के भन्छौं होइन, कसरी भन्छौं महत्वपूर्ण कुरा हो

के भन्छौं होइन, कसरी भन्छौं महत्वपूर्ण कुरा हो

अरशिया सत्तार लेखक, अनुवादक, प्राज्ञ र आवासीय साहित्यिक कार्यक्रम हुने संगम गृहकी संस्थापक मात्र होइनन्; भारतमा साहित्यिक पुरस्कार वितरण समारोहमा निरन्तर र अर्थपूर्ण रूपमा देखिने व्यक्ति पनि हुन्। विगत धेरै वर्षदेखि उनले विभिन्न पुरस्कारको निर्णायक मण्डलमा रहेर योगदान गर्दै आएकी छन्। सत्तार भारतको प्रख्यात जीसीबी साहित्य पुरस्कारको निर्णायक मण्डलमा छिन्। साहित्यिक पुरस्कारको मूल्यांकन प्रक्रिया र भारतमा लेखनको अवस्थाबारे सत्तारसँग स्क्रोल डट आईएनले गरेको कुराकानीलाई नीरज लवजूले उल्था गरेका छन्।

 अरशियाजी, तपाईंले आजसम्म धेरै पुस्तकको मूल्यांकन गरिसक्नुभयो। सबभन्दा पहिले मूल्यांकन गरेको पुस्तक कुन थियो ?   त्यति बेलाको अनुभव कस्तो थियो ?       

 म सबभन्दा पहिले निर्णायक बनेको पुरस्कार भनेको शक्ति भट्ट पुरस्कार थियो। सन् २००९ मा त्यो पुरस्कारका लागि बनेको निर्णायक मण्डलमा म पनि थिएँ। मलाई सम्झना भएसम्म त्यही सालबाटै त्यो पुरस्कार दिन थालिएको हो। आजसम्म पनि म त्यस पुरस्कारको निर्णायक मण्डलमा छु। जीत थेयिल र म। निर्णायक मण्डलमा राखिँदा मलाई निकै गौरव महसुस भएको थियो। साहित्यिक पुरस्कारका लागि कसैले मलाई आग्रह गरेको त्यो नै पहिलो पटक थियो। मलाई निकै महत्वपूर्ण अनुभव भएको थियो। दस वर्षपछि त्यति बेलाको अनुभव ठ्याक्कै भन्न गाह्रो छ। तर यी दस वर्षमा यति धेरै पुरस्कारको मूल्यांकनका क्रममा पुस्तकहरू पढेपश्चात् मैले सिकेको कुरा— हामीले आफूलाई होइन, पुस्तकलाई गम्भीरतापूर्वक लिन जरुरी छ। हामीले गल्ती पनि गरिरहेका हुन सक्छौं। हाम्रा साथीहरूको प्रभावमा परेर हामीले गलत निर्णय पनि गर्न सक्छौं अथवा हामीले आफ्नो मनस्थिति परिवर्तन पनि गर्न सक्छौं।

 पछिल्ला केही वर्षमा तपाईं वास्तवमा भारतका लगभग सबै प्रमुख पुस्तक–पुरस्कारको निर्णायक मण्डलमा हुनुहुन्छ। निर्णय प्रक्रियामा सबभन्दा बढी रोचक लाग्ने पक्ष के हो तपाईंका लागि ?   समय र त्यसमा चासोको हिसाबमा यसप्रति कत्तिको आकर्षण बढेको देख्नुहुन्छ ?       

वास्तवमा यसप्रति आम रूपमा चासो बढेको छ। यो त एक प्रकारको सम्मान र गौरव हो। त्यसभित्र धेरै थरी जिम्मेवारी हुने गर्छ। सबै पुरस्कारका निर्णायक मण्डल सदस्यले यस्तै जिम्मेवारीबोध गर्ने र यसलाई गम्भीरतापूर्वक लिने मेरो विश्वास छ। मानिसहरू यो कामलाई विस्मयकारी भनी सोच्छन्। किताब पढ्नुलाई पेसाको रूपमा लिने गरिँदैन। उनीहरूका लागि त यो रमाइलो मात्र हो। पुस्तक पढ्नु रमाइलो हो तर त्यसको अर्थ तपाईंले रमाइलोका लागि पुस्तक पढ्ने भन्ने होइन। किताबले के भनिरहेको छ, के भनिरहेको छैन, के भन्न चाहेको छ अथवा आफूले के भनिरहेको सोच्दै छ भन्नेबारेमा तपाईंले आफ्ना आलोचनात्मक आँखा र कानलाई सधैं चनाखो बनाइरहनु पर्छ। पठनको यो निकै जटिल प्रक्रिया हो। यसले हामीलाई निकै थकाउन सक्छ।

अर्को कुरा, हामी एक वर्षभरिका पुस्तक एकअर्कोको तुलना गर्दै मूल्यांकन गर्ने गर्छौं। हामी सम्पूर्ण समयका लागि होइन, त्यो वर्षको सबभन्दा राम्रो पुस्तकलाई पुरस्कृत गर्ने गर्छौं। त्यसकारण तपाईंले आफ्ना लागि अरू कुनै पुस्तक पढिरहनुभएको भए पनि त्यो किताबलाई एकातिर पन्छाएर मूल्यांकन गर्नुपर्ने पुस्तकमा डुब्नुपर्ने हुन्छ। मेरो अनुभवमा हामीलाई मूल्यांकनका लागि दिइने समयसीमा निकै छोटो हुन्छ। केही महिना (अधिकांशतः दुई महिना)भित्र झन्डै पचासवटा पुस्तक पढ्नुपर्ने हुन्छ। निःसन्देह शक्ति भट्ट र टाटा साहित्य लाइभजस्ता केही पुरस्कारले हामीलाई सूचीकृत पुस्तकहरूमात्र पठाउने गर्छ। त्यसकारण त्यसका लागि हाम्रो समय कम लाग्ने गर्छ तर हाम्रो आलोचनात्मक बुझाइमा अझ गहिराइको आवश्यकता भने पर्छ।

म सबभन्दा बढी रमाउने पक्ष भनेको पुस्तक पढ्नमै हो। हरेक समय नयाँ पुस्तक पढ्न पाइरहेको हुन्छु। हरेक दिन मेरो घरमा नयाँ किताबले दैलो उघारिरहेको हुन्छ। अनि किताब किन्न आफ्नो जीवनको सबभन्दा ठूलो हिस्सा बिताएको मान्छेका निम्ति योभन्दा खुसीको समय के हुन सक्ला ?       

पुस्तकमा तपार्इंको खोजी कस्तो गुणको हुने गर्छ ?       

मैले साहित्यिक पुरस्कारकै लागि मूल्यांकन गर्दा सबभन्दा पहिले हेर्ने पक्ष भनेको भाषाशैली नै हो। भाषा र शैलीले तपाईंलाई आकर्षण गरेको हुनु पर्‍यो। राम्रो कथा पनि नराम्रो पाराले भन्नु ठीक होइन अथवा महान् कथा खराब भाषामा भन्न मिल्दैन। त्यसपछिको अर्को पाटो भनेको कथावस्तु, चरित्र निर्माण, भावुकता, पृष्ठभूमि सबै एकै चोटि आउने गरेका छन्। मेरो लागि कुनै पनि पुस्तकको सबभन्दा महत्वपूर्ण पाटो भनेको त्यो पुस्तक एकातिर बिसाइसकेपछि पनि त्यो मेरो दिमागमा झुन्डिरहन्छ वा रहँदैन भन्ने हो। कुनै किताब ‘सम्झिरहनु’ र झुन्डिरहनु फरक कुरा हो। पुस्तक दिमागमा झुन्डिरहनुको अर्थ सम्झनुभन्दा कमजोर, क्षणिक र नजानिँदो हुने गर्छ। विभिन्न पुस्तकले विभिन्न तरिकाबाट यस्तो प्र्रभाव पारिरहेका हुन्छन्। त्यसकारण पुस्तकको एउटै गुण वा एउटै पक्षका कारण त्यसरी झुन्डिरहेको हुन्न।

पुस्तक पढ्दा तपाईंलाई सबभन्दा दिक्कलाग्दा कुरा के के हुन् ?       

उही, भाषाको कल्पनाहीन प्रयोग, सतही र खराब व्याकरण भएका पुस्तक पढ्दा दिक्क लाग्छ। अहिलेका पुस्तकमा यस्ता समस्या धेरै देखिएका छन्। निकै अब्बल सम्पादकीय क्षमता भएका ठूला प्रकाशन गृहबाट प्रकाशित हुने पुस्तकहरूमा समेत यस्ता त्रुटि देखिने गरेका छन्। तीमध्ये पनि सतहीपना सबभन्दा खराब कुरा हो— त्यो भाषिक सतहीपना पनि हुनसक्छ वा चरित्र र कथावस्तुको सतहीपना। निःसन्देह, संसारमा तीनवटा मात्र कथा छन् र हरेक कथा सयौं भाषामा हजारौं पटक भनिसकिएको छ। त्यसकारण लेखनमा सतहीपना भन्नुको अर्थ राम्रो लेखनको मृत्यु हो। ‘तिमी के भन्छौ ठूलो कुरा होइन, कसरी भन्छौ भन्ने कुराले महत्व राख्छ।’ कुनै पनि कुरालाई पूर्ण रूपमा नयाँ तरिकाले भन्ने सम्भावना निकै कम मात्र छ। त्यसकारण हामीले उही पुरानो कुरालाई गौरवपूर्ण नयाँ तरिकाले भन्नुपर्ने हुन्छ। शास्त्रहरूको अनुवादमा भन्दा राम्रो अरू तरिकाबाट यो काम पूरा हुन सक्दैन। यही मान्यता नै सतही लेखनविरुद्ध मेरो पूर्वाग्रहको स्रोत हुनसक्छ।

 सामान्यतः पुरस्कार छनोटका लागि तपाईं कसरी उपलब्ध पुस्तकको पठन सुरु गर्नुहुन्छ ?       

सबै तरिकाबाट। केहीकेही तरिका त उट्पट्याङ खालको पनि हुन्छ। जस्तै, कतिपय अवस्थामा पुस्तक लेखकको नामको वर्णानुक्रमअनुसार पनि पढ्न सुरु गरिन्छ। वास्तवमा त्यो पूर्णतः उत्साहित बनेको संकेत हो। तर प्रायः गरेर मैले पढिसकेका पुस्तकहरू एकातिर राख्ने गर्छु, त्यसपछि यसअघि नै पुस्तक प्रकाशन गरिसकेका लेखकका वा प्रतिष्ठा कमाइसकेका लेखकका पुस्तक अलग पार्ने गर्छु। त्यस्ता लेखकका पुस्तक म अक्सर गरेर अन्तिममा मात्र पढ्ने गर्छु। म सामान्यतः पहिलो पटक पुस्तक प्रकाशन गरेका लेखकका पुस्तकबाट पढ्न सुरु गर्ने गर्छु। अथवा यसअघि मैले कहिल्यै पनि पुस्तक नपढेका लेखक, मैले कहिल्यै नाम नसुनेका लेखकका पुस्तकबाट पढ्न आरम्भ गर्ने गर्छु। साँच्चै, त्यस्ता पुस्तकले मलाई निकै आश्चर्यमा पार्ने गर्छन्। त्यसपछि म स्थापित लेखकका पुस्तक पढ्ने गर्छु। अनि मैले अघि पढिसकेका पुस्तक दोहोर्‍याएर पढ्ने गर्छु।

यसरी पुस्तक पढ्ने क्रममा म टिपोट बनाउने गर्छु र ती टिपोट मेरो अध्ययन कक्षमा अलग फाइलमा संग्रह गर्ने गर्छु। यो एक प्रकारले भद्रगोल काम पनि हो। तर हामीले एउटा मात्र पुरस्कारका लागि नभई एकभन्दा बढी पुरस्कारका एकैसाथ पढ्ने गर्छौं भने त्यति बेला वास्तवमै यो अर्कै मज्जाको विषय हुन्छ। (प्रायशः समयसीमा तोकिएर पुस्तक मूल्यांकन गरिने भएकाले म त्यसै गर्ने गर्छु।) एउटै कोठालाई दुई भागमा विभाजन गर्नुपर्ने हुन्छ। एकातिर एउटा पुरस्कारका लागि अनि अर्कोतिर अर्को पुरस्कारका लागि। अनि कोठाभरि फरक फरक क्याटागोरीका पुस्तकका चाङ लाग्ने गर्छन्— कुनै मैले पढिसकेका, कुनै पुरस्कारको सम्भावना भएका, कुनै मलाई पक्कापक्की नभएका, अनि सम्भावना नै नभएका सीधै बाकसमा थन्क्याउने गरिन्छ। कुनै पुस्तक म सुत्ने कोठामा पढिरहेको हुन्छु, कुनै सोफामा पढिरहेकी हुन्छु। भान्छामा बाहेक घरका सबै कुनामा म अलगअलग पुस्तक पढिरहेकी हुन्छु। वास्तवमा त्यो दृश्य निकै रोचक खालको हुने गर्छ। चिन्ता त कोही साथी आएर राखिएको ठाउँबाट पुस्तक चलाइदेला कि भन्ने। कसैले यसो पल्टिन पनि मेरा किताब चलाइदिन सक्छन्। कसैले आफ्नो मोबाइल फोन बिसाउन पनि पुस्तक अन्यत्र राखिदिने गर्छन्।

 पुरस्कार मूल्यांकनका लागि तपाईंले आजसम्म सबभन्दा बढी कति चोटिसम्म पुस्तक पढ्नुभएको छ ?       

दुई पटक पढ्नु त असामान्य होइन। मुस्किलले तीन पटक पढिन्छ। कहिलेकाहीँ यस्तो हुने गरेको छ। सूचीमा समाविष्ट पुस्तक दुई पटक पढ्नु त नियम नै मानिन्छ।

 दोस्रो पटक पुस्तक पढ्ने क्रममा पुस्तकप्रतिको धारणा पहिलो पटक बनाएको धारणाभन्दा पूर्ण रूपमा परिवर्तन भएको कुनै अनुभव छ कि ?       

 धेरै पटक भएको छ, विशेषतः विजेताको निधो गर्न पढ्ने क्रममा यस्तो हुने गरेको छ। सम्भावित विजेता पुस्तकको सूची तयार गर्ने क्रममा पनि यस्तो भएको छ। जीत र म धेरै पटक यसरी तलमाथि गरेका छौं। हामी एकअर्कोलाई फलाना पुस्तक, ढिस्काना पुस्तक फेरि पढ्न आग्रह गर्ने गर्छौं। एकै पटक पढेर विजेता घोषणा गरेको त एउटै मात्र उदाहरण छ। सन् २०१४ मा जब साइरस मिस्ट्रीको पुस्तक ‘क्रोनिकल अफ ए कप्र्स बियरर’ले डीएससी पुरस्कार जितेको थियो।

 पुस्तक परिचय, पुस्तक समीक्षा अथवा अरू प्रचारबाजीका गतिविधिबाट तपाईंले गर्ने निर्णय कत्तिको प्रभावित हुने गरेको छ ?       

साँच्चै भनूँ, कत्ति पनि प्रभाव पर्दैन। पुस्तक समीक्षा, प्रचारबाजी वा बजार प्रवद्र्धनबाट नबहकिएर आफ्नो स्वतन्त्र बलियो विचार बनाउन सक्ने भएकैले हामीलाई मूल्यांकन गर्ने जिम्मेवारी दिइएको हो। प्रायशः हल्ला नगर्ने मौन तर राम्रो पुस्तकलाई प्रकाशमा ल्याउनु र त्यो पुस्तकमाथि हुनुपर्ने ध्यान आकर्षण गर्नु नै हाम्रो दायित्व हो।

 केही प्रकाशकले आफूले प्रकाशन गरेका ठूला पुस्तक हार्ड कभरसहित डिजाइन र कागजको गुणस्तरमा समेत निकै ध्यान दिएर प्रकाशन गर्ने गरेका छन्। के पुस्तकको आवरण र साजसज्जा, कागजको गुणस्तरले मूल्यांकनमा प्रभाव पार्छ ?       

अवश्य। कुनै पुस्तकको आवरणले निकै असर पर्ने गर्छ। कम्तीमा मेरो लागि त्यसको ठूलो महत्व छ। तर त्यसको अर्थ बाक्लो हार्ड कभर र चिप्लो आवरण भने होइन। कागजको गुणस्तर र सफा अक्षर (फन्ट)ले भने पक्कै प्रभाव पार्ने गर्छ। कागज र अक्षरले पुस्तक पढ्न सजिलो बनाउँछ। राम्रो कागज र सफा अक्षर भए किताब पढ्न निकै सजिलो हुन्छ। किताबमा केन्द्रित हुन सकिन्छ। कागज निकै पातलो भयो भने त अर्को पानाका अक्षरसमेत पढ्ने क्रममा देखिन्छ। पातलो कागजले ब्रान्डिङ कमजोर बनाउँछ। सफा अक्षर पनि निकै महत्वपूर्ण हुने गर्छ। कुनै मुद्राराक्षस हुन भएन, सम्पादन नराम्रो हुन भएन। कुनै व्याकरणीय वा शाब्दिक गल्ती हुन भएन। मूल पाठ भएका पृष्ठमा पाद टिप्पणी हुन भएन। साथै खाना वा पेय पदार्थ, लुगा र आफन्तजनका लागि कुनै स्थानीय शब्द राखेर फोहोर बनाउन भएन। प्रकाशकले यी सबैमा ध्यान दिन आवश्यक छ। यसो गर्दा आवरण जस्तोसुकै भए पनि पुस्तकभित्र मूल पाठ हुन्छ र त्यो निकै मन छुने बन्छ।

तपाईंले रुचाउनुभएका पुस्तक कतिपटक पुरस्कृत भएका छन् ?       

आश्चर्य लाग्छ, साँच्चै मैले रोजेका पुस्तकले नै प्रायशः पुरस्कार पाउने गरेका छन्। सधैं मैले छानेकै पुस्तक पुरस्कृत हुने कुरा गर्दा त अतिरञ्जना होला। राम्रो पुस्तक आखिरमा राम्रो पुस्तक हो र सामान्यतः सबै मूल्यांकनकर्ताको मूल्यांकनमा त्यो उत्कृष्ट पुस्तक नै हुने गर्छ। मूल्यांकनकर्ताले तयार पार्ने पुस्तक सूचीमा प्रायः एकअर्कोको छाया देखिने गर्छ। विजेता छान्ने समयमा भने केही तानातानजस्तो पनि हुने गर्छ। तर म भाग्यमानी छु, त्यस अर्थमा कि मैले सही गरेको कुनै पनि पुस्तकका लागि मैले बेखुसी हुनु परेको छैन।

 पश्चिमा देशहरूमा त्यहाँका उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको मूल्यांकनकर्तामा नृत्यांगना, चलचित्र निर्माता, दार्शनिक र अझ चर्चित चलचित्रका स्टारहरूसमेत राखिने चलन छ। तपाईंलाई के भारतको पुस्तकलाई दिइने पुरस्कारको हकमा पनि यस्तै हुनुपर्छ भन्ने लाग्छ ?       

 अहँ, लाग्दैन। मेरो विचारमा पुस्तकको मूल्यांकन साहित्यिक क्षेत्रमै अभ्यस्त केही मानिसको समूहबाट हुनुपर्छ। हामीकहाँ हुने साहित्यिक महोत्सवहरूमा हामीले धेरै चलचित्रका स्टार र राजनीतिक नेताहरू देखिरहेका छौं। उनीहरूले त्यहाँ साहित्यबाहेक सबै विषयमा कुराकानी गर्ने गर्छन्। अर्को कुरा, राम्रो पुस्तक छनोट गर्न नै विशेष मूल्यांकन समिति हुन आवश्यक छ। बजारमा चलेको वा प्रचारमा आएको पुस्तक भएकै कारण कुनै पुस्तकलाई मूल्यांकनमा पारिनु ठीक होइन। न मलाई कुनै नाच प्रतियोगितामा निर्णायक बनाउनु ठीक हो। हामीकहाँ सबै पुस्तकलाई दिइने पुरस्कार साहित्यिक पुरस्कार नै हो। त्यसकारण मेरो विचारमा ती पुरस्कारको मूल्यांकन समितिमा साहित्यिक क्षेत्रकै व्यक्तित्व रहनु आवश्यक छ। जीवनका अरू क्षेत्रका विज्ञ र स्टारहरूभन्दा साहित्य क्षेत्रका मानिसको संलग्नता राम्रो हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.