धन्न जोगियो मिर्गौला !

धन्न जोगियो मिर्गौला !

 काठमाडौं : लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएका छन्। दलालको विश्वासमा पर्दा उनलाई पुर्‍याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।

गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो। दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे। यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे। अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे।

दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग हुन्छ। उनलाई सापकोटाले दिल्लीस्थित एक होटलमा पुर्‍याउँछन्। होटलमा अन्य दुई नेपाली र भारतीय नागरिक पनि हुन्छन्।

ती युवकलाई सापकोटालगायतले क्यानडाको भिसा लगाउन २२ हजार अमेरिकी डलरको व्यवस्था गर्न सुझाव दिन्छन्। युवकका बाबु लमजुङको एक विद्यालयका शिक्षक हुन्। बाबुलाई दलालले भनेअनुसारकै पैसा ल्याउन भन्छन्। दलालले इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन (ईटिए) मार्फत क्यानडाको भिसा लगाउने आश्वासन दिएका थिए। छोराले क्यानडा जाने रहर गरेपछि ती युवकका बाबु र मामा २२ हजार ५९ डलर लिएर दिल्ली उडे माघ २९ गते। दिल्ली पुगेपछि दलालले युवकलाई इन्दिरा गान्धी विमानस्थलमा राख्छन्।

बाबु र मामालाई भने गुडगाउँस्थित एक होटलमा पुर्‍याउँछन्। दलालले विमानस्थलमा सेटिङ गराउने कर्मचारी गुडगाउँमा आउने र पैसा उनीहरूलाई बुझाउनुपर्ने बताउँछन्। होटलमा बाबु र मामालाई चिया, चिसो र पानी खुवाउन कर गरे पनि उनीहरूले पिउँदैनन्। पैसा बोके–नबोकेको बुझ्न दलालले होटलमा पैसा देखाउन भन्छन्। डलरको बिटो देखेपछि दलालहरू ढुक्क हुन्छन्।

युवकका बाबु र मामा झन्डै दुई घन्टा कुरेपछि चिया खान बाध्य हुन्छन्। चियाको दुई सुर्को लगाउनेबित्तिकै दुवै जना बेहोस हुन्छन्। तर दलालले मिर्गौला र हस्पिटलको कुरा गरेको सुन्छन्।

क्यानडाको भिसा कुरिरहेका युवक रातको ११ बजेसम्म विमानस्थलमै बस्छन्। कुनै खबर नआएपछि राति १२ बजे निराश हुँदै होटल पुग्छन्। भोलिपल्ट एक युवकले फोन गरेर बाबु र मामा होटलमा बेहोस अवस्थामा रहेको खबर दिएपछि उनी गुडगाउँस्थित होटल पुग्छन्। होटलमा दुवै जना बेहोस देखेपछि ती युवाको चेत खुल्छ। मानव तस्करले लुट्नकै लागि क्यानडाको सपना देखाएका रहेछन् भन्ने थाहा पाउँछन्। बाबु र मामालाई उपचार गराएर उनी नेपाल फर्किछन्।

नेपाल फर्केपछि पीडित युवक, उनका बाबु र मामा केन्द्रीय अनुसन्धान ब्युरो पुग्छन्। अहिले यो घटनाको अनुसन्धान मानव बेचबिखन ब्युरोले गर्दै आएको छ। मानव तस्करले ती युवाका बाबु र मामाले लगेका २२ हजार ५९ डलर, नेपाली ३५ हजार र भारतीय १५ हजार रुपैयाँ लुटेको बयान दिएका छन्।

प्रहरीको मानव बेचबिखन ब्युरोले दलालमध्येका नुवाकोटका सापकोटालाई गत बुधबार बनेपाबाट पक्राउ गरेको छ। पीडित युवकले आफूलाई दिल्लीस्थित विमानस्थलमा रिसिभ गर्न सापकोटा पुगेको साबिती बयान दिएपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। ब्युरोका एसपी अनुपमशमशेर जबराका अनुसार क्यानडा जाने सपना बोकेका ती युवक अहिले पनि सामान्य हुन सकेका छैनन्।

‘यो घटनाको अनुसन्धानमै छौं’, जबराले भने, ‘भारतीयसहित केही फरार भएकाले उनीहरुलाई पक्राउ गरेपछि थप रहस्य खुल्छ।’ मिर्गौलाको प्रसंग कहाँबाट आयो भन्ने प्रश्नमा जबरा भन्छन्, ‘ती युवकका बाबु र मामाले पटकपटक हस्पिटल र मिर्गौला शब्द सुनेकाले पनि उनीहरु मिर्गौला झिक्ने योजनामा रहेको आशंका गरेका हुन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.