औषधालय आफैं थलियो

औषधालय आफैं थलियो

सुर्खेत : कर्णाली भन्नेबित्तिकै भौगोलिक विकटता र भौतिक पूर्वाधार अभाव अगाडि आइहाल्छ। यहाँ अभाव मात्र छैन, सम्पन्नता पनि छ। त्यो हो बहुमूल्य जडिबुटी। यार्सागुम्बा, जटामसी, चिराइतो, सतुवा, रातो च्याउलगायत साढे सात सयभन्दा बढी बहुमूल्य जडिबुटीको भण्डारण हो कर्णाली। तिनै जडिबुटीको सदुपयोग हुन नसक्दा एकमात्र आयुर्वेद औषधालय उठ्नै नसक्ने गरी थला परेको छ।

जुम्लास्थित कर्णाली आयुर्वेद औषधालय विगत तीन वर्षयता अस्तव्यस्त बनेको हो। अस्पतालमा न चिकित्सक छन् न कर्मचारी। न त औषधि उपकरण नै। बत्ती पनि छैन। औषधालयमा विगत तीन वर्षयता कार्यालय प्रमुखसमेत छैनन्। औषधालय एक आयुर्वेद वैद्यको भरमा चलिरहेको छ।

डा. रमेश केसी २०७२ मा सरुवा भएर गएपछि डा. विकेक गुप्ताले एक महिना मात्रै कार्यालय प्रमुखको जिम्मेवारी समाले। उनले पनि सरुवा मागेर गएपछि औषधालयमा मुख्य चिकित्सक तथा सातौं तहको पदपूर्ति भएको छैन।

कणीलीको पहिलो र ठूलो यस औषधालयमा कुनै बेला बिरामीको घुँइचो लाग्थ्यो। सेवा प्रवाह पनि प्रभावकारी थियो। तर अहिले बिरामी त जान्छन् तर औषधि र चिकित्सक अभावमा रित्तो हात फर्कन बाध्य छन्।

औषधालय राम्ररी सञ्चालन नहुँदा कर्णालीका ८० प्रतिशत नागरिकले रुचाएको आयुर्वेदिक पद्धतिको उपचार सेवा ठप्प छ। त्यहाँका नागरिक महँगोमा अन्य स्वास्थ्य संस्थामा पुगेर उपचार सेवा लिन बाध्य छन्। यसले गर्दा औषधालय र नागरिकबीचको सेवा प्रवाहमा विश्वास घट्दै गएको छ।

आयुर्वेद वैद्य पार्वती रावलका अनुसार औषधालयमा ग्यास्ट्रिक, श्वासप्रश्वास, जन्डिस, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकारलगायत छालासम्बन्धी रोगका बिरामीको सजिलै उपचार हुन्थ्यो। साथै न्यूनतम शुल्कमा पाइल्स, घाउखटिरालगायतको शल्यक्रिया सेवा दिइन्थ्यो। तर अहिले औषधि र चिकित्सक नहुँदा सबै सेवा ठप्प छन्। ‘आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर डाक्टर पठाइदिन माग गरिएको छ’, तर अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन’, वैद्य रावलले भनिन्, ‘बिरामी आएमा परामर्श दिएर पठाउने काममात्रै हुन्छ। चिकित्सकीय सेवा दिन पाएको भए गरिब नागरिकलाई धेरै राहत हुन्थ्यो।’

औषधालयमा जुम्लाका सातवटै गाउँपालिका, डोल्पा, मुगु र कालिकोटसम्मका बिरामी आउँछन्। तर उनीहरुले औषधालयमा स्वधन (पसिना) निकाल्ने बाहेक सेवा पाएका छैनन्। चन्दनाथ नगरपालिकाले समेत औषधालयको संरक्षणमा ध्यान दिएको छैन।

औषधालयका नवनिर्वाचित अध्यक्ष मनोज बुढाथोकी मगरले औषधालयलाई पूर्ण सञ्चालनमा ल्याउन तिनै तहका सरकारसँग समन्वय भइरहेको बताए।

‘प्रदेश सरकारसँग दरबन्दी माग गरेका छौं। उपकरण र भौतिक पूर्वाधारको पनि अभाव छ’, उनले भने, ‘कर्मचारी समायोजन प्रक्रियाले चिकित्सक आउन ढिलाइ भएको हो।’

औषधालयमा औषधिको कमी हुन नदिन एक सय १० प्रकारका जडिबुटी संकलन गरेर ल्याब परीक्षण गर्ने तयारी भएको उनले बताए। ‘ल्याब परीक्षणपछि जडिबुटी खेती, प्रशोधन तथा औषधि फ्याक्ट्री सञ्चालन गरेर स्थानीयको समेत जीविकोपार्जन वृद्धि गर्ने अवधारणा बनाइएको छ’, उनले भने, ‘हामी समस्या समाधानका लागि तत्काल बैठक बस्ने तयारीमा छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.