लालबन्दीमा एक सय २६ विद्यार्थीको निशुल्क स्वास्थ्य बीमा
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका–६ को पहलमा सामुदायिक विद्यालयमा पढ्ने एक सय २६ विद्यार्थीको निशुल्क स्वास्थ्य बीमा भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच वडा नं. ६ स्थित पे्रमज्योति प्राथमिक विद्यालयमा अध्ययनरत एक सय २६ विधार्थीको स्वास्थ्य बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।
नगरपालिकाबाट बालबालिकाको लागि प्राप्त भएको एक लाख रुपैयाँले विद्यालयका सबै विद्यार्थीको बीमा गरिएको बताइएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँगको समन्वयमा विद्यार्थीहरुको एकै साथ बीमा गरिएको हो ।
अधिकांश विद्यार्थी विपन्न समुदायका भएकाले बीमा गरिएको वडाध्यक्ष उज्जवल कार्कीले बताए । नगरभित्रका ४८ सामुदायिक विद्यालय मध्ये पहिलो पटक पे्रमज्योति प्राथमिक विद्यालयका विद्यार्थीको स्वास्थ्य बीमा गराइएको बताइन्छ ।