क्यान्सरले थलिए, तरकारी खेतीले तंग्रिए
कालिकोट : खाँडाचक्र नगरपालिकाको गारुवा निवासी भीमबहादुर कार्की क्यान्सरले थलिए। १३ बर्षको कलिलो उमेरमा नै अभिभावक विहीन बनेका कार्की पढ्दै गर्दा क्यान्सरबाट थला परे।
क्यान्सरको उपचार गराउँदा आर्थिक अवस्था कमजोर भएका उनी अहिले व्यावसायिक तरकारी खेतीबाट माथि उठेका छन्। तीन वर्षसम्म भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि निको भए। निको भएर घरमा फर्किदा भएको खेतबारी बिक्रि भइसकेको थियो भने झण्डै १२ लाख रुपैयाँ ऋण लागेको थियो। क्यान्सरको पीडा ऋण कसरी तिर्ने भन्ने पिरलो। त्यही क्रममा उनले नगरपालिकाले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान पाइने थाहा पाए। बचेको दुइ रोपनी जग्गामा तरकारी खेती सुरु गरे।
दुइ वर्ष अगाडी दुई रोपनी बारीमा तरकारी खेतीको सुरुवात गरेका कार्कीलाई हिजोआज तरकारी गोडमेल गर्न र बजारमा बिक्री गर्न भ्याईनभ्याइ छ। उनी हरेकदिन आफ्नो बारीको तरकारी बोकेर कर्णाली राजमार्गसम्म ल्याउने र बेचेर साँझ घर जाने गर्छन्। कार्कीले अहिले १० रोपनीमा व्यावसायिक तरकारी खेती गरिरहेका छन्। ‘एक बोरा मकै उत्पादन हुने बारीमा तरकारी खेतीले२० बोरा मकै किन्ने पैसा कमाए,’ कार्कीले भने, ‘त्यसपछि अन्नबाली लाउनु भन्दा तरकारी खेती गर्न मन लाग्यो, अहिले दैनिक पाँच हजार सम्मका काँक्रामात्र बिक्रि गर्दै आएको छु।’
उनले तरकारी खेतीबाटै बार्षिक १० लाख रुपैयाँ कमाउने गरेको सुनाए। क्यान्सरको घाउमा तरकारी खेतीले मलम लगाएको उनको भनाइ छ। तरकारी खेतीले उनको आर्थिक स्तरमात्र बढेन जिल्लाकै अगुवा कृषकका रुपमा पहिचान बनायो।