सम्पदा मार्गको वैभव
कंक्रिटका अग्ला–अग्ला भवनले उपत्यका ढाकिँदै गएको छ भने यहाँका सम्पदा ती अग्ला भवनको छायामा परेका छन्। यस्तो अवस्थामा हाम्रो अमूल्य विरासत या सम्पदा बचाउन नयाँ पिँढीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। वैशाख १२ को भूकम्पपछि भत्किएका पुरातात्विक संरचना यतिबेला पुनर्निर्माणको चरणमा छन्। पुनर्निर्माणका क्रममा ऐतिहासिक धरोहरले मात्र होइन, यसको स्थायी जीवनले पनि जीवन्तता पाउनुपर्छ।
विश्व सम्पदा सूचीमा नेपालका १० महत्त्वपूर्ण स्थान परेका छन्। तीमध्ये चार सम्पदा काठमाडौंमा पर्छन्। यहाँको सम्पदा, संस्कृति र पारम्पारिक मूल्यमान्यतालाई एक साथ उठाउन पछिल्लो समय सहरी योजना आयोगले खाकासमेत तयार पारेको थियो। उक्त खाकाअनुसार हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूलाई जोड्दै सम्पदा मार्ग निर्माण गर्ने गुरुयोजना तयार गरिएको छ।
यी दुवै सम्पदा केवल २.२ किमिको दूरीमा छन्। एक सम्पदा स्थलबाट अर्को सम्पदा स्थलसम्म पुग्न पर्यटकले पदमार्गको प्रयोग गर्नुपर्ने हुन्छ। पदयात्राका लागि निश्चित स्थानसमेत छुट्ट्याइएको छ। स्थानीय महत्त्वका विविध संरचना र दुलर्भ वास्तुकलाको जानकारी लिँदै पर्यटकले यो पदयात्राको मज्जा लिन सक्नेछन्। तर यो काम त्यति सजिलो भने छैन।
हेरिटेज वाकलाई मूर्तरूप दिन काठमाडौं महानगरले कम्तीमा पनि स्थानीय स्रोत साधन, भाषा, धर्म, परम्परा उजागर गर्ने प्रयास गर्नु छ। साथै पदमार्गमा पर्ने निजी घरको संरचना, बाटोघाटो, होटल, पानीको व्यवस्था, शौचालय आदि कुरामा समेत ध्यान दिनुपर्नेछ।
बहुमूल्य संस्कृति, वास्तुकला, जीवन शैली नै काठमाडौंको मौलिक पहिचान हो। काठमाडौं महानगरले विश्व सम्पदा दिवसको दिन हेरिटेज वाकको आयोजना गरेर यी नै न्यूनतम आवश्यकता उजागर गरेको थियो। गुरुयोजनाअनुसार पदमार्गको पहिचान गरिसकिएको छ। उक्त मार्गमा पर्न आउने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीको जानकारी एकीकृत गरिएको छ।
पदयात्राको आकर्षण
कुनै पनि क्षेत्रको सम्पदा, परम्परा र संस्कृतिलाई फरक ढंगले अनुभव गर्न, सहरी जीवनशैली र परम्परा बुझ्न पदयात्राको प्रवद्र्धन गरिन्छ। हनुमानढोका दरबार स्क्वायरदेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दु र बौद्ध धर्मका अनेक बहाल, बही, मन्दिर, द्यःछें, ढुंगेधारा, पाटी र सत्तलहरूको ठूलो महत्त्व राख्छ। सो पदयात्रामा काठमाडौं महानगरपालिकाका १५, १८, १९, २० र २४ नम्बर वडाहरू परेका छन्। यसमा स्थानीय सम्पदा र जीवनशैलीका सबै पक्ष समेट्न खोजिएको छ।
हनुमानढोका आफैंमा पर्यटकीय गन्तव्य हो। यहाँबाट पदयात्रा सुरु गर्दा पर्यटकले हेरिटेज वाकको सक्दो लाभ लिन सक्नेमा कुनै शंका छैन। यस पदयात्राको मुख्य आकर्षणमा हनुमानढोका दरबार स्क्वायर पर्छ।
संयुक्त राष्ट्रसंघको विश्व सम्पदा सूचीमा रहेको यो क्षेत्र प्राचीन सहर काठमाडौंको मुटु हो। यस क्षेत्रका धेरै मन्दिर पन्ध्रौं शताब्दीदेखि अठारौं शताब्दीमा बनेका हुन्। ती मन्दिर बहुकलात्मक हस्तकलाद्वारा प्यागोडा शैलीमा निर्माण गरिएका छन्। यो क्षेत्रमा रहेका मन्दिर, दरबार एवं देवीदेवता उक्त क्षेत्रको संस्कृति र चाडपर्वका अभिन्न अंग पनि हुन्।
मरु गणेश, सन्तानेश्वर महादेव, मरु बही, मिच्याः गल्ली, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी, बुरांख्यः, डल्लु, भुइख्यः हुँदै अन्त्यमा स्वयम्भूपरिसर पुगिने यो पदयात्रामा पाइलैपिच्छे लिच्छवी र मल्लकालमा भएको आभास गर्न सकिन्छ।
त्यसैगरी स्वयम्भू महाचैत्य बौद्ध र हिन्दु धर्मावलम्बीहरूको एक प्रमुख धार्मिकस्थल हो। दुई हजार वर्ष पुरानो यस प्राचीनस्थलमा विभिन्न कलाशैलीका चैत्य, मूर्ति र मन्दिरहरू छन्। काठमाडौं उपत्यकाका अधिकांश भूभाग देखिने स्वयम्भू शताब्दीयौंदेखि सद्भाव र निष्ठाको प्रतीकका रूपमा एक मुख्य पर्यटकीय आकर्षणको केन्द्र रहँदै आएको छ। काठमाडौं उपत्यकाको उत्तरपूर्व दिशामा अवस्थित यस धार्मिकस्थललाई भगवान् बुद्ध र शान्तिको प्रतीक मानिन्छ।
काठमाडौंको वैभव देखिने गरी सम्पदा मार्ग निर्माण गर्न मोटो बजेट र स्वस्थ सक्रियता अपरिहार्य छ।
सम्पदा यात्रामा पर्ने यी सबै क्षेत्रको आआफ्नै महत्त्व र इतिहास छ। उदाहरणका लागि यात्रा गर्दै जाँदा जह्रुँ हिति देखिन्छ। यो हितिलाई पुर्खाहरूले बनाएको सबैभन्दा सानो पाटी वास्तुकलाको रूपमा लिइन्छ। यो ढुंगाले बनेको छ। अहिलेको फिल्टर वा जारको पानी जस्तै हो यो हिति। हाल लोपोन्मुख अवस्थामा रहेका यस्ता हिति मूलतः कुनै बेला बटुवाहरूलाई शुद्ध खानेपानी खुवाउन र धार्मिक स्थलहरूमा प्रवेश गर्नुअघि शरीर शुद्ध गर्न प्रयोग गरिन्थ्यो।
डल्लु चौतारा टाढाबाट हिँडेर काठमाडौंसम्म आइपुगेका बटुवाहरू आराम गर्ने स्थलको रूपमा प्रयोग गरिन्थ्यो। यात्राका क्रममा बटुवाले बाटोमा कुनै दियो बाल्दै आएमा त्यसलाई यसै स्थानमा छोड्ने गरेको किंवदन्तीमा उल्लेख छ। त्यही कारणले अहिले पनि चौताराको तल्लो भागमा त्यस्ता दिया भेटिन्छन्।
काठमाडौंका स्थानीय जनताका लागि किरियापुत्री भवनका रूपमा प्रयोग हुँदै आएको रञ्जित मल्ल सत्तललाई पनि यो यात्राको मुख्य आकर्षणका रूपमा राखिएको छ। यस भवनलाई २०७२ सालको विनाशकारी भूकम्प अघिसम्म राणाकालीन वास्तुकलाको नमुनाका रूपमा लिइन्थ्यो।
यो पदयात्रामा धिमे ल्वहंलाई छ। यस स्थानमा रहेको एउटा ठूलो ढुंगा ‘धिमे’ बाजा आकारको छ। एकपटक धिमे बाजालाई यस स्थानमा राख्दा त्यो ढुंगामा परिणत भएको कथन स्थानीय नेवारहरूमा प्रचलित छ।
प्रमुख स्थानहरू
यस पदमार्गमा निश्चित दूरीमा पैदल यात्रा गरी सजिलै पुग्न सकिने एवं जीवन्त कला–संस्कृति दर्शाउने सम्भावना भएका स्थानहरूलाई काठमाडौं महानगरअन्तर्गतको सहरी योजना आयोगले छनोट गरेको छ। यसमा मरुहिति क्षेत्र पहिलो स्थानमा पर्छ।
काठमाडौंको एक प्रमुख सांस्कृतिक क्षेत्र मरुहिति, हनुमानढोका दरबार क्षेत्रबाट पदयात्रा सुरु गर्ने एक प्रमुख प्रवेश स्थान हो। यस क्षेत्रको मुख्य आकर्षण भनेको पाँचवटा ढुंगेधारा, महादेव र विष्णुको मूर्ति भएको परम्परागत मरुहिति हो। यसलाई स्थानीयले नियमित पानीका लागि प्रयोग गर्दै आइरहेका छन्।
मरुहितिको आफ्नै परम्परागत महत्त्व रहेको छ। काठमाडौंमा मनाइने येँयाः (इन्द्रजात्रा) का बेला निकालिने दागिं (इन्द्रकी आमा) सँगसँगै नगर परिक्रमा गरिसकेपछि त्यसमा सहभागी भएका सबैले यही मरुहितिमा मुख र हातगोडा धुने चलन रहेको छ।
योजनाअनुसार यस क्षेत्र पदयात्राको प्रवेश द्वार हुनेछ। यही क्षेत्रमा पर्यटकका लागि सूचना केन्द्र र सम्पदा गृहको समेत निर्माण हुने भएको छ।
मरुहितिपछि अर्को मुख्य स्थान हो– चस्वांद्वँ क्षेत्र। यो नाम स्थानीय नेपालभाषाबाट आएको हो। यसमा ‘चस्वां’ को अर्थ एक प्रकारको फूल हो भने ‘द्वँ’ को अर्थ थुप्रो हो अर्थात् फूलको थुप्रो। कुनै बेला यो खुला क्षेत्र फूल सुकाउने कार्यका लागि प्रयोग गरिन्थ्यो र पछि त्यसैबाट पूरा टोलको नामै ‘चस्वांद्वँ’ हुन पुगेको जनविश्वास छ। इन्द्रजात्रामा ‘उपाकु’ परिक्रमालगायत अरू जात्रामा पनि प्रयोग हुने यस मार्गको आफ्नै ऐतिहासिक महत्त्व रहेको छ।
यस क्षेत्रमा अझै पनि परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरू जीवितै छन्। पदयात्राका लागि आकर्षक बनाउन यो क्षेत्रमा क्याफे, हेरिटेज होम, सांगीतिक प्रस्तुतिका लागि डबली परम्परागत पाटीहरू पुनर्निर्माण गर्नुपर्नेछ। अन्य महत्त्वपूर्ण स्थानमा बुरांख्यः, डल्लु चौतार, निपु हिति र भुइख्यः क्षेत्र पर्छन्।
आगमन क्षेत्रको योजना
हनुमानढोका दरबार स्क्वायरदेखि स्वयम्भूसम्मको सम्पदा पदयात्रामा सहभागी हुने पर्यटक तथा अन्य आगन्तुकहरूको सहजताका लागि केही निश्चित स्थानमा जम्मा हुने र प्रस्थान गर्ने विन्दुहरू बनाउनुपर्ने देखिन्छ। यसका लागि उपयुक्त स्थानको रूपमा रामघाट मार्ग (पुष्पलाल पथ) लाई लिन सकिन्छ। यो क्षेत्रमा पर्यटकहरूलाई सामान्य घुमफिर गर्न खुला ठाउँ र सम्पदा मार्गबारे मौखिक जानकारी दिन सूचना केन्द्रको स्थापना गर्ने योजना बनाइएको छ।
यो क्षेत्रदेखि हनुमानढोका दरबार स्क्वायर– सम्मको मार्गमा पनि अनेक ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्वका धरोहर रहेका छन्। यसले पर्यटकलाई हनुमानढोका दरबार स्क्वायरदेखि स्वयम्भूसम्मको पदयात्रामा अझ उत्सुकता थप्नेछ।
हनुमानढोका स्वयम्भूसम्मको सम्पदा पदयात्राको प्रवेश विन्दुहरू संकेत गर्न दुई मुख्य स्थानहरूमा प्रवेश द्वार निर्माण गर्ने योजना बनिसकेको छ। यसमा मरुहिति क्षेत्र र भुइख्यः क्षेत्र पर्नेछन्। यस क्षेत्रका लागि पर्यटक सूचना केन्द्र, सुविनियर सप, सार्वजनिक शौचालय र क्याफेहरू राखिने छ।
पर्यटकहरूलाई सम्पदा मार्गका साथै काठमाडौं नगरबारे जानकारी प्रदान गर्न तीन मुख्य स्थानहरूमा पर्यटक सूचना केन्द्र स्थापना गर्न सहरी योजना आयोगले प्रस्ताव राखेको छ। यो सूचना केन्द्रले स्थानीय कला, शिल्प र काठमाडौं नगरको सम्पदाबारे जानकारी प्रदान गर्नेछ। सूचना केन्द्रभित्र काठमाडौंका दुर्लभ ऐतिहासिक तस्बिरहरू रहने एउटा सानो प्रदर्शनी कक्ष पनि हुनेछ।
सम्पदा मार्गलाई आकर्षक बनाउन घरहरूलाई परम्परागत शैलीमा ढाल्ने, पाटीपौवाको डिजाइन पनि पुरानै शैलीमा निर्माण गर्ने, क्याफे स्टेसनमा नेवार संस्कृति झल्काउने, सार्वजनिक शौचालय, बिजुलीको खम्बा र होर्डिङ बोर्ड राखिनेसमेत योजनामा उल्लेख छ। तर यसको कार्यन्वयन पाटो जटिल छ।
भुइख्यः (भुइँखेल) चौरबाट यात्रा पारम्भ गर्ने हो भने परम्परागत घर खासै भेटिँदैनन्। पक्की घर र त्यहाँका पसल व्यवसायले सडक पेटी साँगुरो बनाएको छ। यस पद यात्रामा स्थानीय परिवेश, सांस्कृतिक धरोहर र पारम्पारिक चलनचल्तीका चीजवीच प्रत्यक्ष दख्न त्यति सहज छैन। पछिल्लो समय नेवार समुदायले मौलिक अभ्यासहरू छाड्दै जाँदा यसलाई उजागर गर्न सजिलो छैन। सम्पदा मार्गमा परेका कतिपय स्थानहरूले त आफ्नो स्वरूप नै गुमाइसकेका छन्। उदाहरणका लागि भुइख्यः चौर पनि एक हो।
कुनै समय यो चौर पोखरी थियो। पोखरीमा कमल फुल्थ्यो। यसलाई नेपाल भाषामा ‘पलेस्वां पुखू’ भनिन्छ। आज यो सुख्खा मैदान मात्रमा सीमित छ। यही स्थानमा ‘भुइख्यः हिति’ समेत पर्छ। जुन संरक्षणको बाटो हेरिबसेको छ।
यात्रामा अगाडि बढ्दै जाने हो भने संरक्षणको अभावमा जीर्ण बनेका ऐतिहासिक सम्पदाका थुप्रै अवशेष फेला पर्छन्। धिमे ल्वहंबाट भीमसेन मन्दिर, निपु हिति पार गर्दै विभिन्न गल्लीमा पदयात्रा गरेपछि मरु गणेशसम्म आइपुग्दा विभिन्न देवीदेवताका नौ ठूला मन्दिरहरू देख्न पाइन्छ। साथै नौवटै पाटी सतल र ८ हिति (ढुङ्गेधारा) को अवलोकन गर्न सकिन्छ।
पदयात्रामा तीनवटा पार्क तथा खुला क्षेत्र भुइख्यः पोखरी (हाल पानी सुकिसक्यो), भुइख्य र बुरांख्य पार्क पर्छन्। सहरी योजना आयोगले महत्त्व दिएका यीमध्ये धेरै सम्पदा अहिले हेर्नलायक अवस्थामा छैनन्। दुई विश्व सम्पदा सूचीमा परेका स्थानलाई जोडी रहँदा त्यस मार्गमा पर्ने अवयवलाई सबैभन्दा पहिले संरक्षण गर्नुपर्ने देखिन्छ।
काठमाडौंको वैभव देखिने गरी सम्पदा मार्ग निर्माण गर्न मोटो बजेट र स्वस्थ सक्रियता अपरिहार्य छ। स्थानीयको साथ, सहयोग र पदमार्गलाई आकर्षक बनाउन मिहिन अध्ययनको खाँचो छ। गुरुयोजनाअनुसार सम्पदामार्ग निर्माण गर्न वर्षौं लाग्नेसमेत प्रतीत हुन्छ। कामलाई छिटोछरितो ढंगबाट अगाडि बढाउन सकेमा मात्र समयसँगै परिवर्तन गर्दै लग्न सहज हुने छ।