ट्रक जिन्दगी
यात्राका लागि बनाइएको हो बस, कार। ट्रक त सामान ढुवानीका लागि पो। तर लामो यात्रामा ट्रकमा गुरुहरूसँग बात मार्दै हिँड्नुको मजा पनि बेग्लै हुन्छ। बसको खाना खाने निश्चित होटल हुन्छन्। तर कहिल्यै ख्याल नगरिएका बिसौनीमा रोकिन्छ ट्रक। उनीहरूको दिनचर्या नजिकबाट चियाउन पाउँदा आख्यानको अर्को अध्याय बन्छ।
दुई दशकपहिले दसैंको चटारो थियो। माउ, केटाकेटी सबै दुई साता पहिल्यै गाउँ गइसकेका थिए। समयमा बसको टिकट बुक नगर्दा चमेरे सिटमा झुन्डिएर जानुपर्ने अवस्था थियो। बूढीले फोन गरी, ‘मेरो गाउँको एक जना ट्रक ड्राइभर भाइ काठमाडौंबाट फर्किंदै छन्। ऊसँगै फर्किनुहोला, उसलाई डेराको फोन नम्बर पनि दिएको छु।’ नभन्दै एकछिनपछि ट्रक गुरुको फोन पनि आइहाल्यो। उसले बोलाएको समयमा कलंकी पुगेँ।
मलेखुदेखि मुग्लिनको बाटोमा उसले पाँच ठाउँमा ससानो होटलअगाडि ट्रक रोक्यो। पाँचौंपल्ट रोकिएको स्थानमा अबेर हुने भएपछि उसले खलाँसीमार्फत मलाई बोलाउन पठायो। साहुनी २० लिटरको जर्किनबाट पाँच÷पाँच लिटरको दुइटा जर्किनमा कोदोको झोल खन्याउँदै भन्दै थिइन्, ‘हेर गुरु, रक्सी त मैले तिमीलाई दिँदै छु। तर यो जर्किनको बिर्काे तिम्रो घर पुगेपछि मात्रै खोल्ने सर्तमा।’ गुरुले भने, ‘दसैं मान्न दारु लाँदै छु। कहाँ बाटोमा दसैं मानूँला र !’
त्यस बेला मापसे चेक थिएन। तर सचेत गराउँदै थिइन् होटल साहुनी। रक्सीको पैसा ब्लाउजमा घुसारेर भित्र अलप भइन् साहुनी। एकैछिनमा धपक्क बलेकी साहुनीकी छोरी देखा परिन्। गुरु सिग्रेट तान्दै थिए। खलाँसी अत्याउँदै थियो, ‘जाऊँ क्या गुरु, फेरि रात पर्छ।’
गुरुलाई हतार थिएन, ‘एउटा चुरोट त सकाउन देऊ। लौ लेऊ चाबी, तिमी गाडी स्टार्ट गरेर साइड लगाऊ।’ उसले खलाँसीलाई चाबी दियो। त्यत्तिकैमा साहुनीकी छोरीले खै गुरुलाई कता चिमोटिन्। गुरुले आँखा तर्दै भने, ‘नचल् न भान्जी। ह्याँ मसँग भिनाजु पनि हुनुहुन्छ क्या।’ साहुनीकी छोरीले भनी, ‘भिनाजुलाई पनि चाहिन्छ भने अर्को जुगार पनि छ क्या।’
भर्खर सल्काएको सिग्रेट किचिमिच्च पारेर गुरु उठे। म पनि उनको पछि लुरुलुरु आएँ।
बाटोमा गुरुले आफैं कुरा खोले, ‘दिउँसो भान्जी नाता। राति रातकी रानी बन्छन्। सबै पैसा यिनै आमाछोरीले दुहुने भए हामी ट्रक ड्राइभरका।’
खलाँसी चम्किए, ‘गुरु, दसैं खर्च दिनुपर्छ है यसपालि मलाई। होइन भने सबै पोल गुरुमालाई भन्दिन्छु नि।’
गुरु च्याँट्ठिए, ‘चुप लाग पाजी। हरेक वर्ष दसैंखर्च दिँदै त आएको छु नि। तँ पनि के गतिलो छस् र ? ’
खलाँसी अझै मुडमै थियो। ‘जैसा गुरु वैसा चेला। सबै तपाईंजस्ता ठूलाबडाको संगत त हो नि गुरु’, खलाँसीले लामो अट्टहास गर्यो। म मात्र मुस्कुराएँ।
ट्रक ड्राइभर सालो केटोले भन्यो, ‘हेर्नुस् भिनाजु। रन्डीबाजी नगर्ने, जाँडरक्सी नखाने मेरा साथीहरूले चार÷पाँच वर्षमै पैसा जोगाएर आफूले हाँकेको ट्रकको मालिक भएका छन्। आफू भने तीनवटा मालिक फेरिसकियो। जहाँको तहीँ।’
पैसा जोगाउन उनीहरूले आफैं भान्सा व्यवस्थापन गरेका थिए। बजारको रक्सीले बिगार्छ भनेर आफूले बोकेको घरपाला खाँदै थिए। उता ‘केटी’मा खर्च गर्र्दै थिए। घर सम्झिँदै यात्रा गर्नेहरू ‘घरवाली’को माया किन चटक्क बिर्सिन्छन् ?
दुई वर्षपहिले प्रकाश चौधरीको नाममा फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो। अनुहार चिनेचिनेजस्तो लागेर एसेप्ट गरँे। लगत्तै च्याट गर्यो। ‘मलाई चिन्नुभो भिनाजु ? एकपटक तपाईंलाई काठमाडौंबाट ट्रकमा लिफ्ट दिएको थिएँ नि।’
यात्राको १८ वर्षपछि ऊ फेसबुकमा भेटिएको थियो। मैले उही बाँगोटिंगो लयमा दिनचर्या जारी छ कि ? भनेर जिस्क्याएँ। उसले भन्यो, ‘पाँच वर्ष भयो, यहाँ साउदीमा ट्रक चलाउँदै छु। बन्द, हडताल नभएकाले कमाइ राम्रो छ। जाँड, रक्सी त यहाँ मुखमै हाल्न पाइन्न। अब भने गाडी किन्छु।’ उसको प्रगति सुनेर औधी खुसी लाग्यो। बल्ल उसको ट्रक जिन्दगीले कोल्टो फेरेको थियो।
प्रकाशले तपाईंको गाउँले भाइ लोकबहादुर चौधरीसँगै साउदीमा ट्रक चलाउँछौं भन्ने सूचना पनि दियो। लोकबहादुर उही केटो थियो, जसले म २०६१ सालमा काठमाडौंको पोकापन्तरा बोकेर नेपालगन्ज जाँदा आफ्नो ट्रकमा मेरो सिंगै डेरा उचालेर लगिदिएको थियो। भाडा लिनु त परको कुरा; ख्वाउँदै, प्याउँदै लगेको थियो। यी ट्रक ड्राइभरहरू अहिले पनि बेलामौकामा मसँग स्काइपमा बात मार्छन्। विप्लवको बन्द, हड्ताल सुरु भएकोमा चिन्ता व्यक्त गर्छन्।
२०७१ साउनको पहिलो साता। एउटा संस्थाले सोलार पावरबाट सिँचाइ गर्ने योजनाको सर्वे गर्ने सिलसिलामा म काठमाडौंबाट नेपालगन्ज जाँदै थिएँ। सुर्खेत, कैलाली, दाङ र कपिलवस्तु गरी चार जिल्लाका गाउँघरको कथा बटुल्ने यो सुनौलो मौका थियो। टोलीका एक सदस्य थिए, शंकर चौधरी। कपिलवस्तु, जितपुरका उनी बाइकमा जाने भएकाले सँगै जान म जितपुर झर्न बाध्य भएँ।
बाइकको कान जति बटारे पनि बाँकेको अगैया पुग्दा दिन डुबिसकेको थियो। बाटैमा शंकरले भनेको थियो, ‘दाइ, मेरा गाउँका ट्रक ड्राइभरहरू महेन्द्रनगरबाट फर्किंदै छन्। अगैयामा उनीहरूको खाना खाने योजना छ। सँगै खाने प्रस्ताव गरेका छन्। त्यसै गरौं ल।’
अगैयामा दुइटा ट्रक पहिल्यै अडिएका थिए। अर्को दुइटा ट्रक एकछिनमा आइपुगे।
राजमार्ग छेउको पिच टँसाएर गुन्द्री ओछ्याइएको थियो। हामी गुन्द्रीमा ढसमस्स बस्यौं। यसरी राजमार्गको पाहुना बन्ने अवसर सितिमिति कहाँ पो जुर्छ र ? एक जना आलु ताछ्दै थिए। अर्काे वनमा पाइने च्याउ जातको फुट्की तरकारी धुँदै थिए। चार ड्राइभर, चार खलाँसी, हामी दुई पाहुना गरी दस जनाको खाना कुकरमा बसालिसकिएको थियो।
खाना ग्यासमा पाक्दै थियो। साउनको चिसोमा चुल्हाका लागि ढुंगा जोडेर दाउरा खोज्दै निकै कष्टले खाना पकाएको यो टोलीको पहिलेको अनुभव थियो। स्टोभले पनि धोखा दिँदा अहिले ग्यास चुलो बोकेर हिँड्दा रहेछन्। टोलीका अगुवा गुरु ऋषिराम चौधरी भन्दै थिए, ‘सँगसँगै चार ड्राइभर ट्रक लिएर हिँड्दा सुरक्षित लाग्छ पत्रकारजी। त्यसैले रुट मिल्दा प्रायः हाम्रो साथ छुट्दैन।’
होटलमा चिल्लो पीरो बढी हुने, पैसा बढी खर्च हुने भएकाले यिनीहरू भान्साका सामान बोकेर हिँड्दा रहेछन्। ऋषि भन्दै थिए, ‘यसले दुइटा फाइदा हुन्छ। लगातारको यात्राले थकान मेटिन्छ। थकान मेटाउँदै भान्सा गर्दा तात्तातो घरकै जस्तो खाना पनि पाकिसक्छ।’ पिकनिक जस्तो लाग्ने यिनीहरूको खानाको स्वाद मैले हात चाटी चाटी लिइरहेको थिएँ। यिनीहरूले बाटोको होटलमा पाइने रक्सीमा रासायनिक मलसमेत हालेर बनाइने भएकाले घरबाटै जर्किनमा रक्सी बोक्दा रहेछन्। मचाहिँ अतिथिदेवो भवको सम्मानमा थिएँ।
खाना खाने बेला एकजना गुरु थिएनन्। निकै बेर उनी आएनन्। उनी अनुपस्थित हुनुको कारण अजिबको थियो। बेलुकाको साढे ८ बजेको थियो। रात चकमन्न थियो। यता शराब (दारु)को महफिल थियो, उता शबाबको। अर्थात् ट्रकमा उनी एक षोडसीसँग गुफ्तगु गर्न व्यस्त थिए। उनी लजाउँदै आएपछि अर्को खलाँसी पनि एकैछिनमा गायब भयो।
पैसा जोगाउन उनीहरूले आफैं भान्सा व्यवस्थापन गरेका थिए। बजारको रक्सीले बिगार्छ भनेर आफूले बोकेको घरपाला खाँदै थिए। उता ‘केटी’मा खर्च गर्र्दै थिए। घर सम्झिँदै यात्रा गर्नेहरू ‘घरवाली’को माया किन चटक्क बिर्सिन्छन्। मलाई उदेक लाग्यो।
ऋषिले आजित हुँदै भने, ‘हाम्रो टोलीका एक दुईजना साथी यो (नाक देखाउँदै) मामिलामा अलि बिग्रिएका छन्। बानी नहटाए टोलीबाट बाइकट गर्ने सोच्दै छु।’ कुराकानीको सिलसिलामा उनले आफ्नो नाक संकेत गरेको त महिला जनाउन नाकको फूली देखाएको जनाउ पो थियो।
ती टोलीका अरू ड्राइभर खलाँसी के गर्दैछन्, थाहा भएन। ऋषिराम चौधरीसँग भने वर्ष दिनपहिले काठमाडौंमा अचानक भेट भयो। उनी ड्राइभरी छाडेर कपिलवस्तु, वाणगंगा नगरपालिकाको वडा सदस्य भएका रहेछन्। ‘कम्मरको पीडाले साथ दिएन, नभए ड्राइभरीमै हुन्थेँ कि ? पहिले ट्रक चलाइयो, अब गाउँ र देश चलाउँछु’, उनले मुस्कुराउँदै भने।
यसरी उनको ट्रक जिन्दगी फेरिएको थियो। सानोतिनो गाडी दुर्घटनामा त कति परियो कति। यस्तो भन्ने गुरुले अहिले गाउँको अगुवाइ गर्दा गाउँलाई खाल्टामा नहालून्— उनीसँग बिदाइको हात हल्लाउँदा मैले यही कामना गरेँ।