कलेजो प्रत्यारोपणमा विदेशीकै सुपरीवेक्षण
काठमाडौं : विदेशी चिकित्सकको सुपरीवेक्षणमा नेपाली सर्जनले केही कलेजो प्रत्यारोपणलाई निरन्तरता दिने भएका छन्। दुई सरकारी अस्पतालमा ५ जना नेपालीमा कलेजो प्रत्यारोपण गरिए पनि विदेसी सर्जनको सुपरीवेक्षण अझै केही समय आवश्यक देखिएको छ।
मानव अंग प्रत्यारोपण नियमावली, ०७३ बनेपछि कलेजो प्रत्यारोपण गर्न नेपाली सर्जन अघि बढेका थिए। सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले ४ जनामा प्रत्यारोपण गरिसकेको छ। त्रिवि शिक्षण (टिचिङ )अस्पतालमा पनि २ साताअघि एक व्यक्तिमा प्रत्यारोपण भइसकेको छ। तर कलेजो प्रत्यारोपण जटिल र संवेदनशील भएकाले विदेसका अनुभवी सर्जनहरूको भर पर्नुपर्ने नेपाली सर्जनले बताए। केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘मिर्गौलाभन्दा कलेजो प्रत्यारोपण जटिल हुन्छ। अझै केही समय विदेशी सर्जन राखेर प्रत्यारोपण गर्नु पर्छ। अनुभवी दक्ष टोलीको सहयोगमा सावधानीपूर्वक प्रत्यारोपण गर्दा त्रुटी हुन पाउँदैन।’
बेलायतबाट तालिम लिएर फर्किएका डा. श्रेष्ठको अगुवाइमा ४ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ। पहिलो पटक भक्तपुरका बलराम नागामा प्रत्यारोपण गरिएको थियो। ३६ वर्षिय नागालाई उनकै दिदीले कलेजो दान गरेकी थिइन्। उनलाई ०७३ मंसिर २२ गते प्रत्यारोपण गरिएको थियो। नेपाली चिकित्सकको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले गरे पनि कोरियाबाट अनुभवी सर्जनहरू बोलाइएको थियो। त्यसपछिका दुई प्रत्यारोपणमा भारतका अनुभवी सर्जनहरू आएका थिए। डा. श्रेष्ठको नेतृत्वमा नै मस्तिष्क मृत्यु भइसकेका व्यक्तिको कलेजो प्रत्यारोपण पनि गरिएको थियो।
अंग प्रत्यारोपण समन्वय समितिकी अध्यक्ष डा. दिव्या सिंह शाहले सुरुको चरणमा विदेसी सर्जनको भर पर्नुपर्ने बाध्यता रहेको बताइन्। ‘मिर्गौला प्रत्यारोपणको सुरुका चरणमा पनि विदेसी सर्जनको सहयोग थियो। कलेजो प्रत्यारोपण झन् जटिल भएकाले अनुभवी सर्जनको आवश्यकता परेको हो’, उनले भनिन्।
शिक्षण अस्पतालमा डा. रमेशसिंह भण्डारीको नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्दा पनि भारतबाट चिकित्सक बोलाइएको थियो। अस्ट्रेलियाबाट प्रत्यारोपण तालिम लिएका डा. भण्डारी केही वर्ष विदेसी अनुभवी सर्जनको सुपरीवेक्षण हुनुपर्ने बताउँछन्।
कलेजो प्रत्यारोपण सुरु भएको अढाइ वर्ष भए पनि सर्जनहरूमा आत्मविश्वास नआउन्जेल विदेसी चाहिने डा. शाहले बताइन्। भारतको सर गंगाराम अस्पतालमा समेत सुरुवातमा कलेजो प्रत्यारोपण फेल भएको थियो। तुलनात्मक रूपमा मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेज बिरामीमा प्रत्यारोपण गर्न सहज हुन्छ। स्वस्थ व्यक्तिको आधा कलेजो काटेर प्रत्यारोपण गर्दा दाता र लिने दुवै व्यक्तिको स्वास्थ्य जोखिममा रहन्छ। शल्यक्रियापछि रक्तस्राव हुने र संक्रमणको जोखिम हुने एक सर्जनले बताए। उनले भने, ‘हचुवा तालले शल्यक्रिया गर्दा क्षति बेहोर्नु पर्ने हुन्छ।’
सरकारले कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपणको अनुमति पाएका छन्। कम्तीमा १२ जना जतिमा प्रत्यारोपण गरेपछि विदेसी सर्जनको सहयोग नचाहिने नेपाली चिकित्सक बताउँछन्। बर्सेनी करिब एक हजार नेपालीको कलेजो फेल हुने अनुमान छ।