बालीको बयान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियन एअरलाइन्सको विमान चढेर क्वालालम्पुर इन्टरनेसनल (केएल) विमानस्थल झर्दासम्म समूहमा रहेका चार जना सञ्चाकर्मीबाहेक अन्यसँग अपरिचितजस्तै थियौं। काठमाडौंबाट उडेको पाँच घण्टासम्म विमानभित्र मुख हेराहेर मात्र गरे पनि क्वालालम्पुर बसाइपछि भने बोलचालमा केही सहज भयो। केएलमा सात घण्टाको ‘ट्रान्जिट’ बिताउनुपर्ने बाध्यताले अन्यसँग पनि सामान्य परिचय भयो।
एकै समूहमा अरू पनि बाली जान लागेका छन् भन्ने पूर्वजानकारी त थियो, तर पनि मलेसियन एअरलाइन्सबाट क्वालालम्पुर हुँदै अन्य मुलुक जाने नेपाली थुपै्र भएका कारण बाली नै हिँडेका हुन् भन्दै हरेकसँग परिचय गर्न अप्ठ्यारो थियो हामीलाई। यस्तै समस्या अन्य यात्रुलाई पनि थियो होला। सात घण्टाको ट्रान्जिटको उकुसमुकुसपछि केएलबाट मलेसियन एअरलाइन्सकै विमानबाट बालीतर्फ उड्यांै।
तीन घण्टाको उडानपछि समुद्रसँगै जोडिएको देन्पसारस्थित नुराह राई इन्टरनेसनल एअरपोर्टको अध्यागमन कक्षबाट राहदानीमा ‘अन एरिभल भिसा’का लागि लामबद्ध हुने क्रममा एकै समूहमा बाली गएका सबैसँग एकसरो परिचय भयो। त्यहाँबाट एकअर्काको मित्रता अझ प्रगाढ भयो।
विमानबाट ओर्लेपछि टुरिस्ट गाइडका रूपमा हामीलाई रिसिभ गर्न आएका बालीकै स्थानीय बासिन्दा एडीले गाडीभित्रै हस्यौली पारामा एक एक गरेर परिचय दिन अनुरोध गरेपछि हाम्रो परिचय दोहोरियो, जुन परिचयपछि सबै जना एकै परिवारका सदस्य रहेको अनुभव हुन थाल्यो। मातृभूमिबाट जति टाढा गयो, आफ्नो मुलुकका नागरिक भेटिएपछि उति नै धेरै आत्मीयता प्रगाढ हुने मानवीय स्वभाव सायद बालीको कुतास्थित इडेन होटल पुग्दासम्म प्रकट भइसकेको थियो, हामी बीस जनामै।
नेपालमा एक हजारभन्दा ठूलो नोट नचलाएका हामीलाई एक लाख दरका नोट चलाउन पाउँदा थप आनन्दित बनायो।
होटलमा लगेज राखेर बस्ने कोठासमेत निक्र्योल भएपछि सुरु भयो, बालीको रमणीय यात्रा। नाममा परिचित भए पनि पहिलो यात्रा भएकाले बालीबारे धेरै कुरा जान्ने जिज्ञासा काठमाडौंबाट विमान चढेदेखि नै पलाएको थियो। एकछिनको आरामपछि होटलबाट निस्केर क्रुज डिनर गराउने भन्दै एडीले नजिकैको समुद्री तटमा पुर्याए। गुडिरहेको क्रुजमाथि चढाएर समुद्रको एक फन्को लगाउनेबित्तिकै बालीप्रति नेपालीको आकर्षण किन बढेको रहेछ भन्ने मेरो मनको जिज्ञासा विस्तारै साम्य हुन थाल्यो।
जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो र क्षेत्रफलका आधारमा १५औं स्थानमा रहेको इन्डोनेसियाका ३४ वटा प्रान्तमध्येको एक रहेछ बाली। तर आन्तरिक तथा बाह्य पर्यटक तान्ने प्रशस्त संरचनाका कारण मानव बस्तीले कोचाकोच रहेको राजधानी जकार्ताभन्दा बाली आर्थिक रूपमा निकै सबल रहेको एडीले सुनाए। नेपालीलाई त्यतातर्फ तान्ने एउटा पक्ष यिनै संरचना रहेछन्। उनी भन्दै थिए, ‘आम्दानीको हिसाबले इन्डोनेसियाका ३४ वटा प्रान्तमध्ये बाली दोस्रो नम्बरमा पर्छ।’ बालीमा दैनिक पाँच हजार विदेशी पर्यटक भ्रमणका लागि आउने गरेको तथ्यांक पनि पर्यटन क्षेत्रमा लामो समय बिताएका उनैले दिए। स्वदेशी पर्यटकको त हिसाबै छैन।
नेपालीलाई तान्ने मुख्य कारणमध्ये अर्को पनि रहेछ बालीसँग। २५ करोडको हाराहारीमा जनसंख्या रहेको इन्डोनेसियामा कुल जनसंख्याको ९० प्रतिशत मुस्लिम धर्मालम्बी बस्छन्। तर रमाइलो पक्ष, ५० लाखको हाराहारीमा जनसंख्या बस्ने बालीमा भने ८३ प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी छन्। पाँच हजार सात सय ८० वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भूमिमा हिन्दुबाहेक बाँकी बौद्ध, मुस्लिम, क्रिस्चियन धर्मावलम्बीको बसोबास छ। रीतिरिवाज, सांस्कृतिक सम्पदा, धर्मप्रतिको निष्ठा नेपालीसँग मिल्दोजुल्दो हुनु यसको अर्को कारण हुन सक्छ।
हिन्दू धर्मावलम्बीको बाहुल्य रहेकै कारण हुन सक्छ, बालीका हरेक परिवारले नयाँ घर बनाउनुअघि घरको कम्पाउन्डभित्र मन्दिर कहाँनेर राख्ने भन्ने योजना पहिला बनाउँछन् रे। मन्दिरप्रति यहाँका बासिन्दाकोे आस्था देख्दा लाग्छ— घरको कम्पाउन्डभित्र मन्दिर बनाउन यहाँको कानुनले नै अनिवार्य गरेको छ। तर यो काननी बाध्यता नभई संस्कार मात्र भएको एडीले स्पष्ट पारे। मन्दिरै मन्दिरको सहर भनेर विश्वप्रख्यात काठमाडौंबाट गएका हामीमध्ये अधिकांशलाई बालीको चोकदेखि घरघरमा सजाइएको मन्दिर र देवताका मूर्तिले झनै प्रभावित बनायो।
साँझ छिप्पिदै गएपछि बढ्ने हावाको बहावसँगै समुद्री छालबाट निस्कने बन्दुक पड्केजस्तो ड्याङ ड्याङ आवाजले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित पार्दोरहेछ। अनि त्यही ड्याङ ड्याङ आवाज निकाल्दै आएको छालसित पौंठेजोरी खेल्दै गुडेको क्रुजमाथि बसेर डिनरको मज्जा लिँदा मन कति आनन्दित हुँदो हो, कल्पना मात्रै गरे पनि अहिले नै पुगिहालौंजस्तो हुन्छ। क्रुजभित्रै विविध गीतसंगीत र हास्यव्यंग्यको रससँगै इन्डोनेसियाली खानाको स्वाद लिन पाउनु त्यहाँको अर्को विशेषता रहेछ।
साँझमा समुद्री किनाराको बालुवामा बसेर विविध संगीतको धुनमा रमाउन पाइने ‘क्यान्डल लाइट डिनर’ विशेष गरी नेपालीका लागि बालीको अर्को रमाइलो पक्ष रहेछ। त्यसबाहेक विभिन्न प्रकारका साहसिक खेल, समुद्री यात्रा, वाटर स्पोर्टस्, कलात्मक शैलीमा कुँदिएका काठ तथा धातुका संरचनाको अवलोकन, समुद्रको बीचमा रहेको मन्दिरको दर्शन आदि बालीमा अन्तर्राष्ट्रिय पर्यटक तान्ने मुख्य आकर्षक पक्ष रहेछ। पटकपटकको ज्वालामुखी र भूकम्पबाट बनेको कालो पहाडले पनि बालीमा अन्तर्राष्ट्रिय पर्यटक तानिरहेको छ।
०० मिलनसार बालिनेस, मीठो सत्कार
एडीले विमानस्थलबाट ‘रिसिभ’ गर्ने समयमै भनेका थिए, बालिनेस (बालिका नागरिकहरू) निकै इमानदार छन्। उनीहरू हरेक पाहुनालाई मीठो सत्कार गर्छन् र मन मिल्नेसँग मित्रवत् व्यवहार गर्छन्। तर उनकोे बयानविपरीत हामीले सोचेका थियौं, ‘आफ्नो मुलुक र नागरिकको जसले पनि प्रशंसै गर्छ। एडीले पनि त्यसै गरेका हुन्।’
बालीमा चार दिन बिताएपछि थाहा पायौं, हामीभन्दा एडी नै सही अर्थात् त्यहाँका नागरिक सबैसँग मित्रवत व्यवहार गर्दा रहेछन्। उनीहरूले नचिनेका मानिससँग बोल्दा सबैलाई निकै सत्कार गरे। सायद बालिनेसको मित्रवत् व्यवहार त्यहाँको एउटा पहिचान नै बनिसकेको छ। सपिङ मलमा प्रवेश गर्दा होस् या सामान्य होटलमा खाजा खान बस्दा नै किन नहोस्, त्यहाँका कर्मचारीले गर्ने सत्कार वास्तवमै अनुसरणयोग्य छ।
०० एअरपोर्टमै लखपति
सुनेका थियौं, बालीको मुद्रा नेपालीको तुलनामा निकै कमजोर छ। तर मुद्रा कमजोर भए पनि सोही अनुपातमा सामान सस्तो छैन भन्ने जानकारी पनि त्यसतर्फ प्रस्थान गर्नुअघि नै पाएका थियौं। सोहीअनुसार केही सय अमेरिकी डलर जोरजाम गरेर गएका हामी विमानस्थलमा रहेको मुद्रा सटही काउन्टरमा पुगेपछि चकित भयांै।
प्रति एक सय अमेरिकी डलर साट्दा झन्डै चौध लाख बाली रुपियाँ आउँदो रहेछ। पैसा साटेर खल्तीमा हाल्नुभन्दा पनि छिनभरमै करोडपति र लखपति बनेको भन्दै सटही काउन्टरअगाडि पैसाको मुठो देखाउँदै सेल्फी खिच्नेको चहलपहल अर्को रमाइलो पक्ष रहेछ। नेपालमा एक हजारभन्दा ठूलो नोट नचलाएका हामीलाई एक लाख दरका नोट चलाउन पाउँदा थप आनन्दित बनायो।
अन्तर्राष्ट्रिय पर्यटकको केन्द्र भए पनि बालीमा खानपान तथा घुमफिरका लागि तिर्नुपर्ने शुल्क पनि मध्यम खालको छ। त्यसबाहेक समुद्री खाना (सी फुड), आवश्यकताअनुसार इन्डियन, चाइनिज, जापानी, थाईलगायत विश्वमा अधिक रुचाइएका खाना एकै होटलमा उपलब्ध हुनु पनि बालीको सकारात्मक पक्ष लाग्यो। एकै सहरमा सयौंको संख्यामा पाँचतारेदेखि मध्यमस्तरका होटल र मीठो सत्कार उपलब्ध छ बालीमा। एडीले सुनाएअनुसार बालीमा मात्र पाँच सयभन्दा बढी पाँचतारे होटल छन्।
काठमाडौंको तुलनामा केही गर्मीबाहेक बाली घुम्नेका लागि नराम्रो अनुभव गर्नुपर्ने खासै कारण भेटिन्न। बालीकै एउटा ठाउँमा घुम्दा उकुसमुकुस गर्मीको अनुभव गर्नु एक प्रकारको बाध्यता भए पनि डेढदुई घण्टाको दूरीमा यात्रा गरेर पुगिने ठाउँमा चिसो मौसमको अनुभव गर्न पाउनुले कतिपय नेपालीलाई बाली र नेपालको भूभागमा समानता रहेछ भन्ने अनुभव पनि गराउँछ।
सुन्दर सहर, सुग्घर सडक, जामरहित यात्रा, सडक वरपर देखिने प्रशस्त बिरुवाले बालीलाई सुन्दर बनाउन मद्दत गरिरहेका छन्। त्यसबाहेक योजनाबद्ध विकास, सरकारको पर्यटकमैत्री नीति, पर्यटकलाई आकर्षित गराउन सरकारी पक्षबाटै भएका प्रयासले पनि बालीलाई विश्वभर चिनाउन बल पुर्याइरहेको छ।