भारतीय मिडिया लेख्छ : नेपाली स्कुलमा चिनियाँ भाषा अनिवार्य, दूतावासबाटै शिक्षकलाई तलब !
काठमाडौं : भारतीय प्रभावशाली संचारमाध्यम दैनिक भास्करले नेपालका केही स्कुलमा चिनियाँ भाषा अनिवार्य गरिएको समाचार लेखेको छ ।
र ती स्कुलका शिक्षकलाई चिनियाँ राजदूतावासबाट तलब आउने गरेको पनि दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । भास्करका अनुसार काठमाडौंका केही स्कुलले चिनियाँ प्रस्ताव अनुसार नै भाषा सिकाउन थालेका हुन् । र चीन सरकारले नै उनीहरुलाई काठमाडौंस्थित दूतावासबाट तलब दिने निर्णय गरेको जनाइएको छ ।
मिडिया रिपोर्टको हवाला दिँदै भास्करले यस्तो समाचार सम्प्रेषण गरेको हो ।
उक्त समाचार अनुसार नेपालका १० वटा ठूला स्कुलका शिक्षक तथा कर्मचारीले चिनियाँ भाषा पहिले नै अनिवार्य भाषाको रुपमा रहेको जनाएका थिए । र उनीहरुको तलब काठमाडौंस्थित चिनियाँ दूतावासबाट आउने गरेको पनि समाचारमा जनाइएको छ ।
कलंकीस्थित एलआरआई स्कुलका सञ्चालक शिवराज पन्तको हवाला दिँदै भास्करले पोखरा, धुलिखेल र अन्य केही भागका निजी स्कुलमा चिनियाँ भाषा अनिवार्य गरिएको उल्लेख गरेको छ ।
कुनै पनि स्कुलको पाठ्यक्रम तय गर्ने जिम्मा सरकारको हुन्छ । तर निजी स्कुलले चिनियाँ भाषालाई अनिवार्य गराएको भन्दै समाचार प्रकाशित भएको हो । कुनै स्कुललाई विदेशी भाषा पढाउने अनुमति भएको तर अनिवार्य गराउने अधिकार नभएको पाठ्यक्रम विभागका सूचना अधिकारी गणेश प्रसाद भट्टराईको हवाला भास्करले दिएको छ ।