लोकसेवा आयोगका अध्यक्ष मैनालीको पुतला दहन
राजविराज : सप्तरीको राजविराजमा आधा दर्जन विद्यार्थी संगठनले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला दहन गरेका छन् ।
लोकसेवा आयोगले हालै आह्वान गरेको कर्मचारी भर्ना विभेदकारी एवं त्रुटीपूर्ण भन्दै शनिबार विद्यार्थी संगठनहरुले आयोग अध्यक्ष मैनालीको पुतला दहन गरेको हुन् ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम लगायतले आयोगका अध्यक्ष मैनालीले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गरी समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने, प्रादेशिक लोकसेवा आयोग गठन गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन् ।
स्थानीय तहको विज्ञापन विभेदकारी भन्दै चरणवद्ध आन्दोलन घोषणा गरेको समानुपातिक समावेशी अधिकार बचाउ संघर्ष समिति सप्तरीले आइतबार राजविराजमा मशाल जुलुस पश्चात कोणसभा र सोमवार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको छ ।
आयोगले संघीयता, समावेशी तथा समानुपातिक सिद्धान्त विपरित निकालेको विज्ञापन नसच्याएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिले बिहीबार आँखामा कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाएको थियो ।