चिनियाँ विद्यार्थीको विदेश पढ्ने मोह

देशबाहिर गएर उच्च शिक्षा हासिल गर्ने विषयलाई लिएर विभिन्न वर्ग तथा विद्वान्बीच मतभिन्नता रहँदै आएको छ। केही विद्वान् विदेशको अध्ययन स्वदेशको वस्तुगत स्थितिसँग मेल नखाने भएकाले उपलब्धिमूलक नहुने विचार राख्छन् त कोही बाह्य देशमा गरिने अध्ययन र त्यहाँका अनुभव देशको उच्च विकासका लागि अत्यावश्यक तत्व रहेको जिकिर गर्छन्। 

पछिल्लो समय नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने क्रम बढ्दो छ। त्यसैगरी छिमेकी मुलुक चीन यस विषयमा पनि विश्वकै पहिलो पंक्तिमा आउने नाम हो। उच्च शिक्षा हासिलका लागि विदेशमा अध्ययन गर्नुको कारणमा सर्वप्रथमतः आफ्नो वृत्ति विकास नै हो। स्वयं आफूलाई अपेक्षाकृत       श्रेष्ठ शिक्षण पद्धति र वातावरणमा रहेर कुनै विषयमा अब्बल बनाउने र पेसा तथा व्यवसायमा फट्को मार्ने नै हो। भविष्यसम्मलाई आफ्नो जीवन सुनिश्चित बनाउने हो। कुनै पनि देशका विद्यार्थीले विदेशमा अध्ययन गरेबाट बाहिरी संसार चिन्न सक्छन्। विश्वका विभिन्न देश र क्षेत्रका मानिस तथा संस्कृति, रीतिरिवाज र भाषा आदिबारे ज्ञात हुन्छ। आर्थिक विकास, राजनीतिक विचारदेखि प्रविधि, संस्कृति र सभ्यतासम्म बुझ्न सकिन्छ र आर्जेका ज्ञानलाई स्वदेशी भूमिको विकासमा लगाउन सकिन्छ। 

पछिल्लो समय नेपाली विद्यार्थीको हकमा विदेशमा कमाउँदै अध्ययन गर्न सकिने भएकाले देशबाहिर जानेको लर्को लागेको देखिन्छ। आर्थिक वर्ष ७४÷७५ मा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ। यसरी अध्ययनसँगै कमाउँदा आत्मनिर्भर पनि भइन्छ र साथै देशको अव्यावहारिक तथा स्तरहीन शिक्षा र राजनीतिमय शैक्षिक वातावरणबाट पनि मुक्ति मिल्छ। 

हुन त विदेशमा अध्ययन गर्ने सिलसिलामा अर्बौं रकम बिदेसिएको छ। तापनि विदेशमा अध्ययनसँगै कमाउने वातावरण र उच्च शिक्षा प्राप्तिपछि विदेशमै रहेर काम गरी पठाएको रेमिट्यान्सको महŒव आजको समयमा देशले बुझेको छ। त्यसबाहेक उच्च गुणस्तरीय शिक्षापछि स्वदेश फर्केर मातृभूमिको चौतर्फी विकासमा लाग्ने कर्मठ युवाहरू छन् नै। 

चीनका कलेज तथा विश्वविद्यालयका विविध उद्देश्यमध्ये उच्च तथा सफल विदेशी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीलाई अग्रपंक्तिमा उभ्याउनु रहेको छ। 

गुणस्तरीय शिक्षा, रोजगार, सुविधासम्पन्न जीवन तथा वातावरणका साथै विदेशमै बसाइँसराइ गर्ने हेतुले पनि कतिपय विद्यार्थी विकसित देशमा अध्ययनका लागि जाने गर्छन्। त्यसबाहेक साथीभाइबाट प्रभावित भएर र परिवार तथा अभिभावकको दबाबमा पनि जान्छन्। चिनियाँ विद्यार्थीहरू विदेशमा अध्ययन गर्न जानुको कारणमध्ये एउटा यो पनि हो। पछिल्लो समय भने विदेशी भूमिमा लगानी लगाउने ठाउँ खोज्न तथा नयाँ व्यापार र व्यवसाय सिर्जना गर्न चिनियाँहरू बाह्य मुलुकमा अध्ययन गर्न गएको देखिन्छ। चिनियाँ विद्यार्थीहरू स्वदेशमा कलेज प्रवेशका लागि दिनुपर्ने काओखाओबाट उम्किन पनि विदेशमा अध्ययन गर्न जाने गरेको विज्ञहरूको भनाइ छ। यस काओखाओलाई नेपालमा आइरन गेट मानिने एसएलसीसँग तुलना गर्न सकिन्छ। बर्सेनि लाखौं विद्यार्थी काओखाओ परीक्षा दिने गर्छन्। भनिन्छ– यो परीक्षा उत्तीर्ण गर्नु फलामको चिउरा चपाएसरि हुन्छ। यस वर्ष सन् २०१९ मा एक करोड विद्यार्थीहरू काओखाओ दिँदै छन्। चिनियाँ शिक्षा मन्त्रालयका अनुसार, पछिल्लोपटक सन् २००९ मा परीक्षार्थी संख्या एक करोड नाघेको थियो। गत वर्ष ९७ लाखभन्दा बढी विद्यार्थी परीक्षामा बसेका थिए। 

सन् १९५२ बाट सुरु भएको यो काओखाओ सांस्कृतिक क्रान्तिको समयावधि (१९६६÷१९७६) मा स्थगन गरिएको थियो र सन् १९७७ देखि निरन्तर जारी छ। प्राचीन चीनदेखि नै विभिन्न तह तथा पदका लागि आम चिनियाँमाझ यसरी नै परीक्षा लिने चलन प्रचलित थियो। यो काओखाओबाट उम्कनेबाहेक चिनियाँ विद्यार्थीमा बाह्य देशमा अध्ययन गर्नुको मोह विशेषतः अंग्रेजी भाषा र पश्चिमा जीवन शैली पनि हो। 

पछिल्ला वर्षहरूमा चिनियाँ विश्वविद्यालयहरूले विश्वभरका उत्कृष्ट विश्वविद्यालयको सूचीमा आफूलाई उभ्याउन सफल भएका छन्। नेपालको त्रिभुवन विश्वविद्यालयलाई एसियाका तीन सय उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत गर्ने द टाइम्स हाइयर एजुकेसनको पछिल्लो सूचीमा चीनको छिङ्ह्वा विश्वविद्यालय पहिलो स्थानमा रहेको छ र समग्र विश्वमा बाईसौं स्थान ओगटेको छ। चीनभित्रै धेरै उत्कृष्ट विश्वविद्यालयहरू छन्। पेकिङ, युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइना, साङहाई चियाथोङ, फुतान, चच्याङ, नानचिङ, हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, युनिभर्सिटी अफ हङकङ। यी केही ख्यातिप्राप्त विश्वविद्यालयहरू हुन्। देशभित्रै एक सय एक विश्वविद्यालय भए तापनि चिनियाँ विद्यार्थीको विदेशमा अध्ययन गर्ने मोह घटेको छैन। 

चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रम हरेक वर्ष वृद्धि हुँदै गएको छ। सन् २०१८ मा विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीको संख्या ६,६२,१०० पुगेको छ। यो संख्या अघिल्लो वर्षभन्दा ५३,७०० ले बढी हो। चिनियाँ शिक्षा मन्त्रालयका अनुसार, ५,९६,३०० विद्यार्थी आफ्नै खर्चमा विदेशमा अध्ययन गर्दै छन्। त्यसैगरी सन् २०१८ मा ५,१९,४०० विद्यार्थी अध्ययन गरी फिर्ता भएका छन्। साथै एक तथ्यांकअनुसार, सन् १९७८ देखि २०१८ सम्म ५१ लाखभन्दा बढी चिनियाँ विद्यार्थीले विदेशमा अध्ययन गरिसकेका छन्। त्यसमध्ये १५ लाखभन्दा बढी विद्यार्थी अध्ययन तथा अनुसन्धानका क्रममा विदेशमै छन् र करिब ३७ लाख विद्यार्थी भने अध्ययनपश्चात् रोजगारका लागि चीन फर्केका छन्। मेरो अध्ययन सकेपछि म मेरो मातृभूमिको निर्माणका लागि फर्कने छु, यसै भनाइमा चिनियाँ अडिग छन्। 

सन् १९७८ पछि विदेशी भूमिमा गई अध्ययन गर्ने चिनियाँ संख्यामा वृद्धि भएको हो। चिनियाँ नेता देङ स्याओ पिङले खुला तथा सुधार नीतिसँगै युवाहरूलाई विदेशमा गई अध्ययन गर्ने कार्यक्रमलाई अझै प्रोत्साहित गरेका थिए। चीनमा सन् १९८१ को अन्त्यमा विदेशी भाषाका रूपमा अंग्रेजीको परीक्षा (टोफल) दिनुपर्ने नियम लागू गरिएको थियो। त्यसबेला २८५ जनाले टोफल दिएका थिए भने सन् १९८५ मा ८ हजार पुगेको यो संख्या सन् १९९० मा ४० हजार पुगेको थियो। त्यस समय अंग्रेजी भाषा पढ्नका लागि पनि धेरै चिनियाँ बिदेसिएका थिए। अमेरिकापछि चिनियाँहरूको रोजाइमा जापान, फ्रान्स, पूर्व सोभियत संघ, बेलायत थियो। 

चिनियाँ इतिहास केलाउँदा छिङ वंशकाल (१६४४÷१९११) मा पहिलोपटक चिनियाँ नागरिकले अध्ययनका लागि विदेशी भूमिमा टेकेको देखिन्छ। सन् १८५४ मा युङ विङ नामका चिनियाँ विद्यार्थी संयुक्त राज्य अमेरिकाको येल युनिभर्सिटीबाट उत्तीर्ण भएका थिए। उनले पछि माई लाइफ इन चाइना एण्ड अमेरिका नामक आत्मसंस्मरणसमेत प्रकाशन गरेका थिए। सन् १८७२ मा चिनियाँ सरकारले विदेशमा अध्ययन गर्न पठाएका विद्यार्थीमध्येबाट चान थ्येनयौले अध्ययनपश्चात् पहिलो चिनियाँ रेलमार्ग डिजाइनका साथै निर्माण गरेका थिए, जसलाई चिनियाँ रेल तथा आधुनिक इन्जिनियरिङका पिता मानिन्छ। त्यसैगरी चिनियाँ नेता देङ स्याओ पिङ, चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले सन् १९१९÷१९२० मा फ्रान्समा अध्ययन गरेका थिए। सन् १९५० को दशकमा पूर्वसोभियत संघमा अध्ययन गर्न गएकाहरू भने पछि गएर चीनको मेरुदण्ड नै बने। त्यस समूहमा पूर्वराष्ट्रपति जी याङ जमिनलगायतका तेस्रो पुस्ताका नेताहरू थिए। 

हाल अमेरिका, जापान, क्यानाडा, बेलायत, जर्मनी, फ्रान्स, रसिया, अस्ट्रेलियासहित सयभन्दा धेरै देशमा चिनियाँ विद्यार्थीहरू अध्ययन गर्दै आएका छन्। साथै नेपालमा पनि नेपाली भाषा तथा संस्कृति अध्ययन गर्न चिनियाँहरू जाने गरेका छन्। पछिल्लो समय विदेशमा अध्ययन सकाएर चीनको विज्ञान तथा प्रविधि क्षेत्रलाई विश्व बजारमा डो¥याउने हातहरू धेरै छन्। हुन त छिङह्वा युनिभर्सिटीको स्थापना नै अमेरिकी युनिभर्सिटीका लागि सक्षम युवा उत्पादन गर्ने उद्देश्यले भएको भनिन्छ। हाल पनि विभिन्न कलेज तथा विश्वविद्यालयका विविध उद्देश्यमध्ये विदेशी उच्च तथा सफल विश्वविद्यालयमा चिनियाँ विद्यार्थीलाई अग्रपंक्तिमा उभ्याउनु रहेको छ। 

विश्वकै सबैभन्दा धेरै वैज्ञानिक अनुसन्धानका शोधपत्र प्रकाशित गर्दै आएको चीन र अमेरिकाबीच हाल जारी व्यापार युद्धले पनि चिनियाँ विद्यार्थीलाई अमेरिकामा पठनपाठन गर्न असहज वातावरण सिर्जना गरेको छ। त्यसमाथि जासुसी तथा प्रविधि चोरको आरोप पनि लगाउँदै आएको छ। यसबाहेक स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयमा प्रवेश अनुमतिपत्र (भिसा) दिन कडाइ गरेको छ। 

त्यसैगरी नेपाली इतिहास केलाउँदा नेपाली विद्यार्थीहरूले भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको पाइन्छ। विशेषतः बनारस गई पढ्ने एउटा परम्परा नै थियो। पछिल्लो समय दौत्य सम्बन्ध कायम भएका मुलुकका साथै विकसित मुलुकमा गई अध्ययन गर्ने परम्परा बनेको देखिन्छ। हाल वार्षिक रूपमा नेपालबाट अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या पनि बढ्दै छ। शिक्षा मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा मात्रै नेपालबाट अध्ययनकै सिलसिलामा ५८,७५८ जना विदेश गएका छन्। भारतका लागि अधिकांश कलेजहरूमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) आवश्यक नपर्ने हुनाले यो संख्या अझै धेरै हुन सक्छ। हाल चीनमा मात्र चार हजारको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत् छन् भन्ने अनुमान छ। शिक्षा मन्त्रालयका अनुसार, आव ७३÷७४ मा जम्मा ५०,६०० विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए। २०६७÷६८ मा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या जम्मा ११,९८२ थियो। 

यसरी विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गरी देश सेवामा लागेको खण्डमा देशको चौतर्फी विकास अवश्यम्भावी छ। यसबाट हुने फाइदा, बेफाइदा तथा सकारात्मक र नकारात्मक पक्षबारे बहस हुनुपर्छ र गरिनु आवश्यक छ। 

(अजय चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइचिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.