‘ओली सरकारविरुद्ध अब सडक र सदनमा आन्दोलन’
भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली सरकारविरुद्ध पार्टीले सडक र सदन आन्दोलन अघि बढाउने बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका ५ चाँगुमा शनिबार भएको स्वास्थ्य क्लिनिक उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा महामन्त्री डा. कोइरालाले आन्दोलनको लागि नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आह्वानसमेत गरे।
कम्युनिस्टको नाउँमा केपी ओलीले केन्द्रीकृत शासन लादिरहेको उनको आरोप छ। ओली सरकारले बजेटमार्फत् केन्द्रीकृत शासन लाद्न खोजेको स्पष्ट भएको भन्दै उनले भने, ‘संघीयता नै खतरामा छ। बजेटले प्रदेश र स्थानीय सरकारलाई प्राथमिकता दिएको छैन।’
महामन्त्री कोइरालाले मुलुकमा बेइमानी, भ्रष्टाचार र अनैतिकता बढेकोसमेत औंल्याए। ‘राजनीतिसमेत अनैतिक हुन थालेको छ’, उनले भने, ‘जहाँतहीं चरम भ्रष्टाचार छ।’
कार्यक्रममा जीपी कोइराला फाउन्डेसनको सहयोगमा सञ्चालित स्वास्थ्य क्लिनिक स्थानीय ग्रामीण अपांगता समन्वय समिति चाँगुलाई हस्तान्तरण गरिएको छ। उक्त क्लिनिकमा डा. प्रेशु पोखरेलले प्रत्येक महिनाको एक दिन निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछिन्।
स्थानीयको माग र आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गर्ने समय बढाइने उनले जानकारी दिइन्। डा. पोखरेलले उक्त क्लिनिक सञ्चालनले अपांगता भएकाहरुको लागि पुनस्र्थापना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पूरा हुने स्पष्ट पारिन्।
केन्द्रका पूर्वअध्यक्ष गोपालप्रसाद पोखरेलले केन्द्रले साविक चाँगुनारायण गाउँ विकास समितिका अपांगता भएका तथा असहाय ज्येष्ठ नागरिकको हेरचाह र पुनस्र्थापनाको क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिए।