त्यो बन्दी भएर बाँच्नेले जान्दछ...
यो वैशाखमा करिब एक महिना हिरासतमा बसेका एक कवि, पत्रकारको मनमा के खेले ? यहाँ प्रस्तुत छ उनको संवेद्य अनु–भव/भूति :
देशभित्रै भएर पनि निर्वासितजस्तै छु म
घरभित्रै भएर पनि बन्दीजस्तै छु म
खबरहरू पनि प्रतिबन्धित छन् यसअघि घडी
मौलिक हकहरूजस्तै आज निलम्बित छु म
खडेरीले खाएको छ गाउँ–बस्ती, हरियालीहरू
यी उजाड बस्तीहरूलाई
गुल्जार प्रदेश कसरी भनूँ म ?
-कृष्ण सेन ‘इच्छुक’
नेपाली सांस्कृतिक आन्दोलनका महान् सहिद कवि कृष्ण सेन ‘इच्छुक’ले यो कविता लेखेको एउटा युग भइसक्यो। महेन्द्र पुलिस क्लबमा चरम यातनासहित हत्या गरिएका इच्छुकको सम्भवतः जीवनकै अन्तिम कविता पनि हो यो। इच्छुकको बलिदानीले नेपाली जनतालाई गणतन्त्र दियो। आज त्यही गणतन्त्रमा फेरि पनि हुकुमीतन्त्र चल्दै छ।
तपाईंहरूलाई म एउटा दुःखद हिरासतयात्राको अनुभूति राख्न लागिरहेको छु। यो अनुभूति राख्दा मेरो मन अमिलो भइरहेछ, दुःख लागिरहेछ। लाज पनि लागिरहेछ। मनभित्र अनेकौं भावना सल्बाइरहेका छन्। कम्युनिस्ट शासनले उखानटुक्कासँगै समाजवादका रुमानी सपनाहरूको खेती गरिरहेको बेला म पक्राउ परेँ। कम्युनिस्ट विचार राखेको आधारमा, वामपन्थी पुस्तक पढेको आरोपमा, माक्र्सवादी कविता लेखेको आरोपमा। खित्का छोडेर हाँस्न मन लाग्ने खालको छ आरोप, कतै चित्त दुखाएर खिन्न हुनुपर्ने खालको पनि।
सदाझैं यो वर्षको वैशाख २ गते नयाँ वर्षको ताजापनसँगै निदाएर ब्यूँझेको छ, काठमाडौं। त्यो दिन बिहान म सामाजिक सञ्जाल हेर्दै साथीहरूको विचार पढ्दै थिएँ। कोठामै थिएँ। एकाएक पुराना मित्र नारायण ढकालले फोन गरे। उनले अस्ति चिया खाएको होटेलमा भेट्न आग्रह गरे। राजनीतिक–वैचारिक क्षेत्रमा रुचि राख्ने नारायण मेरा पुराना मित्र हुन्। पछिल्लो समय उनीसँग मेरो संगत पनि हुँदै आएको छ। यसैले उनले भनेको ठाउँमा गएँ। त्यहाँ अटलजी र अर्का एकजना खड्का थर भएका साथी पनि थिए। हामी सबै माओवादी आन्दोलनबाट आएकाहरू थियौं। अहिले भने फरक धारमा थियौं। हामीले प्रयोग गर्ने भाषामा एकरूपता थियोे। यसैले हामी राजनीतिक गफ गर्न थाल्यौं। मैले लेख्दै गरेको एउटा लेख नारायणजीलाई देखाएँ, जुन लेख यसरी सुरु गरेको थिएँ ः
नेपाली राजनीतिमा विकसित पछिल्लो घटनाक्रमले देशलाई प्रश्नहरूको कठघरामा उभ्याइदिएको छ। प्रश्नहरूले काठमाडौंलाई बढी घोचिरहेको छ। त्यसपछि अरू सहर र गाउँलाई घेरिरहेको छ। काठमाडौंमा जे भए पनि त्यसको प्रतिक्रिया तीव्र हुन्छ। यसो भन्न सकिन्छ-काठमाडौं प्रतिक्रियावादी छ। बढी जानकारहरू, जिज्ञासुहरू यतै धेरै भएकाले यस्तो भएको हुनसक्छ।
कतै अर्को त्रासद युद्ध त देशले भोग्नुपर्ने होइन ? अब नेपाली राजनीति कता जान्छ ? के हुन्छ ? समाजमा प्रश्नहरू छन्। जिज्ञासाहरू छन्। डर–त्रास छ। अन्योल पनि छ। विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धसँगै नेपाली समाज एकचोटि केही भय र केही आशा एवं प्रश्नसहित कठघरामा उभिएको छ। यस्तै।
लेखबारे छलफल हुँदै गर्दा एउटा छ फिट अग्लो व्यक्ति चुरोट खाने बहानामा हाम्रो छेउमा आएर बस्यो। ऊ घरिघरि उठ्ने, घरि बस्ने गरिरहेको थियोे। दारी पालेको थियोे। फेसबुकमा चर्चित ‘दारी ग्याङ’को सदस्यजस्तो पनि लाग्थ्यो। उसमा तीव्र छट्पटी थियोे। डर प्रस्ट देखिन्थ्यो। मलाई त्यो व्यक्तिप्रति शंका लाग्न थाल्यो। म उसको गतिविधि नियाल्न थालेँ।
चिया आएको थिएन।
एकाएक अटलजीले काभ्रेमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’को गिरफ्तारीको कुरा उठाए। छफिटे मनुवामा झन् छटपटी सुरु भयो। ऊ झन् लामो सास तानेर चुरोट पिउन थाल्यो। मैले गफको सिलसिलालाई नयाँ दिशामा लगेँ। मैले नारायण ढकाललाई भनेँ, ‘मित्र, मैले तपाईंको मीतको कथा पढी सिध्याएँ नि। लाङटाङ यात्रामा देखेको–भोगेको यथार्थलाई मूलपानीवासी वरिष्ठ प्रगतिशील कथाकार नारायण ढकालले कसरी आफ्नु कथामा ढाल्न सके, म दङ खाएको थिएँ।’
कुरो कथाको थियोे। अर्थात् नारायण ढकालको नवीनतम कथासंग्रह इन्द्रजालको। मलाई इन्द्रजाल कथाले छुट्टै प्रभाव पारेको थियोे। त्यही कुरा मैले त्यहाँ बताएको थिएँ। विशेषगरी नारायण ढकाल (विज्ञान) लाई।
चिया आयो करिब आधा घण्टामा।
त्यो चुरोट खाएर व्यग्र छट्पट गरिरहेको मनुवा त रहेछ गुप्तचर। कसरी ससाना सूचना समेट्ने र आफ्नो समूहमा प्रवाहित गर्ने भनेर चिन्तित र भयग्रस्त भइरहेको।
दुई घुट्की चिया खानेबित्तिकै एउटा समूहले घेरिहाल्यो।
एउटा चारफिटे मनुवाले मेरो हातमा हतकडी लगाइहाल्यो। नारायणजीको टोली डराएजस्तो देखिन्थ्यो। बाहिर गइहाल्नुस् भनेर त्यो टोलीलाई बाहिर पठाइयो। सीआईएले अलकायदाको लडाकु भेटेजस्तै मलाई भेट्दा उनीहरूमा एकाएक खुसी छाएको थियोे। एउटाले हतियार देखाएर सोध्यो, ‘विप्लवको कुन तहको कार्यकर्ता होस् तँ !’
चारफिटेले मोबाइल निकालेर भिडियो खिच्दै भन्यो, ‘तपाईं विप्लवजीको ताम्सालिङ राज्य, ३ नम्बर प्रदेशको प्रवक्ता हो भन्ने हामीसँग सूचना छ। हो भन्नुस्। कारबाही कम हुन्छ। होइन भन्दा तपाईंलाई नै गाह्रो पर्छ।’
छेउमा बसेको पातले भन्दै थियो, ‘तपाईंले जेलमा धेरै बस्नु पर्दैन। वार्ता हुँदै छ। विप्लवजी गृहमन्त्री बन्दै हुनुहुन्छ। तपाईं सबै कुरा खुलस्त भन्नुस्, केही फरक पर्दैन।’
त्यसपछि हूलबाट अनेकौं स्वर सुनिन थाले—
– हामीसँग तपाईंका बारेमा धेरै सूचना छन्।
– तपाईं विप्लवका बारे कस्तो राम्रो कविता लेख्नुहुन्छ है ?
– उहाँ त विप्लवको फोटो टाँसेर पत्रिका पनि निकाल्नुहुन्छ।
– तपाईंजस्तो बौद्धिक मान्छे यस्तोमा लागेर हुन्छ त ?
– नेताज्यू, भन्नुस् न सत्य कुरा।
मैले उनीहरूतिर हेर्दै भनेँ-सत्य कुरा यही हो, म कविता लेख्छु। प्रगतिशील विचारधारा मेरो रुचिको विषय हो। म यसको पक्ष लिन्छु। विप्लव नेतृत्वको नेकपा राजनीतिक शक्ति भएकाले प्रतिबन्ध लगाउनु गलत हो भन्दै आएको छु। म ताम्सालिङ राज्यको प्रवक्ता होइन। कविता लेखेको कुरा सत्य हो। सत्य र निष्ठाका पक्षमा बोलेको कुरा पनि सत्य हो। कविता लेख्नु, राजनीतिक विचारमा आस्था राख्नु, आफूलाई लागेको कुरा शिष्ट भाषामा बोल्नु नागरिकको अधिकार हो। यो मौलिक हक पनि हो। यो अभिव्यक्ति स्वतन्त्रताको कुरा हो। नेपालमा विभिन्न समयमा भएका जनसंघर्षहरूले अभिव्यक्ति स्वतन्त्रताको हकलाई स्थापित गरेका छन्। अहिले संविधानमा त यो हकलाई झन् प्राथमिकता दिने भनिएको छ।
मैले निर्धक्क बोलेपछि उनीहरू ट्वाँ परे। एउटा ठूलो समूहले मलाई घेराउ गरिसकेको रहेछ। विगत केही दिनदेखि निरन्तर रूपमा निगरानी बढाइएको रहेछ। चारफुटेले भन्यो, ‘गुम्बानेरको चिया पसलमा अस्ति नै समाउने योजना थियोे। फुत्किहाल्नुभयो।’
मलाई अनौठो लाग्यो। नारायणजीसँगै अस्ति पनि त्यो गुम्बानेरको होटेलमा चिया पिएको थिएँ। माओवादी कम्युनिस्ट केन्द्रको हुँ भन्ने अटलजी पनि सँगै थिए। त्यहाँसम्म गुप्तचर कसरी आइपुगे ? सूचना कसले दियो ? यो संयोग, काकताली वा नियोजित के हो ?
चारफिटेले फेरि भन्यो, ‘त्यो टोली पनि हाम्रो निगरानीमा छ। त्यो समूहले सरकारसँग वार्ता गर्दै गरेको भएर मात्र छोडिदिएको हो।’
मलाई झन् शंकाले घेर्यो। सामान्य मान्छेहरूको अखडा रहेको यो सुनसान होटलसम्म गुप्तचरको यो जम्बो टोली कसरी आइपुग्यो ? उनीहरूलाई कसले सूचना दियो। मोबाइल ट्राकिङ गरे भनूँ भने मेरो मोबाइल प्रायः बन्द नै रहने गथ्र्याे।
उनीहरू युद्ध र आन्दोलनसम्बन्धी जासुसी गर्ने सशस्त्र प्रहरीको विशेष फोर्सका मान्छे रहेको कुरा कतैबाट सुनियो। तर उनीहरू यहाँसम्म कसैले सूचना दिएर आएको कुरा पनि गरिरहेका थिए। म पक्राउ परेको स्थल मनमैजु हिलेटोल महानगरीय प्रहरीवृत्त बालाजुअन्तर्गतको क्षेत्र हो। स्वाभाविक प्रश्न थियो, वृत्तका प्रहरी नआएर मलाई पक्राउ गर्न सशस्त्रका मान्छे किन आए ? मेरो मनमा अनेकौं प्रश्न उठे।
अन्ततः भ्यानमा आयो, सशस्त्र औद्योगिक गुल्म भनिने बालाजुको। मलाई भ्यानमा राखियो।
मनमा चिसो पस्यो। बिनापक्राउ पुर्जी, बिनासूचना मोबाइल खोसेर मलाई के गर्न खोजिँदै छ ? कतै बेपत्ता पारिने त होइन ? विगतमा माओवादी भएको आरोप लगाएर राज्यले हजारौं नागरिक बेपत्ता बनाएको छ। आज पनि त तिनका आफन्त कि लास कि सास चाहियो, खै उनी कहाँ छन् भन्दै ब्यानर बोकेर आन्दोलन गरिरहेका छन्।
एक प्रकारको त्रासदीले छोप्यो।
सशस्त्र प्रहरीको औद्योगिक गुल्ममा पुगेपछि केही राहत महसुस गरेँ। डीएसपी र इन्स्पेक्टरसँग राम्रै संवाद भयो। अभिव्यक्ति स्वतन्त्रताको अभियानमा लागेको र कलमको शक्ति सकिएको छैन भनेर विश्वास राख्ने व्यक्ति भएकाले आफूलाई बेपत्ता नबनाउन मैले अनुरोध गरेँ। केही बेरमा पक्राउ पुर्जी पनि आयो। फोन गर्ने वातावरण पनि मिल्यो।
सशस्त्रको कागजी प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीका इन्स्पेक्टर ईश्वर थापाले भने, ‘कविजी, तपाईंको कोठा खानतलासी गर्नुपर्यो।’
यसका लागि इन्कार गरिनँ। राजी भएँ।
त्यसपछि नेपाल प्रहरी र सशस्त्रको भ्यान मेरो कोठा खानतलासीका लागि हिँड्यो। गुप्तचर टोलीसहितको त्यो ठूलो फौज नेपालटार हिलेटोलस्थित मेरो कोठामा पुग्यो। स्थानीय जनतामा के भयो ? प्रहरी किन आयो भन्ने खालको जिज्ञासा थियोे।
खानतलासी सुरु भयो। इन्स्पेक्टर ईश्वर थापासहितको टोलीले मेरो कोठामा खानतलासी गरे।
कोठामा पुग्दा स्थानीय जनता पनि उपस्थित थिए। घरधनी आमा पनि हुनुहुन्थ्यो। प्रहरी आएको देखेर उहाँ पनि छक्क पर्नुभएछ। उहाँले भन्नुभयो, ‘बाबुजस्तो इमानदार मान्छेलाई गिरफ्तार गर्नु गलत हो। बिरामी भएर भर्खरै उठ्नुभएको। उहाँ त्यस्तो राज्यद्रोही होइन, बरु देशलाई माया गर्ने मान्छे हो।’
उहाँको कुरालाई प्रहरीले किन मान्थे ? उनीहरूले आफ्नो काम जारी राखे।
मेरो कोठामा बादल–प्रचण्डहरूको हेटौंडा महाधिवेशनको दस्तावेज भेटियो। गोपाल किरातीको राजनीतिक प्रतिवेदन भेटियो। नौलो बिहानी मासिकका अंकहरू, रातो खबर साप्ताहिक, समर प्रतीकलगायत पत्रिकाहरू भेटिए। घनश्याम भुसाल, चैतन्य मि श्र, राम कार्कीसम्मका लेख भएका जर्नल पनि भेटिए। मेरो सम्पादन–प्रकाशनमा आइरहेको प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत रातो हिमालका धेरै अंक जफत गरियो। कम्युनिस्ट विचार बोक्ने अरू धेरै पत्रिका र पुस्तकहरूका कारण मलाई राजद्रोहको मुद्दा लगाउन सजिलोे भयो।
मलाई लगाइएको मुद्दाको शीर्षक थियो-राज्यविरुद्ध अपराध (राजद्रोह)। सरकारविरुद्ध रहेका जोसुकैलाई लगाउन सकिने यो मुद्दाको नेपाल सरकार नै वादी हुने गर्छ। नेपाल प्रहरीले प्रतिवेदन बनाउने, सरकारी वकिलले त्यो प्रतिवेदनलाई झन् कसिलो बनाउने र अदालतमा मुद्दा दर्ता गर्ने।
राज्यको सम्पूर्ण शक्ति लगाएर बनाइएको मुद्दामा एउटा व्यक्ति लड्नुपर्ने बाध्यता थियोे। यो कुनै राजनीतिक विचारधाराप्रति आस्था राखेको र प्रगतिशील साहित्य पढेको–लेखेको चर्को मूल्य थियोे। एउटा निःशस्त्र नागरिकसँग राज्य कति धेरै त्रस्त छ भन्ने नमुना थियोे।
मसँग भेटिएको सबुद प्रमाण भनेका तिनै पुस्तक र पत्रपत्रिका थिए। नेपाली कम्युनिस्ट आन्दोलनका आरोह–अवरोहका विम्ब बोक्ने ती किताब आज किन प्रतिबन्धित भए ? रातो रङ मन पराउने र रातो रङको रक्षाका लागि हिटरमा पिसाब फेर्दै भैरवनाथ गणको कष्टसाध्य कहर भोग्ने कमरेडहरूले चलाएको यो सरकारलाई किन डर लागिरहेछ विचारदेखि ? जनताका कवितादेखि ? फेसबुक स्टेटसदेखि ? जनपक्षीय पत्रपत्रिकादेखि ? !
सोच्न बाध्य भएँ। सायद सत्ता भनेको आफूविरुद्ध रहेकाहरूलाई दमन गर्ने विचारधारा हो। पँजीवादी सत्ताले जनवादीहरूलाई दमन गर्नु नौलो कुरा होइन।
एउटा लोकप्रचलित भनाइ छ-कानुन भनेको कुलीनहरूले भुइँमान्छेहरूलाई दमन गर्ने हतियार हो। आफैंले भोग्दा होजस्तो लाग्छ किनकि निर्मलाको हत्यारा यतै कतै सेल्फी हानेर हतारहतार मुहार पुस्तिका (फेसबुक)मा प्रवाह गरिरहेछ। प्रहरी हत्यारा पत्ता लगाउन सक्दैन। शर्मिष्ठाका हत्याराहरू जनकपुरधामभित्रै सत्तावरिपरि ढलिमली गरिरहेका छन्। एअरपोर्ट आइपुगेका सुनका लाप्राहरू छिनभरमै पित्तल हुन्छन्। नेपालको सुरक्षा निकाय चुप बस्छ। देशमा वाइडबडी जहाज खरिदका नाममा यत्रो खेलोमेलो भयो। खोइ त यसको दोषी पत्ता लागेको ?
मजस्ता निर्दोष नागरिकहरू भने यो सकस र कहर भोगिरहेका छौं। कहिले, कहाँ अपहरण शैलीमा पक्राउ परिन्छ, कहिले के हुन्छ भन्ने डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ।
सशस्त्रले बनाएको प्रतिवेदन पेलेर बनाएको भान हुन्थ्यो। सरकार र गृह प्रशासनको आदेश मानेर नै प्रहरी यस्तो प्रतिवेदन बनाउन उद्यत छ भन्ने कुरा प्रस्ट थियोे। मलाई लगाइएको आरोप संगीन थियोे। विभिन्न सञ्चार कम्पनीको टावर सल्काएको, विभिन्न ठाउँमा आगजनी गरेको, चन्दा असुलीदेखि जनमानसमा त्रास उपन्न गरेको समेतका आरोप थिए। यी आरोपलाई प्रमाणीकरण गर्न नेपाल प्रहरीले जफत गरेका पुस्तक मात्र थिए। मेरो कविता र स्टेटस थियोे। मलाई विश्वास थियोे, म निर्दोष छु र मैले न्याय पाउनुपर्छ भन्ने कुरामा।
त्यसपछि हिरासत कक्षमा पुगियो। नेपालका हिरासत कक्षहरू आधारभूत रूपमा नै अमानवीय लाग्छ। महानगरीय प्रहरी वृत्त बालाजुको त्यो हिरासत कक्ष बाख्राको खोरजस्तै लाग्यो मलाई। सानो कोठा। कोठामै टाँसिएको ट्वाइलेट। ट्वाइलेटले फ्याँकिरहेको दुर्गन्धित ग्यासले मानव सभ्यतालाई नै खिसी गरिरहेजस्तो लाग्थ्यो। एउटा जार। जारमा रहेको थोरै पानी। जुम्रा र उडुसको बासस्थानका रूपमा रहेका ससाना ब्ल्यांकेटहरू। खोरभरि खाँदिएका मान्छे। हाम्रो देशको सरकारी समाजवाद अर्थात् दलाल पुँजीवादलाई कति खिस्याउला यो अवस्थाले !
सास पनि कसरी फेर्ने भन्ने सकस हुन्थ्यो। मुस्किलले पाँच जना अट्ने त्यो सानो कोठामा पन्ध्र जनाभन्दा धेरै खाँदिएर सुत्नुपर्ने बाध्यता थियोे। ज्यादै अमानवीय लाग्ने।
निद्रा लाग्न खोज्छ, बाहिर हल्ला सुरु भइहाल्छ। छिनछिनमै मान्छेका हूल ल्याउने गथ्र्याे प्रहरी। हल्ला कम भएपछि आँखा लोलाउन खोज्छन्। उडुस आफ्नो आहारा खोज्न आइपुगिहाल्छ। जाँडरक्सी छुँदै नछोएको मान्छे, देशी मल मिसिएको रस पिएका ‘ब्रो’हरूको गन्ध उस्तै दिक्क लगाउने खालको। सानो कोठाबाट मैले हठात् सम्झेँ इच्छुकको अर्को जोडदार कविता ः
कति प्यारो हुन्छ
उन्मुक्तिको तीव्र चाहना
कति सुन्दर लाग्छ
स्वतन्त्रताको उत्कट भावना
त्यो बन्दी भएर बाँच्नेले जान्दछ
स्वतन्त्र उड्ने पन्छीलाई
सुनकै पिँजराभित्र थुने पनि
त्यो उसका लागि बन्धन नै हुन्छ
२०५६ सालमा महान् सहिद कृष्ण सेन ‘इच्छुक’ले सिरहा कारागारमा यो कविता लेख्दा वैशाख महिना नै थियोे। यो महिना पनि वैशाख नै हो। फरक जेल र हिरासत हो। उहाँले र मैले भोगेको दुःखको प्रकार त फरक होला तर दुःखाइ भने एकै छ।
दिनहरू बितिरहेका छन्, जसरी हामी नेपाली खुला जेलमा कष्टसाध्य जीवन भोगिरहेछौं। दुःख, भोक, थिचोमिचो, भेदभाव र उत्पीडनले ग्रस्त हाम्रो जीवन नै खुला हिरासत हो, खुला जेल हो। हामीलाई यो राज्य सधैं कैदीको व्यवहार गर्छ। दलाल पुँजीवाद नामका उडुसहरू टोकिरहन्छन्, रगत चुसिरहन्छन्। हिजो मालिकहरू थिए। आज कम्पनीहरू छन् जसले हाम्रो आकाश खोसिरहेछन्। हाम्रो स्वतन्त्रता खोसिरहेछन्। उज्यालो भविष्य खोसिरहेछन्। मेरो मनमा यस्तै भावना आइरह्यो तर म निराश भइनँ।
म पक्राउ परेपछि धेरै साथीले रिहाइको माग गर्नुभयो। विशेषगरी लेखक–पत्रकार–कलाकारहरूले गर्नुभएको पहल निकै अर्थपूर्ण रह्यो। खगेन्द्र संग्रौलाले गर्नुभएको ट्विट निकै महत्वपूर्ण रह्यो। ज्वालामुखीदेखि गौतम राईसम्म आफ्नो ठाउँबाट जोडदार रूपमा लाग्नुभयो। पहिचानवादी लेखक राजन मुकारुङ, युग पाठक, आहुति, वरिष्ठ प्रगतिशील स्रष्टा नारायण ढकाललगायतले सडकमा उभिएर बोलिदिँदा मलाई छुट्टै आत्मगौरव अनुभूत भयो। धेरै लेखकले रिहाइका लागि अर्थपूर्ण पहल गर्नुभयो। यो नेपालको स्वतन्त्रताको अभियानमा महत्वपूर्ण हो भन्ने लाग्छ। युवा समीक्षक/लेखक सरोनरजीको महत्वपूर्ण बौद्धिक स्टेटसले पनि मलाई ऊर्जा दियो। कवि चन्द्रवीर तुम्बापोले जिल्ला अदालतनेर बसेर वाचन गरेको खुलिबिन्दाङ कविता प्रहरीले पनि चाख मानेर सुनेको देखियो। हाम्रो अभियान र आन्दोलनभित्रैबाट माक्र्सवादी स्रष्टा एवं सांस्कृतिक अभियन्ता अशोक सुवेदी, प्रगतिशील युवा कवि बीपी विद्रोहीले जुन खालको साथ, सहयोग र हौसला दिनुभयो, त्यो निकै महत्वपूर्ण रह्यो।
यो सानो आलेखमा सबै साथीको नाम लिन सम्भव नहोला। पाँच सय जनाभन्दा बढी शुभचिन्तक मलाई भेट्न हिरासतमै पुग्नुभयो। शुभेच्छा व्यक्त गर्नुभयो।
हिरासत कक्षमा दुःखका चाङ छन्। चिसो छ। पानी चुहिन्छ। लुगाहरू उस्तै फोहोर छन्। बालाजुको लोकल माइक्रोदेखि टिपरसम्मले फ्याँकेको धुवाँ र धुलो नाकसम्म आइपुग्छ। उकुसमुकुस हुन्छ। यता छाम्यो भित्ता, उता हेर्यो भित्ता। दिन उराठ लाग्छ। रात निसास्सिँदो हुन्छ।
हिरासतमा कहिलेकाहीँ सन्तोष लामा गीत सुसेल्छन्-माथिमाथि शैलुंगेमा चौंरी डुलाउनेलाई...। उनले गीत गाउँदा गाउँदेखिकै यादहरू आउँछन् र भावुक हुन कर लाग्छ। पारिजातको उपन्यास ‘पर्खालभित्र पर्खालबाहिर’ होस् वा विजय मल्लको कथा ‘परेवा र कैदी’, तिनमा आएको कैदी मनोविज्ञानसँग त्यहाँको स्थिति मिल्छ। परेवा र कैदी कथा आस्थाका बन्दीको हकमा भने लागू हुँदैन। जे होस्, स्वतन्त्रताबिनाको जीवन निरास र उदेकलाग्दो हुन्छ। इच्छुकले लामो जेल बसाइबाट मुक्त भएपछि एउटा अन्तर्वार्तामा भनेका थिए-स्वतन्त्रताप्रेमीहरूका लागि जेल÷हिरासत भनेको यातनागृह नै हो। मलाई पनि त्यस्तै अनुभूति हुन्छ।
प्रतिबन्धपछि विप्लव नेतृत्वको नेकपालाई तर्साउने नियतमा देखिन्छ सरकार। घुँडामुनि गोली हान्छु भन्ने, हिरासतमा राख्ने, जेल पठाउने, बाहिर पनि त्रासमा राख्ने। शासन–प्रशासनका नाइकेहरूबाट पनि त्यो झल्किन्छ। हिरासतमा रहँदा मनोवैज्ञानिक रूपमा यही देखिन्थ्यो। मानिसलाई शारीरिकभन्दा मानसिक यातनाले धेरै दुःख दिन्छ। पीडा महसुस गराउँछ। सरकार र प्रहरीले गर्न खोजेको मानसिक रूपमा गलाउने नै हो। राजद्रोहको मुद्दा खेपिरहेका रक्तिमजीसँग यस विषयमा पनि गफ हुन्थ्यो।
अदालतमा म्याद थप्न लगेको दिन रमाइलो पनि लाग्थ्यो र दिक्क पनि। रमाइलो यसकारण-खुला वातावरण देख्न पाइन्थ्यो। दिक्क यसकारण-दिनभर हत्कडी लगाएर बस्नुपर्ने हुन्थ्यो।
म्याद थप्न कहिलेकहीँ लैजाने हो। हिरासतमा बसिरहँदा त्यस्तै पाँचचोटिजति म्याद थप्ने काम भयो होला। अरू बेला पोट खेल्ने, पत्रपत्रिका पढेर बस्ने हो। तर भनेजस्तो किताब पढ्न कहाँ पाउनु ? आफूले रोजेको किताब भित्र ल्याउन नै निषेध थियोे।
हिरासतमा राता गाता भएका, वामपन्थी आन्दोलनका किताब निषेध भए पनि त्यहाँ रुमानी प्रेमकथा र उडन्ते सफलताको सूत्र भएका किताबहरू चाङका चाङ थिए। जस्तो शिव खेडाको धनी कसरी बन्ने, विनोद चौधरीको आत्मकथा, युधीर थापाको उपन्यास झरनाको चिसो पानी, सुविन भट्टराईको प्रिय सुफी, प्रकाश सायमीको काठमाडौं सेल्फीलगायत पुस्तक त्यहाँ नखोज्दा पनि भेटिने अवस्थामा थिए। एकजना लागूपदार्थ मुद्दाका साथीले मगाएका थिए, ती पुस्तक। गाता च्यातिएको अवस्थामा रहेको कृष्ण अविरलको रक्तकुण्ड र उपेन्द्र सुब्बाको लाटो पहाड आमथुनुवाहरूले रुचाएका पुस्तक थिए। पछि मित्र सरोनरले केही पुस्तक ल्याएपछि मज्जाले पढियो।
पढ्न अल्छी लागेपछि मज्जाले सुत्ने हो। चार बजे चियाखाजा आउँछ। हल्का खाजा खाने र मुख धुने अनि फेरि पढ्न थाल्ने। सामूहिक गफ गर्ने चलन पनि थियोे। कहिलेकहीँ साथीहरूबीच दोहोरी गाउने कार्यक्रम पनि बन्थ्यो। दुखेको मनलाई शान्त बनाउने र पीडा भुल्ने यस्ता उपाय थिए हामीमाझ। मान्छे सामाजिक प्राणी भएकाले पनि समूहमा बस्दा धेरै हदसम्म आनन्द महसुस गर्ने रहेछ। र पनि दिन बिताउन हम्मेहम्मे पर्थ्यो।
बिस्तारै दिनहरू बित्दै छन्। मनमा उदासी र तुवाँलोको साथमा आशाले पनि चियाउँदै छ। हिरासतबाट हेर्दै छु म नेपाली समाजलाई। नेपाली समाजको बदलिँदो स्वरूपलाई।
अपराधशास्त्रलाई आधुनिक समयले फरक ऐनाबाट हेर्न बाध्य बनाएको छ। साउदीमा लोग्ने छ। यता श्रीमती परपुरुषसँग ‘डेटिङ’ जान्छे। प्रहरीको छड्के जाँचमा पर्छे। प्रेमविवाह गरेको युवक प्यारीको दाँत झारेर चौकीमा आएको छ। बहुविवाहका अनेकौं कारण छन्। आमालाई मारेर आएको छोरोसम्म भेटियो। उच्चपदस्थका छोराहरू गोटी हानिरहेका छन् र लागूपदार्थको मुद्दा झेल्दै छन्। पजेरोको डिक्कीमा सुनका लाप्सा छन्। प्रहरीसम्म नआइपुगेका कति कुरा होलान् लुकेका !
यस्तो दृश्यले मनको उदासी झन् बढाउँथ्यो। ननिको अनुभव हुन्थ्यो। नयाँ पुस्तालाई गोटी खान, सुई हान्न र लागूपदार्थको लती बन्न कसले बाध्य बनाइरहेछ ? बोक्सी आरोपमा विधवा हत्या गर्न कसले प्रेरित गरिरहेछ ? प्रेमविवाहमा किन अनेकौं जटिलता आइरहेछन् ?
दिनहुँ अनेकौं दृश्य देखिन्थ्यो। अनेकौं कुरा सुन्न पाइन्थ्यो। यसो गर्दागर्दै हिरासत पनि बानी भइसकेछ।
निदाउन नपाए पनि, खुसी नभए पनि, मनमा अनेकौं तर्कवितर्क उठे पनि चार भित्तामा हेर्नुबाहेक के थियोे र विकल्प ? यी भित्ताहरू वास्तविक साथी थिए। कहिल्यै ननिभ्ने बत्तीले उज्यालोको सन्देश दिन्थ्यो। उज्यालोमा निदाउन नसक्ने मान्छे पनि त्यहाँ निदाउन बाध्य हुन्थ्यो।
एक महिना बित्यो। शताब्दीको कुनै कठोर हिउँदझैं बित्योे यो वैशाख महिना।
वैशाख २७ गते आयो। जिल्ला अदालत काठमाडौं पुग्दा बाह्र बज्न लागेको थियोे। शुक्रबारको दिन थियोे। मलाई मानसिक रूपमा निकै सकस अनुभव भइरहेको थियोे। भर्खरै अभ्यासमा आएको भनिएको राजद्रोहको मुद्दामा कस्तो फैसला हुने हो ? धरौटी जम्मा गर्न सकिन्छ कि सकिँदैन ? फेरि पक्राउ परिने पो हो कि ? यस्तैयस्तै।
अन्ततः खुसीको खबर आयो। बयान सकिएको केही बेरमै न्यायाधीशले धरौटी तोकेर साधारण तारिखमा रिहा गर्न आदेश दिए। प्रहरीले हतकडी खोलिदिएपछि लामो सास तानेँ। स्वतन्त्र अनुभव गरेँ। मानसिक रूपमा केही हल्का महसुस भयो। एउटा भरियाले चर्को घाममा चौतारी र धारो एकै पटक भेटेजस्तो अनुभव गरेँ। न्यायाधीशप्रति आभार व्यक्त गरेँ।
प्रहरीले पिपुल्स हस्पिटल बालाजु नयाँबजारमा फेरि स्वास्थ्य परीक्षण गराएर प्रहरीवृत्तमै पुर्याए। बालाजु प्रहरी चौकी आएपछि सामान बुझ्न थुनुवा कक्षबाहिर गएँ। सबै थुनुवा साथीसँग बिदा भएँ। प्रहरीहरूसँग हार्दिकतापूर्वक बिदा भइयो।
पर रानीवनबाट उखर्माउलो गर्मी चिर्दै चिसो बतास चल्दै थियोे। चराहरू चिर्बिर गर्दै थिए। बाइसधारा नेवारी मेला सिध्याएर शान्त थियोे। निर्मल दहमा पहेँला रङका माछाहरू स्वतन्त्र पौडिरहेका थिए। यो दृश्य मलाई अरू सामान्य दिनभन्दा निकै फरक लाग्यो।
शर्मिला, किरणजी, बरालजी र म मेरो बासस्थानमा आइसकेका थियौं। विभिन्न माध्यमबाट शुभकामना आएको आयै थियोे। मचाहिँ उही हिरासत कक्ष सम्झिरहेको थिएँ-ती उडुसहरू। ताता ओढ्नेहरू। प्लास्टिकको थाल। नागपास खेल। पिरोपिरो अचार। पातलो दाल। बन्दुक टेकेर उभिएको सेन्ट्री। म पनि पृथ्वीको एउटा सानो भूभागमा लुकेर आएको थिएँ।