ट्रम्प र आबेबीच इरानबारे छलफल

ट्रम्प र आबेबीच इरानबारे छलफल

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच इरानका बारेमा छलफल भएको छ। शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा द्विपक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीले जनाएका छन्। प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका हुन्। उनीहरूले ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। जी २० को शिखर सम्मेलन जुनको अन्त्यतिर हुने तय भएको छ।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिनुभएको छ।’ जापानी प्रधानमन्त्री आबेले यसै साताको शुरुमा इरानको भ्रमण गरेका थिए। करिब ४४ वर्षपछि जापानी प्रधानमन्त्रीले इरान भ्रमण गरेका हुन्।

यो भ्रमण अमेरिका र तेहरानबीचको नराम्रो सम्बन्ध सुधार्ने उद्देश्यले भएको थियो। आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्ला खोमेनीसँग पनि भेटवार्ता गरेका थिए। उनीहरूको भेटका क्रममा खोमेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

भेटका बारेमा ट्रम्पले ट्विट गर्दै लेखेका थिए, ‘जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्ला अली खोमेनीलाई भेटेको स्वागतयोग्य कुरा छ। चाँडै यसले एउटा सम्झौताको रूप लिने छ भन्ने मैले व्यक्तिगत रूपमा विश्वास लिएको छु।’

खाडी क्षेत्रमा ट्यांकरमाथि आक्रमण भएपछि अमेरिका र इरानबीच विवाद झनै चर्किएको हो। विश्वकै महत्वपूर्ण तेलमार्गका रूपमा चिनिएको ओमान सागरमा एक साताभित्र चारवटा तेल ट्यांकरमा शंकास्पद आक्रमण भए। अरब सागर र स्ट्रेट अफ हर्मुजको ओमानी जलक्षेत्रमा ओहोरदोहोर गर्ने मालवाहक पानीजहाजमाथि भएका आक्रमणमा इरानमाथि आशंका उब्जाएका छन्। पछिल्ला यी आक्रमण खासगरी साउदी अरेबिया, नर्वे र युनाइटेड अरब इमिरेट्स (युएई) का राष्ट्रिय ध्वजावाहक तेल ट्यांकरमा भएका छन्।

आबे इरानमै रहेका बेला पनि यस्ता आक्रमण भए। साउदी अरेबियाबाट सिंगापुरतर्फ गइरहेको कोकुका करेजियस र युएईमा इन्धन भरेर कतारबाट ताइवानतर्फ गइरहेको फ्रन्ट अल्टायर नामको तेल ट्यांकरमाथि बुधबार आक्रमण भएको थियो। अमेरिकाले आक्रमणको दोष इरानलाई लगाएको छ। इरानले उक्त आरोप खण्डन गर्दै आएको छ। दुबै जहाजका चालकदलका सदस्यलाई इरानी जलसेनाले उद्धार गरेको थियो।

यसैबीच चीनले पनि अमेरिका र इरानलाई वार्ता गर्न आह्वान गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गङ सुवाङले भने, ‘उनीहरूले द्वन्द्वलाई वार्ता र परामर्शबाट टुंग्याउनु राम्रो हुनेछ।’ यो खाडी क्षेत्रमा भएको यो विवाद विश्व समुदायको चासोको विषय भएको उनले बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङले किर्गिस्तानको बिस्केकमा भएको इरानी समकक्षी हसन रुहानीसँगको भेटमा इरानी आणविक सम्झौताको समर्थनमा चीनको पूर्ण सहयोग रहने बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.