भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल
भक्तपुर : भक्तपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ। भादगाउँ स्पोर्टस् एण्ड लिजरले स्वीमिङ पुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो।
स्वीमिङ पुल ५० फिट चौडाइ र ८० फिट लम्बाइ रहेको छ। भादगाउँले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा एक करोड ८० लाख लगानीमा पुल निर्माण गरेको हो।
भादगाउँ स्पोर्टस् एण्ड लिजरका अध्यक्ष रविनारायण कायस्थले मनोरञ्जनसँगै प्रतियोगितासमेत गर्ने लक्ष्य लिएर स्वीमिङ पुल सञ्चालनमा ल्याइएको जानकारी दिए।
‘एक हप्ताको परीक्षणपछि शनिबारदेखि स्वीमिङ पुल सर्वसाधारणको लागिसमेत खुला गरेका छौं’, उनले भने, ‘स्वीमिङ पुलको लागि पानी शुद्धीकरण प्रणाली जडान गरेका छौं। जसले गर्दा पौडी खेल्दा आँखा पोल्ने तथा एलर्जी हुनेछैन।’
उनका अनुसार पौडी पोखरीमा एकैपटक दुईसय जनासम्मले मनोरञ्जन लिन सक्छन्। जहाँ तीनदेखि आठ फिटसम्मको गहिराइ छ। त्यस्तै डेढ फुट गहिराइ भएको बच्चाको छुट्टै पौडी पोखरीको व्यवस्था गरिएको छ।
‘पौडी पोखरीसँगै ज्याकुजी, साउना बाथ र स्टीम बाथको व्यवस्था गरेका छौं’, भादगाउँका सञ्चालक उत्तम थुसाले थपे, ‘यहाँ पौडी खेल्ने आउनेहरुको सुविधाको लागि स्वीमिङ कस्टम, ट्युबलगायत सबै पाइने व्यवस्था गरेका छौं।’
पौडी पोखरी सञ्चालनमा ल्याउनुअघि नै भादगाउँले लनटेनिस र ब्याडमिन्टनका दुईदुईवटा कोर्ट सञ्चालनमा ल्याइसकेको छ। दुवै कोर्ट रात्रीकालीन समयमा समेत सञ्चालनमा ल्याउन सकिने गरी बत्तीको व्यवस्था गरिएको अध्यक्ष कायस्थले जानकारी दिए।
सर्वसाधारणका लागि प्रतिदिन चार सय रुपैयाँ शुल्क राखेको छ। १२ वर्षमुनिका बालबालिकाको लागि भने तीन सय रुपैयाँ लाग्नेछ। त्यस्तै स्कुलका विद्यार्थीको लागि एकसय पचास रुपैयाँमा पौडीको मज्जा लिन सकिने व्यवस्था गरिएको भादगाउँले जनाएको छ।