ढल व्यवस्थापन नहुँदा सडकको यो हालत

ढल व्यवस्थापन नहुँदा सडकको यो हालत

भक्तपुर : ढलको उचित व्यवस्थापन नहुँदा भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेराका बासिन्दाले राष्ट्रिय सडकमा दिनहुँ सास्ती खेप्दै आएका छन्।

सडकमा दुई वर्षदेखि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदै आएको छ। भक्तपुर–काठमाडौं ६ लेन सडकको वैकल्पिक सडकसमेत रहँदै आएको उक्त सडकको करिब एक सयमिटर सडक छिचोल्न सर्वसाधारणलाई महाभारत हुँदै आएको छ।

पानी पर्दा पैदल यात्रुको घुँडासम्म पानी आउँछ। त्यस्तै घाम लाग्दा धुलो उडेर सासै फेर्न मुस्किलमात्रै पर्दैन अगाडिको सवारीसाधन र मानिससमेत देख्न मुस्किल पर्छ।

पानी पर्दा मध्यपुर थिमी नपाकै बोडे, सिन्टिटार, निलबाराही र चाँगुनारायण नपाका १ र २ नम्बर वार्डका बस्तीबाट आउने पानी यहीं सडकमा आइपुग्छ।

सडकको दायाँबायाँ सर्वसाधारणको घर तथा पसल भएकाले आकासे पानीसँगै ढल सडकमै बग्छ। जसले गर्दा पानी पर्दा सडक खोला बन्छ। सडक पेटीमा हिँड्दा पनि सर्वसाधारण सुरक्षित हुँदैन।

राजकुलोसँगै मध्यपुर थिमी नपा र चाँगुनारायण नपाको सीमा छुट्याउने खोल्साको पानीसमेत सर्वसाधारणको खेतैखेत भएर बाटोमा बग्ने स्थानीय रमेश कासुलाले जानकारी दिए।

उनले सडकको दुरवस्थाको कारण आफूको स्वास्थ्यमा असर गरेको तथा दैनिकी सास्तीपूर्ण भएकोबारे नगरपालिका र ठेकेदारलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे।
स्थानीयले उक्त सडक बनाउन मध्यपुर थिमी नगरपालिकामा पटकपटक ध्यानाकर्षण गर्दै आएका छैन। तैपनि सुनुवाइ हुन सकेको छैन।

मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले उक्त सडकको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले हेर्दै आएको र आयोजनालाई पटकपटक उक्त सडक मर्मत गर्न भन्दै आएको जानकारी दिए।

यता आयोजनाले भने भक्तपुरको प्रहरी प्रशासन र मध्यपुर थिमी नपाको असहयोगले सडकको काम गर्न नसकिएको जनाएको छ। आयोजनाका इञ्जिनियर लक्ष्मण देवकोटाले दुई वर्षअघि नै काठमाडौंको पेप्सीकोला मनोहरा खोलादेखि भक्तपुरको सल्लाघारीसम्म सडक विस्तारको लागि ठेक्का लागेको जानकारी दिए।

तर मध्यपुर थिमी नपाको पुरानो बस्तीमा सडक मापदण्डमा परेका घर तथा भौतिक संरचना भत्काउने काम हुन नसक्दा सडक विस्तार कार्य रोकिएको उनको भनाइ थियो।

करिब साढे चार किलोमिटर सडक विस्तार गर्न ५१ करोड रुपैयाँमा कान्छाराम, पीआर, उमा कम्पनी एण्ड जेवी निर्माण कम्पनीले उक्त सडक विस्तार आयोजनाको ठेक्का पाएको थियो। गएको पुस महिनामै ठेक्का सम्झौताको म्याद सकिए पनि दुई वर्ष समय थप गरिएको इञ्जिनियर देवकोटाले जानकारी दिए। तैपनि हालसम्म उक्त योजनाको प्रगति पाँच प्रतिशतमात्रै रहेको उनी बताउँछन्।

‘स्थानीय प्रशासन र मध्यपुर थिमी नपाले सहयोग नगर्दा पेप्सीकोला–सल्लाघारी सडक विस्तार कार्य रोकिँदै आएको छ’, उनले भने, ‘निकोसेरा क्षेत्रको सडकबारे हामीकहाँ पनि धेरै गुनासो आएका छन्। त्यहाँ वर्षा अघि नै केही गर्ने योजनामा छौं।’
 
मध्यपुर थिमी नपा ९ का वडा अध्यक्ष रामकाजी चक्रधरले भने सडक विस्तार आयोजना र ठेकेदारलाई उक्त सडक छिटो मर्मत गर्न चेतावनी दिँदा पनि काम नगरेको बताए।


भक्तपुर सल्लाघारी–पेप्सीकोला सडक जीर्ण भएपछि पेटीबाट मोटरसाइकल हुँक्याउँदै स्थानीय। तस्बिर : ईश्वरकाजी खाइजू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.