विश्वकप क्रिकेट : इङ्ल्याण्ड र वेस्ट इन्डिजको खेल सुरु, गेललाई आर्चरको चुनौती

विश्वकप क्रिकेट : इङ्ल्याण्ड र वेस्ट इन्डिजको खेल सुरु, गेललाई आर्चरको चुनौती

साउथह्याम्पटन : जारी विश्वकपको शुक्रबार हुने खेलमा आयोजक इङ्ल्यान्डले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजको सामना गर्दैछ।  खेल साउथह्याम्पटनस्थित रोज बल रंगशालामा सुरु भएको छ। वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन। 

जारी विश्वकपमा इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवैको यो चौथो खेल हो। यसअघि खेलिएका तीन खेलबाट चार अंक जोड्दै इङ्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। वेस्ट इन्डिज भने तीन खेलबाट तीन अंक हात पार्दै छैटौं स्थानमा छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो।

यसैगरी आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको वेस्ट इन्डिज दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो। वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। जारी विश्वकपमा वेस्ट इन्डिजको तुलनामा इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट देखिएको छ। वेस्ट इन्डिजको ब्याटिङमा माथिल्लो क्रम बलियो देखिन्छ।

इङ्ल्यान्डले यसअघि खेलेका तीनवटै खेलमा तीन सयभन्दा बढी रन बनाएको छ। दक्षिण अफ्रिकाविरुद्धतीन सय ११ रन बनाएको इङ्ल्यान्डले पाकिस्तानविरुद्धपनि तीन सय ३४ रन जोडेको थियो। बंगलादेशविरुद्घको खेलमा इङ्ल्यान्डले तीन सय ८६ रन बनाएको थियो। वेस्ट इन्डिजले भने पाकिस्तानले दिएको एक सय ६ रनको लक्ष्य १३.४ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो। अस्ट्रेलियाविरुद्धदुई सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर दुई सय ७३ रनमात्र बनाउन सकेको थियो।

लगातार पछिल्लो सात एकदिवसीय खेलमा तीन सयभन्दा बढी रन बनाउने इङ्ल्यान्ड पहिलो टोली पनि हो। यी दुई टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एक सय एक खेल भएको छ। तीमध्ये ५१ खेलमा इङ्ल्यान्ड र ४४ खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। ६ खेल भने अनिर्णित रूपमा सकिएको छ। यी दुई टोली एकदिवसीय क्रिकेटमा सन् १९७३ देखि आपसमा भिड्दै आएका छन्।

पछिल्लो पटक सन् २०१९ को मार्चमा यी दुई टोलीबीच एकदिवसीय खेल भएको थियो। सेन्ट लुसियामा खेलिएको उक्त खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो। टेस्ट क्रिकेटमा त यी दुई टोलीको भिडन्त झनै पुरानो छ। सन् १९२८ देखि यी दुई टोलीबीच टेस्ट शृंखला हुँदै आएको छ। यस आधारमा इङ्ल्यान्ड र वेस्ट इन्डिज लामो समयदेखिका परिचित प्रतिद्वन्द्वी हुन्।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच ६ पटक भेट भएको छ। पाँच खेलमा इङ्ल्यान्ड र एक खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिज ९२ रनले विजयी भएको थियो। इङ्ल्यान्ड सन् १९८७ को विश्वकपको पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ३४ रनले विजयी भएको थियो। यसैगरी इङ्ल्यान्ड सन् १९९२ मा ६ विकेट, सन् २००७ मा एक विकेट र सन् २०११ मा १८ रनले विजयी भएको थियो।

पारिवारिक कारणले बंगलादेशविरुद्घको खेलमा अनुपस्थित रहेका अनुभवी अलराउन्डर मोइन अली शुक्रबारको खेलमा भने टोलीमा फर्कन सक्ने सम्भावना छ। उनको आगमन इङ्ल्यान्डका लागि बलियो पक्ष बन्न सक्छ। यसैगरी प्रभावशाली विकेटकिपर ब्याट्सम्यान जस बट्लर पनि शुक्रबारको खेलका लागि तयार रहेको इङ्ल्यान्डले जनाएको छ। उनी बंगलादेशविरुद्घको खेलका क्रममा घाइते भएका थिए।

यसका बाबजुद केही महिनाअघि खेलिएको पाँच खेलको एकदिवसीय शृंखलामा वेस्ट इन्डिजसँग २—२ को बराबरीमा रोकिएकाले शुक्रबारको खेलमा इङ्ल्यान्ड केही सशंकित भने देखिएको छ। वेस्ट इन्डिज र इङ्ल्यान्डबीचको खेललाई धेरैले आक्रामक ब्याट्सम्यान क्रिस गेल र तीव्रगतिका युवा बलर जोफरा आर्चरबीचको भिडन्तका रूपमा पनि लिएका छन्।


एकदिवसीयमा दुई टोली

कुल  : १०१ खेल

इङ्ल्यान्ड विजयी  : ५१ खेल

वेस्ट इन्डिज विजयी  : ४४ खेल

अनिर्णित  : ६ खेल

विश्वकपमा दुई टोली

कुल  : ६ खेल

इङ्ल्यान्ड विजयी  : ५ खेल

वेस्ट इन्डिज विजयी  : १ खेल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.