छाया भर्सेस घेरा

छाया भर्सेस घेरा

काठमाडौंका दुई नाटकघर मण्डलामा चलिरहेको ‘क्लेशा’ र शिल्पीमा चलिरहेको ‘योगमाया’ नाटक हेरेपछि ‘मिल्दाजुल्दा’ यी दुवै नाटक र यिनको केन्द्रमा नाटकबारे केही कुरा :

काठमाडौंको मण्डला थिएटरमा चलिरहेको ‘क्लेशा’ नाटकमा भूमि पात्रले बोल्ने एउटा संवाद छ, ‘यदि मैले गहना लगाएको भए समाजलाई तिम्रो नजरले हेर्ने थिएँ देव। त्यसैले फुकालेँ।’ अपहरणमा परेकी आफ्नी श्रीमती भूमिलाई लिन उनी भएको स्थानमा देवदत्त आइपुगेका बेलाको संवाद हो यो। यसले नाटकको मुख्य ध्येयलाई उघार्छ। महिलाले गहना अर्थात् सामाजिक संस्थाको सम्मान, अथवा पुरुष जातिको इज्जतका लागि गहना लगाउँदा वा गहना भइरहँदा कहिल्यै आफ्नो दृष्टिकोण देख्न नै पाएनन्।

अपहरणमा परेकी भूमि पात्र केही समय रिसाउँछिन्। तर जब आफू भएको स्थानलाई त्यहाँकै नजरबाट हेर्छिन्, उनको बुझाइ फेरिन्छ। आफूलाई खुला र निष्फिक्री महसुस गर्न थाल्छिन्। कुवाबाट नदी भएको आभास हुन्छ।

नाटकको ब्रोसरमा प्रयोग गरिएको इलुस्ट्रेसनले अर्थ राख्छ। त्यहाँ पोखरीको डिलमा तीन पात्र छन्। सपक्क कपाल कोरिएकी भूमि बीचमा र उनको वरपर बाँकी दुई पुरुष। पोखरीमा तीनैजनाको छाया छ। छायामा भूमिको आकार वास्तविक मान्छेजस्तै देखिन्छ तर बाँकी दुई छाया हल्लिएका छन्। तिनको आकृति स्पष्ट छैन।

छायामा उनको कपाल देखिँदैन।

के उनलाई पहिलोपल्ट आफ्नो छाया देखेजस्तो भएको हो ? वा कसैको छायाबाट मुक्त भएजस्तो ?

पोखरीनजिकै बसेको अर्को दृश्यमा पहिलो पल्ट लामो संवाद गरिरहेको बेला रुद्र सोध्छन्, ‘तिमीलाई मसँग हुँदा कस्तो लाग्छ ? ’ भूमि भन्छिन्, ‘मलाई तिमी र देवमा कुनै फरक लाग्दैन।’

उनलाई प्रधानपञ्च आफ्नो श्रीमान् र आफूलाई अपहरण गर्ने रुद्रको बीचमा कुनै फरक महसुस हुँदैन। किनकि ती दुवै पुरुष हुन्। बदलाको भावनामा चेपिएका छन्। र समानता छ, दुवैको पीडित महिला हुनु परेको छ।

महाभारत, रामायण, स्वस्थानी सबैतिर पुरुषको कारणले महिला पीडित भएकी छन्। तर लेखिएका कथामा यस्तो देखिन्छ कि उनीहरूकै कारण त्यस्तो ठूलो लडाइँ भयो। ‘क्लेशा’ले सोध्छ, ‘कोही पनि किन हरेक पुस्तामा स्थानान्तरण भइरहेको पुरुष सोच र त्यसमा भरिएको अहंकार, मोह, विच्छेद, डर र अज्ञानताको बारेमा प्रश्न गरिरहेको छैन ? ’

काठमाडौंकै शिल्पी थिएटरमा चलिरहेको नाटक ‘योगमाया’मा माया दिदीकी छोरीको विवाह भएको एउटा दृश्य छ। मञ्चको सबैभन्दा माथि दाहिने कुनामा एक पुरुषले उनको काँधमा माला लगाइदिन्छन्। बत्ती केही बेर बलेर निभ्छ। विवाहको बाजा पनि निभ्छ।

बाजा केही बेर बजेको थियो। माला लगाइदिन एकैछिन पनि लागेन। तर त्यसले एक बालिकालाई नाटकभर बालविधवा बनाइरह्यो।

एउटा महिला बाँच्ने समयलाई विचार गर्ने हो भने उनको विवाह गर्ने दिन एकदमै नगन्य अंश हो। तर त्यही दिनले उनको जीवनमा अनेकौं पर्खाल लगाएर ल्याउँछ। विवाह संस्थाले सामाजिक दमनलाई संस्थागत गरिरहेको छ। नाटककै अर्को दृश्यमा पनि विवाहले जकडिएकी एक महिला पात्रको आन्तरिक द्वन्द्व र पीडालाई देखाइएको छ। उनको वरपर समाज घेरा हालेर उभिएको छ।

योगमाया ती घेरा तोड्न यात्रामा छिन्। नाटकको ब्रोसरमा उनको निधार हुँदै झरेको घेरा सांकेतिक छ। सम्भवतः त्यो उनले जलसमाधि लिन आइपुग्नुभन्दा पहिला जीवनभर गरेको यात्रा थियो। त्यो यात्रा सीधा थिएन। त्यसमा सजिला मान्छेहरूमात्र ठोक्किएनन्।

ती दुई दृश्य लामा छैनन् तर यति शक्तिशाली छन् कि तिनको प्रभाव सारा नाटकभरि छरिएको छ। किनकि बालविवाह भएकी बालिका अरू कोही नभएर योगमायाकै छोरी थिइन्।

प्रश्न उठ्यो, ‘त्यति ठूलो सामाजिक रूपान्तरणको नारा लगाउने माया दिदीले आफ्नै छोरीको बालविवाह किन रोकिनन् ? किन उनलाई बालविधवा बनाइन् ? किन सकिनन् ? ’

यसको जवाफ माया दिदीले नै दिन्छिन्। एक दृश्यमा उनी आफैंले समाज सुधार गर्न हिँडेकी मान्छे आफ्नै घरमा भइरहेको गलत काम रोक्न नसकेको स्वीकार गर्छिन्। उनको स्वीकारोक्ति एक मानिसको स्वीकारोक्ति हो जो एक चलायमान तर जब्बर समाजको यथास्थिति भत्काउने प्रयत्नमा कसैले मान्छे भएर गरेको स्वीकारोक्ति हो।

त्यसको मतलब हो, योगमाया हुन सजिलो थिएन। उनी मान्छे थिइन्। मान्छे हुन सजिलो थिएन।

दुई नाटकमा पहिलो नाटकले रामायणको कथालाई नेपालको पञ्चायती समयमा ल्याएर यहीँका पात्रमार्फत उभ्याएको छ भने योगमायाले त्यसभन्दा अलिक अगाडिको राणाकालको प्रसंगलाई स्टेजमा उतारेको छ। यस अर्थमा दुवै नाटक वर्तमान समयमा मञ्चन भए पनि तिनले उठाएको विषय पुरानो हो।

विगतको कथा भएकाले दुवै नाटककार र निर्देशकसँग त्यो विगतको भविष्य साक्षात्कार गरेको अनुभव छ। कलाकारसँग पनि छ।

दुवैमा साझा केही कुरा छन्।

माया दिदी परिवार छोडेर निस्किएपछि योगमायाको चेतनाले भरिएकी छन्। उनले समाजलाई हेरेर सिकेकी छन्। भूमि अपहरणमा परेर निस्किएपछि अर्को कोणबाट आफूलाई बुझ्ने भएकी छन्। भूमिको बुझाइ बाध्यकारी कारणबाट भएको छ भने माया दिदीले आफैं बाटो पहिल्याउँदै हिँडेकी छन्।

दुवै पात्रमा आफूलाई बाहिरबाट हेर्ने क्षमताले परिवर्तन गरेको छ।

दुवै आफ्नो समयको व्यवस्थाविरुद्ध लडिरहेका छन्। योगमायाले राणा प्रधानमन्त्रीसँग जुधेको दृश्य र भूमिले देवदत्त र रुद्रबीच परेको लडाइँ छुट्ट्याउन लागेको दृश्यमा समानता देखिन्छ।

साँच्चै राम र रावण युद्धको बीचमा सीता उभिएको भए के हुन्थ्यो ? महाभारतको युद्धमा द्रौपदी पनि उभिएको भए के हुन्थ्यो ? ती भारी राजसभामा थुनिएका सबै भूमि र योगमायाहरू बोलेका भए के हुन्थ्यो ?

कस्तो सुनिन्थ्यो हाम्रा ग्रन्थहरूका आवाज वा ग्रन्थमा लेखिएका इतिहास ?

दुवै नाटकले यी र यस्तै प्रश्न सोध्ने बनाउँछन्।

संरचनागत रूपमा हेर्ने हो भने ‘क्लेशा’ले देवताको कथालाई मान्छेमा ल्याएर देखाएको छ भने ‘योगमाया’ले मान्छेको कथालाई भगवान् बनाएर देखाएको छ। कुनै कुराको अति सामान्यीकरण र अति विशिष्टीकरण वा भनौं मानवीकरण र देवत्वकरणमा जोखिम हुन्छ। दुवै जोखिममा दुवै नाटक परेका छन्।

मैले माथि नै भनेँ, माया दिदी मान्छेबाटै योगमाया बनेकी हुन्। तर नाटकमा उनलाई भगवान्को नजिक पु‍र्‍याउन खोजिएको छ। उनका अनुयायीहरू हुनु भनेको स्वाभाविक कुरा हो। त्यो कुरा स्टेजमा लैजाँदा कसरी लैजाने भन्ने कुरामा निर्देशकसँग छनोट थियो। त्यो छनोट गरेको देखिँदैन। उनका लागि खिपिएका फरक संवाद र विपक्षीसँग प्रस्तुत हुँदा उनको प्रस्तुति दुवै बनावटी लाग्छ। मान्छेको शक्तिलाई दैवी शक्ति बनाउन हामी किन हतार गर्छौं ?

दैवी शक्ति बनाएपछि त्यसले कसैलाई गलत नदेख्ने बनाउँछ। हाम्रा धार्मिक ग्रन्थहरूले त्यसै शासन गरेका हैनन् हामीलाई। अनि कसैलाई दैविक बनाउनु भनेको समाजमा अर्को योगमाया जन्मिन सक्ने सम्भावनालाई कमजोर गर्नु पनि हो।

देवत्वकरण पछिल्लो समय नेपाली राजनीति, अर्थतन्त्र, समाज सबैतिर देखिएको साझा विम्ब भनिदिए हुन्छ। सामाजिक सञ्जालमा केही बेर छिर्दा थाहा हुन्छ, देवत्वकरण कति घातक हुन्छ। योगमाया नाटक त्यही देवत्वकरणमा रोकिँदा माथि उल्लेख भएका जस्ता कति धेरै दृश्य उनका लागि लेखिएका संवादमा हराएका छन्।

‘क्लेशा’ नाटक रामायणको कथासँग सारगत रूपमा मिल्छ। त्यहाँ भएका मुख्य पात्रहरू देवताबाट मान्छे बनाइएका छन्। देवता भनिएका पात्रलाई प्रश्न गर्नु भनेको राक्षस भनिएको पात्रलाई सफाइ दिनु हैन। यसमा फेरि त्यही भूल भएको छ जुन रामायणमा भएको थियो। विनिर्माण गर्नु भनेको सत्यहरूको खोजी गर्नु हो। तिनको बीचमा तुलना गर्नु हो। एउटा सत्यलाई गलत भनेर अर्कोलाई सत्य बनाउनु हैन। कसैलाई खराब भनेर कसैलाई असल बनाउनु हैन।

भेषभूषा र अन्य कुरामार्फत त्यस समयमा लैजान खोजेका नाटक भाषा र लवजमा भने कमजोर छन्। यो समग्र नेपाली नाटकको वर्तमान दुःख हो। पात्रको गहिराइ उनीहरूको मुखबाट उच्चारण हुने भाषाले दिँदैन। न क्लेशाले भाषागत रूपमा नेपालको पञ्चायती व्यवस्थामा पु‍र्‍याउँछ न त योगमायाले राणाकालमा।

पात्रहरूको अभिनयमा देखिएको सबैभन्दा ठूलो समस्या नै उनीहरूले नाटक वा डायलगको सबटेक्स्ट नबुझ्नु हो। धेरैजसो समय उनीहरू नाटकको संवाद पढिरहेका छैनन्। त्यो पात्रको गहिराइमा पुगिरहेकै छैनन्। ऊ कसरी बोल्छ ? ऊ कसरी हिँड्छ ? ऊ कसरी कुनै कुरालाई लिन्छ ? अहँ देखिएकै छैन।

भूमि र योगमाया दुवै पात्रमा त्यो अनुहारको भाव खोजेँ, जुन उनीहरूले अभिनय नगरेको होस्। जुन सत्यता भएर स्टेजमा देखियोस्। त्यो छैन। हुनसक्छ, यो तत्कालको हाम्रो बहसको विषय हैन तर हाम्रो नाटकलाई हिँडाउने हो भने त्यसमा काम गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।

पात्रहरूले संवाद भनेको आफ्नो पालोको डायलग बोल्नु मात्र हैन भन्ने कुरा बुझ्नुपर्छ। निर्देशकले आफ्नो पात्रलाई कुनै कुरा बोलाएको यो कारणले हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ। भनेको कुरा स्टेजमा पुग्दा अर्कै भइरहेको हो भने त्यसमा हस्तक्षेप चाहिन पनि सक्छ। निर्देशक र कलाकारबीच यो विषयमा ठूलै बहस हुनुपर्ने आवश्यकता छ। यस्तो समस्या पछिल्लो समय हरेकजसो नाटकमा देखिइरहेका छन्।

फेरि पनि भन्छु, संवाद भनेको कुनै भेषभूषा लगाएर स्टेजमा गएर पढिने कुरा मात्र हैन। गिरीश कर्नाडले भनेझैं यसले ‘कुनै पात्रको इतिहास कस्तो थियो र भविष्य कस्तो हुन्छ’ भन्नेसम्मको सन्देश दिइरहेको हुन्छ भने कलाकारले यसलाई पढ्ने मात्र जमर्को गर्नु हुँदैन।’

दुवै नाटकमा हँसाउनका लागि केही दृश्य राखिएका छन्।

दर्शक हाँसेपछि त्यसको पछि कलाकार दौडिएको हो कि जस्तो पनि लागेको छ। यसले दुवै नाटकमा दर्शकलाई धेरै डिस्टर्ब गरेको छ। तत्काल हाँसिहाल्ने केही गरेमा दर्शक हाँस्छन्। त्यो तत्काल प्रतिक्रिया हो तर हाँसोबाहेकका सिनले पनि मन छुन सक्छ। क्लेशा नाटकमा भूमि र देवदत्तबीच प्रयोग भएको हास्य दृश्यमा कुनै पनि नवीनता छैन। त्यसले पात्रलाई स्थापित गर्न कुनै भूमिका खेल्दैन। त्यो दृश्य एकदमै नमिल्दो लाग्छ। यस्तै योगमायामा पनि एउटा पात्रलाई हँसाउनकै लागि हर्कत गर्न लगाइएको छ। सिपाही बनेका व्यक्तिहरूमार्फत प्रयोग भएको त्यो हास्य दृश्यले योगमाया र उनको समूहलाई राज्यले पक्राउ गरेको त्यत्रो ठूलो घटनालाई फगत हास्य दृश्य बनाइदिएको छ।

पछिल्लो समयका धेरै नाटक यही समस्याबाट गुज्रिएका छन्। उनीहरू दर्शक हाँसून् भनेर पात्रमा लगानी गरिरहेका छन्। त्यो लगानीले नाटकलाई क्षति गरिरहेको छ।

विषय, संरचना र भाव सबै हिसाबले लगभग नजिक देखिने दुई नाटक एकैपल्ट काठमाडौंमा मञ्चन भइरहेका छन्। तिनले विषयगत रूपमा सामाजिक रूपान्तरणका मुद्दामा बहस गर्न खोजेका छन्। यो सुखद कुरा हो। तर सँगै नाट्य विधा र नेपाली रंगमञ्चका केही विशेषतामाथि नयाँ अध्ययन र प्रयोग गरिनुपर्ने आवश्यकता पनि देखिन्छ।  @SurajWritesNP


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.