नारायणहिटी संग्राहलयमा संसदीय समितिको चासो

नारायणहिटी संग्राहलयमा संसदीय समितिको चासो

काठमाडौं : नारायणहिटी दरबार संग्राहलयमा रहेको वन्यजन्तुका अखेटो  पहार व्यवस्थापनमा राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो देखाएको छ।

संरक्षण अभावमा वर्षौंदेखि दरबार संग्राहलय परिसरको टहरामा थन्किएको वन्यजन्तुको अखेटो पहार संरक्षणका लागि समितिले आवश्यक प्रबन्ध मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो। शुक्रबार बसेको समिति बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव विश्वनाथ ओलीलाई डाकेर समितिले तत्काल संरक्षणको काम अघि बढाउन निर्देशन दिएको हो। 

दरबार संग्राहलय क्षेत्रमा राजा वीरेन्द्रले राखेका वन्यजन्तुको छाला, सिङ, दाँत, प्वाँख, चराको टाउकोलगायत रहेको छ। 

जंगलबाट तत्कालीन समयमा सिकार गरेर ल्याइएको वन्यजन्तुका अखेटो पहार अहिले काम नलाग्ने अवस्थामा पुगेको संग्राहलयका प्रमुख अदैयतप्रकाश श्रेष्ठले जानकारी दिए। ‘यी सामग्री तत्कालीन समयमा राजा वीरेन्द्रले कार्यक्रम तथा दरबारमा सजावटका लागि राख्नुभएको थियो’, उनले भने। 

लामो समयलदेखि बेवारिसे अवस्थामा टहरामा थन्किएको वन्यजन्तुका अखेटो पहार काम नलाग्ने अवस्थामा पुगेको उनले बताए। ‘यी सामग्री रेखदेख अहिले हामीले नै गरिरहेका छौँ। त्यसै टहरामा थन्क्याएर राखिएको छ। व्यवस्थापन नहुँदा हामीलाई ठूलो चिन्ता छ’, उनले भने, ‘तत्काल व्यवस्थापन भयो भने हामीलाई पनि सहज हुने थियो।’

उक्त समितिले सभापति रामनारायण विडारीको संयोजकत्वमा अभिलेख खोज्न बनेको उपसमिति संग्राहलयमा पुगेपछि वन्यजन्तुको छाला राखिएको ठाउँ तत्काल व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा पुगेको थियो। 

आफूले सम्बन्धित निकायलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको समिति सभापति विडारीले जानकारी दिए। ‘हामी त्यहाँ अनुगमनका लागि गएका थियौं। त्यहाँ जाँदा वन्यजन्तुको छालाका बारेमा जानकारी पायौं’, उनले भने, ‘गन्हाएर भित्र जानसक्ने अवस्थामा छैन त्यो ठाउँ। त्यहाँ करोडौं मूल्यका अखेटो पहार छन्। त्यसैले संरक्षणका लागि निर्देशन दिन मन्त्रीलाई बोलाएका हौं।’

समितिले प्रक्रिया मिलाएर व्यवस्थापन गर्दा प्रयोगमा आउनेलाई प्रयोगमा ल्याउन र नआउनेलाई नष्ट गर्न सुझाव दिएको छ। समितिमा यसबारेमा छलफल गर्न आएका मन्त्री बस्नेतले आवश्यक प्रक्रिया मिलाएर व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। यसका लागि तत्काल प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो। 

मन्त्रालयका सचिव ओलीले वन्यजन्तुका छाला, सिङ, प्वाँख आदि व्यवस्थापन गर्नु संवेदनशील विषय भएको बताए। उनले यसका लागि प्रविधिकको टोली बनाउनुपर्ने समितिलाई जानकारी गराए। ‘यसको संरक्षण निकै संवेदनशील छ’, उनले भने, ‘यसको व्यवस्थापन सुरक्षित तबरले गर्नुपर्छ।’ 

सचिव ओलीले प्रयोगमा आउनेलाई सुरक्षित भण्डारण र काम नलाग्नेलाई नष्ट गर्ने बताए। 

यो गृह, वन र पर्यटनमन्त्रालयसँग सम्बन्धित रहेकाले तीन मन्त्रालयसँग नै छलफल गरेर संरक्षणका लागि निर्देशन दिने सभापति विडारीले बताए। ‘अखेटो पहार गृह, वन र पर्यटनसँग सम्बन्धित रहेछ’, उनले भने, ‘अब तत्काल गृह र पर्यटनका अधिकारीलाई पनि बोलाउँछौँ। तीन मन्त्रालय, प्राकृतिक संरक्षण कोष र विधि विज्ञान प्रयोगशालाका प्रतिनिधि सम्मेलित एउटा समिति बनाएर काम अघि बढाउने सहमति भएको छ।’ 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.