फुटबलप्रेमी पोन्टिङ कसरी बने क्रिकेटका महारथी ?

फुटबलप्रेमी पोन्टिङ कसरी बने क्रिकेटका महारथी ?

खेलकुदमा रुचि राख्ने भाइबहिनीलाई थाहै होला, अहिले एकदिवसीय विश्वकप क्रिकेट चलिरहेको छ । इङ्ल्यान्ड र वेल्समा सञ्चालन भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता आगामी असार २९ सम्म सञ्चालन हुनेछ । अहिले सारा विश्व विश्वकप क्रिकेटको माहोलमा झुमेको छ । विश्वकपको रोमाञ्चकतासँगै यसका विभिन्न पाटा र आयामका साथै खेलाडीको प्रदर्शनका बारेमा पनि चर्चा सुरु भएको छ ।

अहिले विश्वकप क्रिकेटको १२औं संस्करण चलिरहेको छ । अहिलेसम्म सर्वाधिक ट्रफी जित्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले पाँच पटक विश्वकप ट्रफी उचालिसकेको छ । अस्ट्रेलियाले जितेका पाँच उपाधिमध्ये दुई उपाधि रिकी पोन्टिङको कप्तानीमा जितेको थियो । विश्वकप क्रिकेटको इतिहासमा वेस्ट इन्डिजका क्लाइभ लोयडसँगै रिकी पोन्टिङले कप्तानका रूपमा आफ्नो देशलाई दुई÷दुई पटक विश्वकपको उपाधि जिताएका थिए । वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो विश्वकपको उपाधि जित्दा लोयड टोलीका कप्तान थिए ।

यसैगरी अस्ट्रेलियाले सन् २००३ र सन् २००७ को विश्वकप जित्दा पोन्टिङले टोलीमा कप्तानको भूमिका निर्वाह गरेका थिए । पोन्टिङको कप्तानीमा सन् २००३ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई एक सय २५ रनले हराएको थियो ।

पोन्टिङकै कप्तानीमा रहेको अस्ट्रेलियाले सन् २००७ को विश्वकपको फाइनलमा श्रीलंकालाई ५३ रनले हराएको थियो । सन् २०११ को विश्वकपमा पोन्टिङकै कप्तानीमा रहेको अस्ट्रेलियन टोली क्वार्टरफाइनलमा भारतसँग पाँच विकेटले पराजित भएको थियो ।

यसैगरी अस्ट्रेलियाले सन् १९८७, सन् १९९९ र सन् २०१५ मा विश्वकप ट्रफी उचालेको थियो । यस्तै भारतले सन् १९८३ र २०११, पाकिस्तानले १९९२ र श्रीलंकाले सन् १९९६ मा विश्वकप क्रिकेटको उपाधि जितेका छन् ।

रिकी पोन्टिङ यस्ता सर्वकालीन महान् खेलाडी हुन् जसले अस्ट्रेलियालाई दुई पटक विश्वकपको उपाधि दिलाउनुका साथै लामो समयसम्म टोलीलाई नम्बर एक बनाई स्थापित गराए । उनको कप्तानीमा अस्ट्रेलियाले टेस्ट र एकदिवसीय क्रिकेटमा लामो समयसम्म शीर्ष स्थान कब्जा गरेको थियो । रिकी पोन्टिङको पूरा नाम रिकी थोमस पोन्टिङ हो । सन् १९७४ डिसेम्बर १९ मा लन्सेस्टेनमा जन्मिएका पोन्टिङले सन् २००२ देखि २०११ सम्म अस्ट्रेलियन टोलीको कप्तानी सम्हालेका थिए । दायाँहाते ब्याट्सम्यान पोन्टिङले टोलीलाई थुप्रै पटक अप्ठ्यारा अवस्थाबाट अगाडि बढाएका थिए । उनले सन् २००२ मा टोलीको नेतृत्व सम्हाले पनि उनी सन् १९९५ देखि नै अस्ट्रेलियाको सिनियर टोलीका सदस्य थिए ।

पोन्टिङ एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने क्रिकेटरमा तेस्रो स्थानमा छन् । उनले ३७५ खेल खेल्दै १३ हजार सात सय चार रन बनाएका छन् । तिनमा ३० शतक र ८२ अर्धशतक छन् । पोन्टिङभन्दा अगाडि भारतका सचिन तेन्दुलकर र श्रीलंकाका कुमार संगकारा छन् । शीर्ष स्थानका सचिनले चार सय ६३ खेल खेल्दै १८ हजार चार सय २६ तथा संगकाराले चार सय चार खेलबाट १४ हजार दुई सय ३४ रन बनाएका छन् । टेस्टमा दुई सय ५७ र एकदिवसीय क्रिकेटमा एक सय ६४ पोन्टिङले बनाएको ठूलो स्कोर हो ।

विश्व क्रिकेटमा ठूलो कोसेढुंगा खडा गरेका पोन्टिङ सुरुमा क्रिकेटमा भन्दा फुटबलका सोखिन थिए । उनले विद्यालयस्तरका थुप्रै फुटबल प्रतियोगितामा सहभागिता जनाए । उनी नर्थ मेलबर्न कंगारुजका ठूलो प्रशंसक थिए । जाडो बिदामा उनी लामो समयसम्म फुटबल मैदानमा हुन्थे । फुटबल भनेपछि हुरुक्क हुने पोन्टिङले जुनियर स्तरका थुप्रै खेल खेले । उनी १४ वर्षको उमेरसम्म फुटबल खेलाडी नै बन्न चाहन्थे । तर, यही समयमा उनको जीवनमा दुःखद घटना आइपर्‍यो । यू–१७ फुटबल प्रतियोगिता खेल्ने क्रममा पोन्टिङको पाखुरामा गहिरो चोट लाग्यो । यो घटनापछि उनले १४ हप्तासम्म अस्पतालको बेडमा बिताउनु पर्‍यो । अस्पतालको बेडमा हुँदै उनले फुटबल नखेल्ने निर्णय गरे ।

बुवा ग्राहम र आमा लोरिनका चार सन्तानमध्ये रिकी पोन्टिङ जेठा सन्तान हुन् । पाखुरामा ठूलो चोट बोकेपछि फुटबल नखेल्ने निर्णय गरेका पोन्टिङले आफ्नो घरनजिकै आयोजना भएको क्रिकेट प्रतियोगितामा स्कोररको काम गरे । उनी नर्थन तास्मानियन क्रिकेट मैदानमा भएका अधिकांश खेलमा स्कोरर थिए । लामो समय स्कोर बोर्डमा बस्नुपर्दा पोन्टिङलाई दिक्क लाग्न थाल्यो । त्यसपछि उनले क्रिकेट खेल्न थाले । उनलाई बुवा ग्राहम र काका ग्रिक क्याम्पबेलले क्रिकेट खेल्न सघाए । उनका बुवा क्लबस्तरीय खेलाडी थिए भने ग्रिकले अस्ट्रेलियन टोलीबाट टेस्ट खेलिसकेका थिए । उनीहरूकै सहयोगमा पोन्टिङले क्रिकेट खेल्न थाले । यसबीचमा उनले स्कोररको कामलाई निरन्तरता दिइरहे ।

सन् १९९१ मा उनले स्कोरिङ गर्ने क्रिकेट मैदानले पोन्टिङलाई अस्ट्रेलियन क्रिकेट एकेडेमीमा प्रशिक्षणको व्यवस्था मिलाइदियो । सुरुको दुई साताको प्रशिक्षण लिएका पोन्टिङले सोही एकेडेमीमा दुई वर्षको प्रशिक्षणको अवसर पाए । यो अवधिमा उनले आफूलाई निकै निखारे । एकेडेमीका प्रशिक्षक रोड मार्सले १७ वर्षको उमेरमा पोन्टिङजस्तो ब्याट्सम्यान आफूले कहिल्यै नदेखेको भन्दै उनको प्रशंसा गरे ।

यू–१९ को पाँच खेलमा तीन सय ५० रन बनाएलगत्तै उनी दक्षिण अफ्रिकाविरुद्धको यू–१९ टोलीमा छनोट हुन सफल भए । यू–१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी सन् १९९५ मा अस्ट्रेलियाको एकदिवसीय टोलीको सदस्य भए । सन् २००२ मा अस्ट्रेलियन टोलीको कमान्ड सम्हाल्नुअघि टोलीमा पर्ने र बाहिरिने क्रम बढे पनि कप्तान भएपछि भने उनी सदैव टोलीको महत्वपूर्ण सदस्य रहिरहे ।

एजेन्सीको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.