रसगोत्राको नेपाल दृष्टि र ‘डुरेन्ड सिन्ड्रोम’

रसगोत्राको नेपाल दृष्टि र ‘डुरेन्ड सिन्ड्रोम’

महाराजकृष्ण रसगोत्रा पुस्तक लेख्ने मुडमै थिएनन्। झन्डै ९० हाराहारीको उमेर, पूर्वविदेश सचिवको गहन जिम्मेवारी, धेरै सरकारी भाषाका सर्कुलर र विज्ञप्तिको ड्राफ्ट लेख्दालेख्दै थाकेर वाक्क दिक्क भइसकेका थिए उनी। सन् २०१३ को अन्त्यतिर एक दिन इन्डियन काउन्सिल अफ वल्र्ड अफियर्सका डाइरेक्टर जेनरल राजीव भाटियाले उनलाई मुख्य वक्ताका रूपमा निम्ता दिए। उनको त्यो काउन्सिलको सम्बोधन कति प्रभावशाली बन्यो भने उनका साथीभाइ एवं त्यस कार्यक्रमका सहभागीले उनलाई आफ्नो अनुभवमा आधारित पुस्तक लेख्न सुझाए। अझ भनौं दबाब नै दिए। उनको नलेख्ने स्वघोषित प्रतिबद्धता तोड्दै लेखिएको पुस्तक हो, ‘ए लाइफ इन डिप्लोमेसी’।

प्यालेस्टाइन मूलका अमेरिकी प्राज्ञ एडवर्ड सइदले लेखनबारे एउटा रोचक टिप्पणी गरेका छन्। लेखकले एउटा उपलब्ध परिवेशमा निश्चित पाठकहरूलाई लक्ष्य गरी पुस्तक तथा गम्भीर आलेखहरू सिर्जना गर्छन्। त्यही लक्षित पाठक समुदायभित्र उक्त लेख एवं पुस्तकहरूबारे गम्भीर बहस र छलफल चल्छ। विरोध, समर्थन र निरपेक्षताको शृंखला नै चल्छ। यसैलाई उनले व्याख्या र ज्ञानको राजनीति भनेका छन्। रसगोत्रा भारतीय स्वतन्त्रतासँगैका प्रारम्भिककालीन विदेश मन्त्रालयका कर्मचारी हुन्। उनी भारतको संविधान निर्माणअगावै सन् १९४९ मा परराष्ट्र मन्त्रालयमा छिरेका हुन्। नेपाली राजनीति र कूटनीतिक जगत्मा गम्भीर चासोसाथ हेरिने कुरा के हो भने भारतका अनुभवी राजनीतिज्ञ एवं कर्मचारीहरूले नेपालबारे राख्ने अवधारणा के हो ?        रसगोत्रा सन् पचासताकाकै नेपालका लागि भारतीय दूतावासमा कार्यरत अनुभवी पुराना कूटनीतिज्ञ हुन्। रसगोत्राले आफ्नो यो पुस्तकमा नेपालबारे थुप्रै पृष्ठ खर्चेका छन्। एडवर्ड सइदकै शब्दमा भन्ने हो भने यस पुस्तकमार्फत रसगोत्राले व्याख्याको ज्ञान र अनुभवको राजनीति गरेका छन्।

यिनको नाम महाराजा भए पनि रसगोत्रा राजारजौटाका वंशज भने होइनन्। यी वास्तवमा काश्मिरी डोग्रा ब्राह्मणका सन्तति हुन्। अक्सफोर्ड विश्वविद्यालयमा पढ्दा यिनको नामले धेरैलाई झुक्याएको छ। भारतका रजौटा भन्ठानी तिम्रो घरमा कति नोकर चाकर, घोडा, हात्ती छन् भनेर सहपाठीहरूले उनलाई हैरान पारेका छन्। तर नेपालका राजारजौटासँग भने यिनको प्रगाढ आत्मीय सम्बन्ध नै थियो। विदेश मन्त्रालयको जागिरका सुरुआती वर्षहरूमा नै उनी काठमाडौंको भारतीय दूतावासमा खटिए। राजा त्रिभुवनलाई सीपी एन सिंघले काठमाडौंबाट भगाएर दिल्ली पुर्‍याउँदा उनको रेखदेखका लागि भारतीय विदेश मन्त्रालयका तर्फबाट रसगोत्रा नै खटिएका थिए। १९५४ को मे महिनाको मध्यतिर एउटा नरमाइलो घटना हुँदा रसगोत्रा काठमाडौंस्थित भारतीय दूतावासमै कार्यरत थिए।

भारतीय राष्ट्रिय कांग्रेसका प्रभावशाली सदस्य राधारमण केही भारतीय लोकसभाका सदस्यहरूसाथ सद्भाव भ्रमणका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए। पाहुनाहरूको स्वागत र सत्कारका लागि अहिलेको जस्तो हायात, सोल्टी, द्वारिकाजजस्ता तारे होटल थिएनन्। राधारमणको उक्त प्रतिनिधिमण्डलले काठमाडौंको विमानस्थलमा उत्रनेबित्तिकै ठूलो विरोधको सामना गर्नुपर्‍यो। नेपालको आन्तरिक मामिलामा चलखेल गर्न आएको भन्दै गौचरन नजिक उनीविरुद्ध चर्काे नाराबाजी मात्रै भएन, भीडबाट प्रतिनिधिमण्डललाई लक्ष्य गरी ढुंगा नै प्रहार गरियो। त्यो घटनाको चौतर्फी विरोध भयो।

भारतमा सिक्किमको विलयपश्चात् सिक्किमको दोस्रो पुस्ताले बिर्सिसकेको तर नेपाली राजनीतिको मनोविज्ञानमा अद्यापि जीवित ‘सिक्किमीकरण’को कथा हो, यो।

भारतका प्रधानमन्त्री नेहरुले नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पत्र नै लेखे। नेपाल सरकारले काठमाडौंस्थित तत्कालीन भारतीय राजदूत बीके गोख्लेलाई बोलाई उक्त घटनाप्रति दुःख प्रकट गर्दै क्षमायाचना गर्‍यो। मातृकाले उक्त घटनामा भर्खरै सत्ताच्यूत भएका राणा एवं केआई सिंहको हात हुन सक्नेतर्फ संकेत गरे। तर पछि कोइरालाकै एउटा विश्वास पात्रले रसगोत्रालाई उक्त घटना कोइरालाकै स्वीकृतिमा उनका आसेपासेले गराएको हो भनिदिए। यसले नेपाल–भारत सम्बन्धको जटिलता, संवेदनशीलता एवं षड्यन्त्रका सिद्धान्तहरूको रहस्योद्घाटन गरेको छ।

राजा त्रिभुवनको देहावसानपश्चात् युवराज महेन्द्र नेपालका राजा भए। भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादको निमन्त्रणामा राजा महेन्द्रले पहिलो राजकीय भ्रमण भारतमा गरे। उक्त भ्रमणमा भारतका तर्फबाट लियाजन अफिसरमा रसगोत्रा नै खटिए। त्यस बेलाका अविवाहित रसगोत्रालाई राजा महेन्द्रले उक्त भ्रमणको समयमा व्यंग्यवाण प्रहार गरिहाले, ‘यी अविवाहित रसगोत्रा काठमाडौंस्थित निवासमा कसरी बस्न सकेका रहेछन्, छड्के जाँच गर्नु छ।’ चलाख कूटनीतिज्ञ रसगोत्राले राजा महेन्द्रलाई आफ्नो निवास कमलपोखरीमा डिनरका लागि निमन्त्रणा गरिहाले। काठमाडौंको उक्त रात्रिभोजमा महाराजकृष्ण रसगोत्रा भारतीय राजदूत भगवान् साह्य मेडम साह्य एवं राजा महेन्द्र र रानी रत्न सहभागी भएको पुस्तकमा उल्लेख गरेका छन्। सन् १९५७ को अन्त्यतिर राजा महेन्द्रले दोस्रो राजकीय भ्रमणमा रसगोत्रा र उनको परिवारलाई दिल्लीको दरियागन्जमा अवस्थित मोती भवनमा निजी रात्रिभोज आयोजना गरे। उक्त भोजमा रसगोत्रा, उनकी        श्रीमती कादम्बरी, राजारानी र रसगोत्राका ससुराली परिवारका सदस्यमात्र सहभागी थिए। यो प्रसंगले राजा महेन्द्रको छिमेकी कूटनीतिको अर्काे पाटोको आकलन गरेको छ।

सन् १९६२ मा चीनसँगको युद्धमा भारत नराम्ररी पराजित भयो। सन् १९६३ मा नेहरुले आफ्ना तत्कालीन राज्यमन्त्री लालबहादुर शास्त्रीलाई (उनी नेहरुपछि भारतका प्रधानमन्त्री बने) नेपाल भ्रमणमा पठाए। रसगोत्राको बुझाइमा नेपाल सरकारले शास्त्रीको उक्त भ्रमणलाई यथोचित सम्मान एवं स्थान दिएन। शास्त्रीको सम्मानमा आयोजित एउटा कार्यक्रममा पनि सांकेतिक रूपले भारतको विरोध गरियो। शास्त्री ‘जवाफ मिल्यो’ भनी कार्यक्रमको बीचैमा उठेर हिँड्न खोजे तर रसगोत्राले शास्त्रीलाई त्यसो नगर्न सुझाए। सन् १९६५ को पाकिस्तानसँगको युद्धमा भने भारतीय पक्षको हात माथि देखियो। राजा महेन्द्रले आफ्ना प्रधानमन्त्री तुलसी गिरीलाई तुरुन्त भारत पठाई नेहरूको साहस एवं नेतृत्व कुशलताको प्रशंसा गर्न लगाए। रसगोत्राले छिमेकीहरूले सहजता र असहजतामा ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’को व्यवहार चरित्रार्थ गर्छन् भनी पुस्तकमा नेपालप्रति व्यंग्यवाण कसेका छन्।

पछि सन् १९७३ मा इन्दिरा गान्धीले रसगोत्रालाई नेपालका लागि राजदूत नियुक्ति गरिन्। रसगोत्रालाई नेपालमा जिम्मेवारी सम्हाल्न पठाउनुअघि इन्दिराले उनलाई भनेकी थिइन्, ‘नेपालका शासकहरू विश्वास गर्न नसकिने खालका छन्। उनीहरू मुखले एउटा कुरा बोल्छन्, व्यवहार अर्कै गर्छन्।’ नेपालका राजादेखि नेतासम्म रसगोत्राको राम्रो पकड भएको कुरालाई संकेत गर्दै उनले सुझाएकी थिइन्, ‘व्यवहार गर्दा कडा हुनू।’ यसले इन्दिरा गान्धीको नेपालप्रतिको मनोविज्ञानलाई उजागर गर्छ। राजनीति र कूटनीति सोचेजस्तो सरल बाटोमा हिँड्दैन। इन्दिरा नेहरुजस्तो नैतिक र बौद्धिक मूल्यबाट निर्देशित राजनीतिज्ञ पनि थिइनन्। उनी रूखो यथार्थवादी एवं महत्वाकांक्षी नेत्री थिइन्। राजनीतिक रसायनका अवयवहरूले इन्दिराको ‘गुंगी गुडिया’रूपी मासुम व्यक्तित्वलाई कठोर ‘आइरन लेडी’मा रूपान्तरण गरिसकेको थियो। नेपाली काँग्रेसका नेता बीपी कोइराला भारत निर्वासनमै थिए। सन् १९७५ मा इन्दिराले भारतको सम्पूर्ण लोकतान्त्रिक पद्धति अवरुद्ध गर्दै ‘इमरजेन्सी’ घोषणा गरिन्। बीपीका नजिकका मित्र जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखर, चौधरी चरण सिंहलगायत धेरैलाई जेलमा कोचिन्। बीपीले के मसिनो आवाजमा विद्रोहको स्वर निकालेथे, यिनै रसगोत्रा लगाएर नेपालको राजाका सरकारलाई बुझाइदिइन्। भनिन्छ बीपीको ‘राष्ट्रिय मेलमिलाप’को स्वदेश फिर्तीमा इन्दिरा गान्धीले राजा वीरेन्द्रसँग तुष्टीकरणको कूटनीति गर्दै थिइन्। इन्दिराले रसगोत्रालाई दिएको निर्देशन आफंैले कार्यान्वयन गरिरहेकी थिइन्। राजनीति र कूटनीतिको चक्रव्यूह यति बलियो जटिल एवं अनिश्चित हुन्छ कि इमानदारीपन र नैतिकता पनि यसको फन्दाबाट सजिलै नउम्कन सक्छ।

रसगोत्रा नेपालका लागि भारतीय राजदूत भए पनि सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्दा दिल्लीतिरै थिए। उनले साउथ ब्लकको कार्यालयमा साथीभाइहरूबाट यसबारे गाइगुइँ सुने। उक्त योजनाबारे इन्दिरा गान्धीबाटै जान्न चाहे। इन्दिराले रसगोत्रालाई ठाडै हकार्दै भनिन्, ‘तिमी नेपालका राजदूतलाई सिक्किमका बारेमा किन अनावश्यक चासो ? ’ सिक्किमका राजा चोग्यालकी अमेरिकी रानी होप कुकले सिक्किमलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन खोजेकाप्रति भारत ज्यादै रुष्ट थियो। नेपालमा सिक्किमको विषयलाई लिएर भारतको तीव्र विरोध भयो। सरकारी सञ्चार माध्यमलगायत ठूलो जनमतले भारतको उक्त कदमप्रति तीव्र आक्रोश व्यक्त गर्‍यो। विरोधको तेस्रो दिन केही आक्रोशित विद्यार्थीले भारतीय सूचनाकेन्द्र र पुस्तकालयमा ढुंगा प्रहार गरे। इन्दिरा, नेहरू हुँदाहुँदा महात्मा गान्धीको पुत्ला पनि जलाइयो। रसगोत्राले उक्त घटनाको परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष कडा विरोध जनाए। त्यसको अर्काे दिन झन्डै तीन सयजना जतिको जुलुसले रसगोत्रालाई दूतावासको मूल गेटमा तालाबन्दी गरी थुनिदियो। आक्रोशित रसगोत्राले परराष्ट्रमन्त्री कार्कीलाई फोनबाट आफूमाथिको आक्रमण तुरुन्त नरोकिए आफू भीडकै सामु गएर सरकारका विरुद्ध राजनीतिक भाषण गरिदिने चेतावनी दिए। उक्त भीडलाई तुरुन्त प्रहरीले नियन्त्रणमा लियो।

रसगोत्राले पनि तुरुन्तै नेपाल सरकारसमक्ष विरोधपत्र दर्ज गरे। भारतले विरोधको संकेतस्वरूप राजदूत रसगोत्रालाई नेपालबाट फिर्ता बोलायो। रसगोत्राले राजासँग भेट गरी घटनाको जानकारी गराए र दिल्ली फिर्ता भए। राजा वीरेन्द्रले तुरुन्तै प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई दिल्ली पठाए। इन्दिरा गान्धीले रसगोत्राकै सामु रिजालसमक्ष आक्रोश व्यक्त गरिन्। नेपाल सरकारले घटनाप्रति क्षमायाचना गर्‍यो। सम्बन्ध केही सामान्यीकरण भयो। रसगोत्रा दुई महिनापछि राजदूतको जिम्मेवारी सम्हाल्न पुनः काठमाडौं फर्कंदा परराष्ट्रमन्त्री कार्की भने पदमुक्त भइसकेका थिए। भारतमा सिक्किमको विलयपश्चात् सिक्किमको दोस्रो पुस्ताले बिर्सिसकेको तर नेपाली राजनीतिको मनोविज्ञानमा अद्यापि जीवित ‘सिक्किमीकरण’को कथा हो यो रसगोत्राले आफ्नो पुस्तकमा लेखेको।

राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकको सन्दर्भ पारेर नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा प्रस्ताव गरे। नेपालका दुई ठूला छिमेकीबीच निरपेक्षताको संकेत थियो त्यो ‘शान्ति क्षेत्र’ प्रस्ताव। चीन र पाकिस्तानले उक्त प्रस्तावलाई तुरुन्तै समर्थन जनाइहाले। यसले भारतलाई झन् बढी सशंकित बनायो। रसगोत्राको बुझाइमा नेपालले कूटनीतिक रूपमा भारतलाई सबैभन्दा असजिलो पारेको प्रस्ताव थियो उक्त ‘शान्ति क्षेत्र’। यसलाई पुस्तकमा उनले ‘अमोघास्त्र’ भनेका छन्। बहुदलीय प्रजातन्त्रको पुनरोदयपश्चात् उक्त प्रस्ताव त्यसै हराएर गयो। नेपालका कुनै पनि ‘राष्ट्रवादी’ले उक्त प्रस्तावको अवसानमा चुँसम्म पनि बोलेनन्। सन् १८९० मा तत्कालीन ब्रिटिस आवासीय प्रतिनिधि मेजर ईएल डुरेन्डले दिल्लीमा आफ्ना विदेशमन्त्री एचएम डुरेन्डलाई नेपालका बारेमा एउटा रोचक टिप्पणी गरे। ‘बेलायत (भारत) सरकारले नेपालप्रति जति उदारभाव देखाए पनि नेपालको दरबारले हाम्रो प्रभाव रोक्न चीनलाई उपयोग नगरी छाड्दैन।’ राजा वीरेन्द्रका एक सल्लाहकारले रात्रिभोजमा हल्का नशाको तालमा रसगोत्रालाई एउटा घतलाग्दो प्रसंग सुनाए। ‘महामहिम हामी भारतविरोधी होइनौं र हुन पनि सक्दैनौं। हाम्रा सामाजिक सांस्कृतिक एवं आर्थिक सम्बन्धले पनि त्यसो हुन दिँदैन। तर कुरा के हो भने हामी अति भारतमुखी भयौं भने हामीले उत्तरी छिमेकीलाई बिर्सिरहेका हुनेछौं।’ रसगोत्राले नेपालको यो मनोविज्ञानलाई ‘डुरेन्ड सिन्ड्रोम’ भनेका छन्। सायद अमेरिकी प्राध्यापक लियो रोजले आफ्नो पुस्तक ‘नेपाल स्ट्राटेजी फर सरभाइभल’मा संकेत गर्न खोजेको पनि यसैलाई होला।

रसगोत्राका पुस्तकमा उल्लिखित यी प्रसंगहरू नेपालसम्बन्धी उनका अनुभव र अनुभूति हुन्। यसले नेपाल र भारतका पाठकलाई छुट्टाछुट्टै सन्देश प्रवाह गर्न खोजेको छ। रसगोत्राको पुस्तक सरसर्ती अध्ययन गर्दा भारत स्वतन्त्रतादेखि वर्तमानसम्म नेपाल–भारत सम्बन्ध उस्तै आरोह एवं अवरोध झेलिरहेको छ। भारत नेपाललाई आफ्नो सुरक्षा कवचको अंग ठान्छ। नेपाल आफ्नो स्वतन्त्र पहिचानमा आँच नआओस् भन्छ। नेपालमा हुने प्रत्येक क्रियाकलापलाई भारतले सुरक्षाको चस्माले अवलोकन गर्छ। नेपालले भारतले गर्ने नेपालसम्बन्धी प्रत्येक क्रियाकलापलाई सार्वभौमसत्ताको मनोविज्ञानले मापन गर्छ। भारतमा सिक्किमको विलयपश्चात् त्रस्त र सतर्क छ नेपाल।

जटिल छ नेपाल–भारत सम्बन्ध। दुवै देशमा ठूलो संख्यामा व्यापार व्यवसाय गर्नेका साथै बसोबास गर्ने ठूलो जनसंख्या छ। खुला सिमाना छ। तराईमा भारतसँग बिहावारीको सम्बन्ध छ। नेपालीहरूको ठूलो संख्या भारतीय सैनिकमा छ। उक्त सुरक्षा निकायको माथिल्लो तहमै नेपालीहरूको पहुँच छ। कार्गिल, दरास र दोक्लाममा गोर्खा राइफल परिचालन भएकै छ। नेपालको भारतसँगको बढ्दो व्यापार घाटा गम्भीर चुनौतीको रूपमा देखा परेको छ। नेपालको महत्वपूर्ण राजनीतिक उथलपुथलमा भारतको परोक्ष एवं प्रत्यक्ष हात छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएको त्रिपक्षीय दिल्ली सम्झौता, प्रजातन्त्र पुनस्र्थापनाका लागि लौहपुरुष गणेशमान सिंहको चाक्सीबारीमा भारतीय नेताहरूको उपस्थिति एवं सन् २००५ को बाह्रबुँदे समझदारीमा पनि भारतको प्रत्यक्ष वा परोक्ष हात देखिन्छ। राजनीति र कूटनीतिमा लागतबिनाको सहयोगको अपेक्षा गर्नु मूर्खता हुन्छ। रसगोत्राका पुस्तकका पाना पल्टिरहँदा पाठकका मनमा उठ्ने प्रश्न के हो भने नेपालको राजनीतिक वृत्तले सहयोगको अपेक्षामा उक्त लागतको कत्तिको ख्याल गर्‍यो होला ?       

भलै आकार र जनसंख्यामा सानै देश भए पनि नेपालको उत्तरी सीमामा अवस्थित भारतीय सुरक्षा चेकपोस्टलाई नेपालले कूटनीतिक माध्यमद्वारा हटाएकै हो। राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्तावले ‘अमोघास्त्र’ प्रहार गरेकै हो। भारतीय नाकाबन्दीपश्चात् नेपालले चीनसँग पारवहन सम्झौता गरेर साउथ ब्लकलाई तरंगित पारेकै हो। रसगोत्राको यो पुस्तक नेपालका लागि भारतीय कूटनीतिक एवं सामरिक चस्मा हो। नेपालको परराष्ट्र मन्त्रालयले उल्लिखित घटनाक्रमको अभिलेखीकरण गरेको छ कि छैन, यकिनका साथ भन्न त सकिँदैन तर नेपालले यस्ता जटिल परिस्थितिहरूको सामना गर्न आफ्ना जनशक्ति संस्था एवं संरचनाहरूलाई भने समयानुकूल परिवर्तन गर्न सकिरहेको छैन।

रसगोत्राका पुस्तकमा ‘पुस्तक कूटनीति’को अर्काे एउटा रमाइलो प्रसंग छ। सन् १९६९ मा रसगोत्रा मोरक्कोबाट अमेरिका सरुवा भए। त्यति बेला राष्ट्रपति रिचर्ड निक्सनका सुरक्षा मामिला सहायक हेनरी किसिन्जर थिए। मोरक्कोकी अधिराजकुमारी लल्लाले रसगोत्रालाई एउटा रात्रिभोजको अवसर पारेर किसिन्जरसँग परिचय गराइन्। त्यसै अवस्थामा रसगोत्राले किसिन्जरले लेखेको पुस्तक ‘ए वल्र्ड रिस्टोर्ड’ पढेको जानकारी गराए। डिनरपश्चात् किसिन्जर रसगोत्राको नजिक आई आफ्ना पुस्तकका बारेमा छलफल गरे। कुराकानीकै सिलसिलामा रसगोत्राले किसिन्जरको अर्काे पुस्तक ‘न्युक्लियर वेपन एन्ड फरेन पोलिसी’को चर्चा गरे। आणविक हतियारको जटिल राजनीतिक एवं सामरिक मुद्दालाई किसिन्जरको उक्त पुस्तकले सहज ढंगले बुझ्न मद्दत गरेको उल्लेख गरे। उक्त वार्तापश्चात् रसगोत्रासँग किसिन्जर कति प्रभावित भए भने उनले रसगोत्रालाई भने, ‘म वासिङ्टनमा कमै मात्र राजदूतहरूलाई भेट्छु। राजदूतभन्दा तलका कर्मचारीसँग त भेट्दै भेट्दिनँ। तर आजबाट तिम्रा लागि मेरो ह्वाइट हाउसको दरबाजा र फोन नम्बर सदा खुला रहनेछ।’ रसगोत्राले पुस्तक पढेर किसिन्जरको मन जितेको ‘बुक डिप्लोमेसी’को प्रसंग हो यो।

प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदी २.० को शपथ समारोहमा सहभागी भई स्वदेश फर्किसकेका छन्। ओलीले शपथ समारोहमा भाग लिइरहँदा नेपालको संविधान घोषणा गर्दाताकाका संविधानलाई स्थगनका लागि दबाब दिन मोदीका विशेष दूतका रूपमा पठाइएका भारतीय पूर्व विदेश सचिव एस जयशंकर मोदी २.० सरकारका विदेशमन्त्रीमा नियुक्त भएका छन्। उनको नियुक्तिलाई लिएर नेपालका सामाजिक सञ्जाल र प्रेसजगत् राम्ररी नै तरंगित भएको छ। भारतीय सामरिक नीतिका बाजजस्ता कौटिल्य के. सुब्रमन्यम्का छोरा डा. एस जयशंकर नेपाल मामिलाका नभई अमेरिका, चीन एवं आणविक कूटनीतिको विशेषज्ञका रूपमा चिनिन्छन्।

विद्यमान परिवेशमा नेपालले भारत, चीन र पश्चिमा शक्ति सन्तुलनलाई कसरी व्यवस्थापन गर्ला भनी कूटनीतिक वृत्तमा गम्भीर चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा पाठकहरूलाई कौतूहल जगाइरहने प्रश्न के हो भने रसगोत्राले नचाहँदा नचाहँदै लेखेको नेपाली कूटनीतिक एवं सामरिक चस्मारूपी सन् २०१६ मा प्रकाशित पुस्तक ‘ए लाइफ इन डिप्लोमेसी’ नेपालको परराष्ट्र एवं सुरक्षा मामिलामा चासो राख्ने कतिले पढे होलान् ?       

पुस्तक : ए लाइफ इन डिप्लोमेसी

लेखक : महाराजकृष्ण रसगोत्रा

प्रकाशक : पेन्गुइन बुक्स, इन्डिया

@Krishna04134696 क्याम्पस प्रमुख, पोखरा मल्टिमोडल क्याम्पस।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.