स्मरण शक्ति बढाउन...
प्रेमनारायण भुसाल । नयाँ सूचना ग्रहण गर्ने, मस्तिष्कमा सुरक्षित राख्ने र आवश्यक परेको बेलामा सम्झन सक्ने शक्तिलाई स्मरण शक्ति भनिन्छ। मानिसलाई मात्र होइन, हरेक प्राणीलाई स्मरण शक्ति आवश्यक पर्छ। यसैका कारणले मौरी रस संकलन गरेर घारमा फर्कन्छ, गाईबस्तु साँझ आफ्ना गोठमा आउँछन्। हरेक प्राणीका लागि आहार र निद्रा अनिवार्य हुन्छ। शारीरिक स्वस्थता र स्फूर्तिका लागि आहार आवश्यक भएजस्तै शारीरिक र मानसिक स्वस्थताका लागि निद्रा आवश्यक पर्छ।
सामान्यतः स्वस्थ वयस्क मानिस छदेखि आठ घण्टा सुत्ने गर्छ। उमेरअनुसार सुत्ने अवधिमा पनि फरक पर्छ। बालक जन्मनासाथ १६ देखि २० घण्टा सुत्छ भने किशोरावस्थामा करिब ८ घण्टाको सुताइ स्वस्थकर मानिन्छ। निदाएको समयमा शरीरका थकित अंगहरूले थकान मेट्ने र ऊर्जा सञ्चय गर्ने काम गर्छन् भने मस्तिष्कले दिनभर संकलित सूचनालाई स्टोर गर्ने काम गर्छ। यतिखेर चेतन रूपमा बाह्य सूचना संकलन गर्नु नपर्ने भएकाले दिमागले पनि आराम गरेको हुन्छ।
पढाइ, लेखाइ र स्मरण गर्ने कार्य मानसिक कार्य भएकाले प्रभावकारी अध्ययनका लागि मस्तिष्कको ठूलो भूमिका हुन्छ। राम्रोसँग आराम नगरेमा वा ननिदाएमा मस्तिष्कको क्षमतामा ह्रास आउँछ। त्यसैले हरेकले आफू स्वस्थ रहन खाने, बस्ने र सुत्ने व्यवस्थित तालिका र बानी बनाउनुपर्छ।
चाँडै सुत्ने र बिहान सबेरै उठ्ने बानीले स्मरण शक्ति बढ्ने कुरा अध्ययनहरूले देखाएका छन्। कोहीकोही परीक्षाको बेला वा अन्य महत्त्वपूर्ण समयमा रातभर बस्ने गरेको पनि पाइन्छ। तर यस्ता कामले धेरै सम्झिनुको साटो बिर्सिने र जानेबुझेको कुरा पनि प्रभावकारी रूपमा अभिव्यक्त गर्न सक्ने क्षमता गुमाएको देखिन्छ।
शारीरिक तथा मानसिक श्रम धेरै गर्नु परेको अवस्थामा निद्रा पनि धेरै आवश्यक हुन्छ। त्यसैले विद्यार्थीले परीक्षाका बेलामा मात्र रातभर पढ्ने र अरू बेला सञ्चार उपकरण (इन्टरनेट, फोन, टेलिभिजन)मा भुलेर सुत्ने समयलाई कटौती गर्नु हुँदैन। यसले शारीरिक तथा मानसिक दुवै रूपमा कमजोर बनाउँछ।
भाइबहिनीहरू, परीक्षाको बेला बढी मानसिक भार पर्ने भएकाले नियमित सुताइभन्दा एक डेढ घण्टा बढी सुत्नु मानसिक स्वास्थ्यका दृष्टिले लाभदायी मानिन्छ। तिमीहरूले पनि आफ्नो जीवनशैली यसै प्रकारले बदल्दै लगे स्वास्थ्य राम्रो हुन्छ र स्मरण शक्ति पनि बलियो हुन्छ।
(भुसाल बूढानीलकण्ठ स्कुलका शिक्षक हुनुहुन्छ।)