स्वास्थ्यमा फड्को मार्दै टीकापुर
टीकापुर : टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवाको विकास र विस्तारमा फड्को मारेको छ। नगरपालिकाले ९ वटै वडामा स्वास्थ्य सेवा पुर्याउनुका साथै सेवाको गुणस्तरीयतामासमेत उल्लेख्य काम गरेको हो।
नगरपालिकाले वडा नम्बर ६ को बेलुवा नारायणपुर र वडा नम्बर ८ को धनसिंहपुरमा स्वास्थ्य चौकी सञ्चालन गरेको छ। दुबै स्वास्थ्य चौकीमा २४ सै घण्टा सुत्केरी सेवा सञ्चालन भइरहेको छ। जहाँ एचए र सिनियर अहेवको नेतृत्वमा ७/७ जना स्वास्थ्यकर्मीको टिम खटाइएको छ। त्यस्तै नगरपालिकाले वडा नम्बर २ को विजयनगर, वडा नम्बर ३ को रामपुर, वडा नम्बर ४ को अस्नेहरी, वडा नम्बर ५ को मनिकापुर, वडा नम्बर ७ सत्ती र वडा नम्बर ९ को झुँगामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य केन्द्रमा अहेवको नेतृत्वमा एक अनमी र एक कार्यालय सहयोगीले सेवा दिँदै आएका छन्। ती सबै शहरी स्वास्थ्य केन्द्रमा गर्भवती र सुत्केरी जाँच हुने गरेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए। रावलले स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमार्फत अन्य बिरामीको समेत नियमित स्वास्थ्य जाँच र औषधी उपचार हुने गरेको बताए।
नगरपालिकाले चालु आर्थिक वर्षमा नौ जना स्वास्थ्यकर्मी भर्ना गरी स्वास्थ्य संस्थामा खटाएको छ। त्यसैगरी नगरपालिकाले गर्भवतीलाई अस्पतालसम्म पुर्याउन ‘होम टु हस्पिटल’ कार्यक्रममार्फत् निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ। नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले सञ्चालन गर्ने गरी नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको हो। नगरपालिकाले एम्बुलेन्स खरिदका लागि ८ लाख सहयोग गरेको थियो।
एम्बुलेन्स सेवा माघ महिनाबाट सञ्चालनमा आएको रेडक्रस टीकापुरका सभापति जगदीश्वर पण्डितले बताए। उनले गर्भवतीलाई व्यथा लागेपछि एम्बुलेन्सले अस्पतालसम्म निःशुल्क ल्याउने र बच्चा जन्मेपछि घरसम्म पुर्याउँदै आएको बताए। ‘गर्भवतीलाई अस्पताल पुर्याएवाफत पैसा तिर्नु पर्दैन’ उनले भने, ‘सबै खर्च नगरपालिकाले उपलब्ध गराउँदै आएको छ।’ टीकापुर अस्पतालमा बालरोग विशेषज्ञ सेवा समेत सुरु गरिएको छ। मासिक २ लाख भन्दा बढी तलब भत्ता दिने गरी अस्पतालमा बालरोग विशेषज्ञको व्यवस्था गरिएको हो। स्त्रीरोग विशेषज्ञ सेवा सुचारुको तयारी भइरहेको छ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलले नगरबासीले विगत लामो समयदेखि भोग्दै आएको स्वास्थ्य उपचारको समस्या समाधान गर्नका लागि कामहरु भइरहेको बताए। बालबालिकालाई लक्षित गरेर एनआईसीयु सेवा शुरु गर्न पहल भइरहेको उनले जानकारी दिए।