उर्कुची–मुर्कुची
यहाँका गाउँघरमा यस खेललाई कतै कतै ‘लुक्का चोर’ पनि भनिन्छ। यस खेलमा ५–१८ जनासम्म खेलाडी हुन्छन्। यसमा ८–१४ वर्षसम्मको उमेरका केटाकेटीहरु खेलाडीको रुपमा देखा पर्दछन्। यो बसेर खेलिने खेल हो। यसको लागि बस्ने साधारण ठाउँ भए पुग्दछ। यो खेल ७–१० मिनेटसम्ममा टुंगिन्छ।
उर्कुची–मुर्कुची, तेरो दाइ–मेरो दाइ, हाट गयो कला ल्यायो, कला घुल्या जग घुल्या, लौ मुठी लुक्का चोर।
वरिपरि बसेका प्रत्येक खेलाडीलाई उपर्युक्त बोलीको प्रत्येक शब्दले सम्बोधन गरिन्छ। अन्तिममा जसलाई लुक्का चोर भन्ने शब्द पर्दछ त्यही व्यक्ति चोरमा गनिन्छ र त्यसै व्यक्तिप्रति यस खेलको रौनकता निर्भर हुन्छ। चोर औंलाले संकेत गर्दा चोरमा गनिएका उक्त खेलाडीले अरुलाई छुन खोज्दछ। सबै जना खेलाडी लागेर उनलाई पक्रेर जमीनमा पछारेपछि यो खेल टुंगिन्छ।
रत्नाकर देवकोटाको पुस्तक ‘कर्णालीको इथ–इति’बाट।