‘गुठी मासे धर्म मर्छ’

‘गुठी मासे धर्म मर्छ’

काठमाडौं : सर्वोच्च अदालतले धर्मसंस्कृति मास्ने विषयलाई अदालतबाट छुटकारा नमिल्ने फैसला गरेको छ । सर्वोच्चले गुठी जगेर्नाका लागि जाँचबुझ आयोग गठन आवश्यकतासमेत औंल्याएको छ । गुठी परम्परा मास्दा सभ्यता मेटिने चेतावनी पनि सर्वोच्चले दिएको छ ।

गुठीमा अनन्तकालसम्म ‘महन्त’ रहन पाउने वा नपाउने विषयको एक विवादमा सर्वोच्चबाट यस्तो फैसला भएको हो ।

‘भगवान्को मन्दिरमा बसी आराधना गर्ने, मठको सम्पत्ति तथा परम्परा जोगाउने र लोककल्याण गर्ने हो । मठको सम्पत्ति नाश गर्ने होइन,’ न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासको फैसलामा भनिएको छ, ‘मठमन्दिरको सम्पत्ति नाश गर्ने कार्यलाई अदालतले छुट दिन सक्दैन । त्यसो गर्दा धर्मसंस्कृति र न्याय मर्न जान्छ । न्यायविहीन समाजमा लोकतन्त्र फस्टाउन सक्दैन ।’

जनकपुरस्थित राजगुठीअन्तर्गतको रत्‍नसागर मठ स्थानको महन्त विवादमा गत वर्ष सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले महन्तलाई हटाउने गरी भएको गुठी संस्थानको निर्णयकै पक्षमा निर्णय दिएको छ । रिट महन्तको पदावधिसँग सम्बन्धित भए पनि सर्वोच्चबाट समग्र गुठी विकृतिमा मानक हुने गरी निर्णय आएको छ ।

‘चाहे गुठी संस्थान होस् वा महन्त वा जग्गा कमाउने मोही नै किन नहोस्, मठमन्दिर वा गुठी परम्पराको विनाश गर्ने हक कसैलाई हुँदैन । स्वार्थबस गरिएका कुरालाई छुट दिँदा हाम्रा धार्मिक र सांस्कृतिक धरोहर नासिनुका साथै सभ्यतासमेत स्खलित हुन पुग्छ,’ सर्वोच्चले भनेको छ ।

गत वैशाख १७ गते भएको फैसलाको बृहत् व्याख्यासहितको पूर्ण पाठ शुक्रबार प्रकाशमा आएको हो । गुठीको जग्गा एक वा अर्को निहुँमा बिक्री गर्ने, वितरण गर्ने र आफ्नो नाउँमा बस्ती बसाउने कार्य हुन थालेको आरोपसहित गुठी संस्थान, केन्द्रीय कार्यालयले महन्त वैकुण्ठदास वैष्णवलाई हटाएर नयाँ नियुक्ति गरेको थियो । गुठी परम्पराअनुसार महन्तले धर्म आचरण पालन गरी सनातनदेखि चली चलाइआएको धार्मिक कार्य सञ्चालन गरी गुठीको चलअचल सम्पत्ति, देवमूर्ति गरगहनासमेतको सुरक्षा, संरक्षणको कार्य र गुठी बन्दोबस्त गर्नुपर्ने दायित्व रहन्छ ।

मठमन्दिर जनताका अमूल्य सम्पत्ति रहेको बताउँदै सर्वोच्चले जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत छुट्टै आयोग गठन गरी गुठी सम्पत्तिको छानबिन हुनुपर्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको छ । पूर्वजहरुले हामीलाई छाडेका अमूल्य नीधि नासोको रुपमा सुम्पेकाले भावी पुस्तालाई पनि त्यही रुपमा हस्तान्तरण गर्नुपर्ने कर्तव्यतर्फ पनि सजग गरिएको छ । कुनै धार्मिक स्थल तथा धार्मिक गुठी सञ्‍चालनमा व्यक्तिगत लोभलालच वा स्वार्थको कुनै स्थान नरहने पनि फैसलामा उल्लेख छ । रत्नसागर मठबाट वैकुण्ठ दासलाई हटाएर रामदास वैष्णवलाई नियुक्ति गर्ने निर्णय भएको थियो । २०६० चैतमा वैकुण्ठदास वैष्णवको नियुक्ति भएको थियो । उनको कार्यकाल २०६५ साल चैत ४ गते समाप्त भए पनि निरन्तर रहनुपर्ने माग थियो । नयाँ नियुक्तिको निर्णय भएपछि विवाद सर्वोच्च पुगेको हो ।

गुठी संस्थान ऐन, २०३३ को दफा १६ (१) अनुसार संस्थानको अमानती, राजगुठी, मठ, मन्दिरको बन्दोबस्त र सञ्चालनका लागि आवश्यकताअनुसार महन्त, पूजारी, व्यवस्थापक र अरू कामदार, कर्मचारी नियुक्ति गर्न सकिने भनिए पनि महन्त, पूजारीको कार्यकाल नियुक्ति भएपछि जीवनभर रहने भन्ने व्यवस्था नरहेको निर्णयसमेत सर्वोच्चले दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.