सरल जीवन र उच्च विचार
सबै क्षेत्रको खर्चमा थोरबहुत कटौती गरी शिक्षा क्षेत्रमा व्यापक विस्तार गर्ने हो भने आम जनतामा चेतना आई मुलुकको विकास हुनसक्छ।
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युले एउटा सिद्धान्त प्रतिपादन गरेका थिए– उनको शासनकालमा प्रत्यक्ष परिवारलाई आर्थिक रूपमा सक्षम बनाउने। नेपालमा प्रजातन्त्र आएको २००७ देखि २०७६ सालसम्म ६९ वर्ष लागेको छ। न त्यस्ता शासक आए न त शासन व्यवस्था त्यस्तो हुन सकेको छ। न त जनताले निःशुल्क स्वास्थ्य सेवा, तिनका सन्तानले सहुलियत दरमा शिक्षा र दैनिक उपभोग्य सामग्री सस्तो, शुद्ध र सुलभ रूपमा प्राप्त गर्न सकेका छन्। यस आधारमा आम जनताको पाकेटमा केही बचत हुन सकोस् भन्ने चिन्तन कोही कसैमा देखिँदैन।
नेपालमा जिमदारी प्रथा थियो। जिमदार तराईमा र पहाडमा जिम्वाल स्थानीय क्षेत्रका राजा नै हुन्थे। तिनले सानातिना मुद्दा फैसला गर्दथे। यिनले आम जनताको मन परेका जग्गा हडपेको र तमसुक बनाई पचाएका कारण शोषक सामन्ती नै भनिन्थ्यो। २०२१ सालको भूमिसम्बन्धी ऐनले जिमदारी बेठबेठी प्रथा समाप्त गरेको हो। अहिले आधुनिक युगमा व्यवहारमा पुरानो जिमदार र जिमदारीको शासन कायमै देखिन्छ। त्यसैको अवशेषले नयाँ रूपमा काम गरेको देखिएको छ। मात्र नामसम्म फेरिएका छन्। त्यस्तै आम जनता जसको पहुँच छैन, गरिब छन् ती रैती हुन्।
अहिलेको जिमदारी भनेको शिक्षा र स्वास्थ्य क्षेत्र हो। अनि दैनिक उपभोग्य सामग्रीको व्यापार गर्ने अर्को जिमदारी हो। जजसले यस्ता कुरामा लगानी गरेका छन् वा कब्जामा लिएका छन् ती जिमदार हुन्। साँच्चै भन्ने हो भने यी अघोषित रूपमा पुरातनकालका रूपान्तरित जिमदार नै हुन्। आम जनता अर्थात् रैती मरीमरी पसिना बगाएर खट्छन् र सेवा दस्तुर अनि घर व्यवहारका नाममा दस्तुर बुझाउँछन्। दस्तुर बुझाउँदा–बुझाउँदै रैतीका खल्ती रितिन्छ र आधुनिक यी जिमदारको धनसार भरिन्छ। नेपालमा भएका साहु, महाजन, ठेकदार साना–ठूला व्यापारी र नेताहरूमा ली क्वान युको आत्माले कहिल्यै पनि वास गरेन। यहाँ राति एउटा भाउ, दिउँसो अर्को भाउ र जिमदारको इच्छामा वस्तु बिक्रीको भाउमा तल वा माथि हुने गर्छ। यी आधुनिक जिमदारको लक्ष्य नै त्यही हो– आम जनतालाई रित्याउनु र आफू परिपूर्ण हुनु।
आम जनताले भन्न थालेका छन्– हाम्रा शासक व्यापारीजस्ता देखिएका छन् र प्रशासक ठेकेदारजस्ता। तिनलाई असल शासनको बारेमा ज्ञान छ वा छैन सम्भवतः भए पनि त्यसको उपभोग गर्न चाहँदैनन्। यही बेथिति र शोषणले आम नेपालीले सन्तान पढाउन, लेखाउन र थातवास बिक्री गर्नुपरेको हुन्छ। औषधि गर्दा खाने–लाउने धन रित्याउनुपरेको छ। खान–लाउन त्यत्तिकै महँगो छ। परिवारको ज्यान धान्न कलिलो उमेरमा छोराछोरी मुलुक छाड्न विवश छन्। बढ्दो भ्रष्टाचार, अनियमितता, शोषणबाट मुलुक आक्रान्त छ। जसको आडमा मुलुक आक्रान्त भएको छ, फेरि तिनैले बेथितिको निरीक्षण, नियन्त्रण र सर्वेक्षण किन गर्छन् ? त्यसैले वस्तु बिक्रीमा व्यापारी भाव निर्धारण गर्न स्वतन्त्र छन्। तिनलाई भएसम्म असुल गर्नु छ। आम जनतालाई रित्याएर आफू र आफ्नालाई भर्नुपरेको छ। पसलैपिच्छे एउटै वस्तुका भाउ फरक पाइन्छ। तापनि व्यापारीलाई लाज हुँदैन।
यसबारेमा उनीहरूसँग कुनै तर्क पनि छैन। नेपालमा घरेलु व्यवहार कसरी चलाउने र आयव्ययको सन्तुलन कसरी समन्वय गर्ने भन्ने जानकारी कसैलाई हुँदैन। त्यसको कारण हो– यसबारेमा कहींकतै शिक्षा दिइँदैन। महिनाको दसु हजार कमाउनेले करोडपतिले लगाउने सुट र जुत्ता किनेर एक बारको जीवनमा लगाइदिन्छ। महिलालाई यसबारेमा थोरबहुत ज्ञान हुने कारण हो– उनीहरू परिवारमा आमा, बज्यैसँग धेरै समयसम्म बसेका हुन्छन्। हाम्रो समाज पनि त्यस्तै छ। पुरुषले पत्नीलाई घर व्यवहारमा सघाउने, घरमा कुच्चो लगायो र भान्साको रेखदेख गरेमा जोइटिंग्रे भनेर नामाकरण गरिदिन्छन्। तर फेरि त्यही पुरुषले वैदेशिक रोजगारमा जाँदा घर पुछ्ने काम गर्न हुन्छ र उसैले होटेलको कुक भएर खाना तयार गर्न पनि सक्छ। यद्यपि घरभित्र पतिपत्नी, छोराछोरी र सन्तान सबै मिलेर परिवारका सदस्यले घरको काम स्वयं गर्नु राम्रो हो।
मध्यमवर्गीय र निम्न मध्यमवर्गीय परिवारनिम्ति स्वयं खाना बनाउनु फाटो र मितव्ययिताका आधारमा मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुन्छ। तर नेपालमा व्यवहारमा के देखिन्छ भने आय बढी बढेपछि कमाउने ठाउँमा पुगेर हबल्दारका परिवारले पनि नोकरचाकर राखी गृहस्थी चलाउने प्रचलन छ। घरको काम गर्दा सानो भइँदैन, यसले स्वास्थ्य राम्रो बनाउँछ। विदेशमा प्रायः पश्चिमी मुलुकमा आम मानिसले घरधन्दाबारेमा सहयोगीको कल्पना पनि गर्न सक्दैन। हाम्रै पुरुष वर्ग विदेशमा गई कुचोसमेत लगाउने गर्छन्।
ठूलावडाले भ्रष्टाचार गरी भारी खर्च गर्दा सानातिना आय र धन भएका उपर नकारात्मक प्रभाव परेको छ। तसर्थ स्वावलम्बी, स्वदेशी र आत्मनिर्भर हुने प्रयास गरौं।
नेपालसँगै स्वतन्त्र भएका मुलुकले आर्थिक रूपमा उच्च विकास गरेको देखिन्छ। यो ६९ वर्षभित्रमा हामीले खासै विकास गर्न सकेका छैनौं। बरु वन मास्ने काम व्यापक भएको छ। कृषि ध्वस्त छ। आधुनिक कृषि व्यवसायको अभावले मानिस त्यो पेसा छाडी मजदुर बन्न अन्तर्राष्ट्रिय बजारमा जान थालेका छन्। हामी अन्न बालीमा समेत आयातमा निर्भर हुन थालेका छौं। फलफूल सबै विदेशबाट आउँछ। हाम्रा मुलुकवासी पाकिस्तानको बासमती चामल, थाइल्यान्डको फलफूल रुचाउने हुँदा बजारमा पनि त्यही छ्याप्छ्याप्ती पाइन्छ। हाम्रा नेताका भाषणमा आयातीत कुराको जिकिर सुन्न पाइन्छ। निर्यातका कुरा सुनिँदैन। मुलुकको विकासनिम्ति वैदेशिक ऋण र सहायताका कुरा मात्र उठ्ने गरेका छन्। वैदेशिक रोजगार पनि विस्तारै समाप्त हुने क्रममा छ। आम नेपाली चेतनशील हुन जरुरी छ, अन्यथा हामी कुनै समयको इथियोपियावासी बन्ने छौं। नेपालमा ६९ वर्षसम्म आम गरिबीको रेखामुनि पुगेका जनताको हैसियत जब उठ्न नसकी सदाकाल एउटै अवस्थामा रहन्छ भने त्यस्ता व्यवस्था र सञ्चालकबाट अबका दिनमा उन्नति हुन्छ भनी कसरी विश्वास गर्ने ? तसर्थ प्रत्येक नेपालीले आफ्ना वा वरपरका छरछिमेकीको विकासनिम्ति प्रयास गर्न र सोच्न आवश्यक छ। प्रथमतः हामीले सामूहिक रूपमा संगठित भई कसरी हुन्छ कृषिउपज वृद्धि गर्ने र आफ्नै मुलुकमा पैदा भएका वस्तुको प्रयोग गर्न आवश्यक छ।
हाम्रा पितापुर्खाले जे खाए हाम्रो रगतमा त्यही छ र तिनै कुरा हाम्रा निमित्त पाच्य छन्। यही अभियान चलाएमा हाम्रा पैसा बिदेसिने छैनन्। धनाढ्य परिवारले खर्च गर्नु स्वाभाविक छ। कारण तिनले गरेको खर्च बजारमा विस्तार हुन सक्नेछ। तर आम गरिब, निम्न मध्यवर्ग र मध्यम वर्गको हकमा घरेलु खर्चमा नियन्त्रण गर्ने र बालबच्चाको पढाइमा अधिक खर्च ल्याउन जरुरी देखिन्छ। परिवारका हर सदस्यको सहयोगमा गृहस्थी सञ्चालन गर्ने आमा, बुहारी र पत्नीलाई मात्र घरको दायित्व बोकाई अधिक कामको भार पर्न गई अस्वस्थ हुने सम्भावना रहन्छ।
जब हामी भान्सा आफ्ना हातले चलाउँछौं घरको खर्चमा मितव्ययिता त्यत्तिकै हुन्छ। सानो माटोको भाग खाली नराख्ने, केही न केही लहरा र सागपात गमलामा रोप्दा पनि तरकारीको सानोतिनो गर्जो टर्छ। विनाविष र मलको सागपात उपभोग गर्दा स्वास्थ्य पनि राम्रो हुनेछ। प्रयोग गरिने भोजन गरिष्ठ र तैलीय प्रयोग नगरी खाँदा राम्रो हुन्छ। खानेपानीलाई पनि प्रशोधित गरी उपभोग गरेमा वा घर र शरीर सफासुग्घर बनाएमा अस्पताल धाउनु पर्दैन। मानिसलाई रोग लाग्ने कारण हो– सन्तुलित भोजनको अभाव।
अहिले अस्पताल धाउनु भनेको कंगाल बन्नु हो। सरकारी लगानीका अस्पतालमा सिटामोल पाइन छाडेका छन्। निजी अस्पतालका सञ्चालक भन्ने गर्छन्– हामीले जोगी हुन अस्पताल खोलेको होइन। अहिलेका अस्पताल व्यापारका केन्द्र हुन्। तसर्थ रोगी बन्नुभन्दा रोग नियन्त्रण गर्नु उपयुक्त हुन्छ। त्यसका लागि शुद्ध जलको उपभोग, शुद्ध र सन्तुलित भोजन, व्यायाम, सफासुग्घर हुन र चिन्तारहित जीवनयापन गर्न उपयुक्त हुन्छ।
हाम्रो धेरै खर्च हुने क्षेत्र भनेको सन्तानको शिक्षा हो। हामीमा के प्रभाव परेको छ भने जति महँगो विद्यालय त्यो पनि निजी क्षेत्रमा पढायो भने केटाकेटीको भविष्य सुदृढ हुन सक्छ।
धेरैजसो निजी क्षेत्रका विद्यालयमा बाहिरी क्रियाकलापको नाममा विभिन्न खेलकुद र अन्य विषयमा ध्यान दिन लगाइन्छ। विद्यालयलाई आकर्षक देखाउन विशेष कार्यक्रम राखी पैसा तान्ने काम गरेको पाइन्छ। यथार्थमा खास पढाइ हुँदैन। खेलकुद व्यायाम, पौडी, वक्तृत्वकला, विदेश शैक्षिक भ्रमणका नाममा अभिभावकसँग पैसा तान्ने काम गरेको देखिन्छ। योभन्दा राम्रो सामान्य विद्यालयका वा मध्यम खालको शिक्षा दिने र घरमा आमाबुवाले समय निकाली पढाउनु राम्रो हुन्छ। प्रत्येक नेपाली अभिभावक आफ्ना सन्तानलाई इन्जिनियर र डाक्टर पढाउन चाहन्छन्। यसको दबाबमा परेर कयौं बच्चाले आत्महत्या पनि गरेको सुनिन्छ। शिक्षा दिनु भनेको ज्ञानी र चेतनशील बनाउनु पनि हो। डाक्टर र इन्जिनियरले नकमाउन पनि सक्छन्। एउटा एसएलसी गरेको व्यापारीले भारी आर्जन गर्न पनि सक्छ। बुद्धि भएकाले जुन क्षेत्रमा पनि गर्न सक्छन्। तसर्थ सन्तानको रुचि, इच्छा र हैसियत क्षमता हेरी पढाउनु उपयुक्त हुन्छ।
नेपालमा सबभन्दा बढी खर्च हुने भनेको विशेषतः महिलाको हकमा बढ्दो फेसनको क्षेत्र हो। आजभोलि बहुराष्ट्रिय कम्पनीहरूले प्रत्येक महिनामा फरक–फरक डिजाइनका लुगा बजारमा ल्याइदिन्छ। त्यस्तै महँगा शृंगारका साधन बजारमा छन्। सबैलाई राम्री सुन्दरी हुने इच्छा हुन्छ। यो इच्छा कम्पनीले जारी गर्ने विज्ञापनहरूले जगाइदिन्छन्। कोभन्दा को कम, अहिले कुन हैसियतको मानिस कोहो चिनिँदैन। सबै करोडपतिजस्ता देखिन्छन्। यसबाट हामी गरिब हुँदै जान्छौं। बहुराष्ट्रिय कम्पनी धनी हुँदै जान्छन्।
हामीले जति खरिद गर्यो उनीहरूको आम्दानी त्यति नै बढ्छ। हैसियतविना किन खर्च गर्ने ? अरूले टीकाटिप्पणी गर्छ भनेर खर्च गर्ने ? त्यो अनावश्यक खर्च बरु आफ्नो शिक्षामा गर्ने वा सन्तानको शिक्षामा लगाउनु उत्तम हुन्छ। आफूसँग जे छ त्यही लगाउने देखासिखिलाई आधार मान्नु हुँदैन। आफ्नो हैसियत जे छ सोहीअनुसार व्यवहार गर्नु राम्रो हो। वास्तवमा हामीले एउटा अभियान नै चलाउनु आवश्यक छ। हामी गरिब छौं, स्वयं हाम्रो मुलुक गरिब छ, ठूलो खर्च धान्न सक्ने अवस्था छैन भने खाने, शिक्षा र औषधी सबलाई कटौती गरी लुगामा पैसा हाल्नु उपयुक्त होइन।
महात्मा गान्धीले एउटा धोती बेरेर हिँड्दा, भियतनामका नेता होचिमिन्हले टायरको चप्पल लगाउँदा उनीहरू महान् ठानिए। यिनमा धेरै वर्षसम्म महिलाले एउटै किसिमको पेन्ट, सर्ट र कोट लगाए। एकैखाले पोसाक थियो। सक्षम भएपछि परिवर्तन भेषभूषामा देखिएको छ। तसर्थ यस मक्सदमा पनि हामी मितव्ययी बन्न सक्ने छौं। नेपालमा सुधारका निम्ति शिक्षाको आवश्यकता छ। सबै क्षेत्रको खर्चमा थोरबहुत कटौती गरी शिक्षा क्षेत्रमा व्यापक विस्तार गर्ने हो भने आम जनतामा चेतना आई मुलुकको विकास हुनसक्छ। तसर्थ हामीले जीवनलाई सरल पद्धतिमा बिताउनु उपयुक्त हो।
अहिले जुन किसिमको संस्कार हाबी भएको छ त्यसको कारण भ्रष्टाचार र अपचलन पनि हो। ठूलावडाले भ्रष्टाचार गरी भारी खर्च गर्दा सानातिना आय र धन भएका उपर नकारात्मक प्रभाव परेको छ। तसर्थ अपराध र आपराधिक क्रियाकलापबाट सान देखाउनेसँग आफूलाई नदाँजौं। स्वावलम्बी, स्वदेशी र आत्मनिर्भर हुने प्रयास गरौं। यसैमा मुलुक र मुलुकवासीको हित हुन्छ।