दबाबमा श्रीलंका

दबाबमा श्रीलंका

लन्डन : विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा दुई पूर्वविजेता अस्ट्रेलिया र श्रीलंका भिड्दै छन्। उक्त खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ। कार्डिफस्थित सोफिया गार्डेन्स रंगशालामा साँझ ६ :१५ बजे सुरु हुने दोस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्नेछ।

जारी विश्वकपमा अस्ट्रेलिया र श्रीलंका दुवैको यो पाँचौं खेल हो। यसअघिका चारमध्ये तीन खेलमा विजयी भएको अस्ट्रेलिया एक खेलमा भने पराजित भएको थियो। सर्वाधिक पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। श्रीलंका भने एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ। श्रीलंकाको बाँकी दुई खेल वर्षाका कारण रद्द भएको थियो। श्रीलंका चार अंकसहित तालिकाको पाँचौं स्थानमा आसीन छ।

अस्ट्रेलिया र श्रीलंकाबी हालसम्म खेलिएका एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अस्ट्रेलिया निकै बलियो दखिन्छ। हालसम्म यी दुई टोलीबीच ९६ वटा एकदिवसीय खेल भएको छ। ६० खेलमा अस्ट्रेलिया विजयी भएको छ भने ३२ वटा खेलमा श्रीलंकाले जित हात पारेको छ। चार खेल भने अनिर्णित रूपमा सकिएको छ।

विश्वकपमा पनि यी दुई निकै पुराना प्रतिद्वन्द्वी हुन्। दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्। विश्वकपमा हालसम्म यी दुई टोलीबीच १० पटक भेट भएको छ। १० मध्ये सात खेलमा अस्ट्रेलिया विजयी भएको छ भने दुई खेलमा श्रीलंकाले जित हात पारेको छ। एक खेल भने अनिर्णित रूपमा सकिएको छ। सन् १९९६ को विश्वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई नै सात विकेटले हराउँदै उपाधि हात पारेको थियो।

उक्त हारको बदला अस्ट्रेलियाले सन् २००७ को विश्वकपमा लिएको थियो। उक्त विश्वकपको फाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ५३ रनले हराएको थियो। जारी विश्वकपमा अस्ट्रेलिया हरेक पक्षमा अब्बल देखिन्छ। अस्ट्रेलियाको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ। तर, श्रीलंकाको ब्याटिङ र बलिङ दुवै प्रभावकारी देखिएको छैन। दी ओभलमा हालसम्म यी दुई टोलीबीच दुईवटा एकदिवसीय भएकोमा दुवै टोलीले एक÷एक खेल जितेका छन्।

यी दुई टोलीबीच शनिबार हुने खेल वर्षाबाट प्रभावित हुने सम्भावना पनि छ। मौसम विभागका अनुसार वर्षाका कारण खेल सुरु हुन केही ढिलो हुन सक्छ। दी ओभलको मैदान ब्याटिङका लागि उपयुक्त मानिए पनि मौसमका कारण शनिबारको खेलमा तीव्रगतिका बलरलाई केही सहयोग पुग्न सक्ने अनुमान गरिएको छ।

शुक्रबारको खेलमा ब्याटिङतर्फ डेभिड वार्नर, स्टिभन स्मिथ र ग्लेन म्याक्सवेल तथा बलिङतर्फ मिचेल स्टार्क, प्याट कुमिन्स र नाथन कल्टर नाइल अस्ट्रेलियाका प्रभावशाली खेलाडी हुन्। यसैगरी श्रीलंकाका लागि ब्याटिङतर्फ दिमुथ करुनारत्ने, कुशल परेरा र कुशल मेन्डिज तथा बलिङतर्फ लासिथ मालिंगा, नुवान प्रदीप र सुरंगा लकमल महत्वपूर्ण बन्न सक्छन्।

यसैगरी अर्को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच एकदिवसीय क्रिकेटमा पहिलो पटक भिडन्त हुन लागेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाले पाँचौं र अफगानिस्तानले चौथो खेल खेल्न लागेका हुन्। दक्षिण अफ्रिका तीन खेलमा पराजित भएको छ भने एक खेल वर्षाका कारण रद्द भएको छ। एक अंकसहित दक्षिण अफ्रिका तालिकाको नवौं स्थानमा छ। अघिल्ला तीनवटै खेलमा पराजित भएको अफगानिस्तान तालिकाको १०औं स्थानमा छ।

एकदिवसीयमा दुई टोली

कुल  : ९६ खेल

अस्ट्रेलिया विजयी  : ६० खेल

श्रीलंका विजयी  : ३२ खेल

अनिर्णित  : ४ खेल

विश्वकपमा दुई टोली

कुल  : १० खेल

अस्ट्रेलिया विजयी  : ७ खेल

श्रीलंका विजयी  : २ खेल

अनिर्णित  : १ खेल

आजको खेल

अस्ट्रेलियाविरुद्ध श्रीलंका

दी ओभल (दिउँसो ३ :१५ बजे)

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिका

सोफिया गार्डेन्स (साँझ ६ :१५ बजे)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.