बेलारुसमा नाटक देखाउँदा...

बेलारुसमा नाटक देखाउँदा...

नाटक, एक कला अर्थात् जीवन्त प्रस्तुति पनि। नाटक एक कथा। त्यस्ता थुप्रै कथा भोग्ने मान्छेको जीवन पनि नाटकजस्तै लाग्छ बुझ्दै जाँदा। तर नाटकले सत्य घटना र सही सन्देश पनि दिन्छ। नाटकले जीवनलाई चाहिने धेरै पाठ पनि सिकाउने रहेछ, यो अनुभवचाहिँ युरोप यात्रामा बेलारुसमा नाटक देखाउँदा बढी थाहा भयो।

जब नाटकबारे सुने, बुझेँ, त्यही बेला अर्थात् बच्चैदेखि नाटककार बन्न मन लाग्यो। चार÷पाँच वर्ष अलिअलि सिकेपछि बाबाले मेरो रुचि बुझेर होला, नाटक सिक्ने हो भन्नुभयो। प्रत्येक शनिबार काठमाडौं प्रज्ञा कुञ्ज (आफ्नै स्कुल)मा म नाटक सिक्न जान्थेँ। त्यहीँ नाटक सिक्ने ११ जनाले नाटक बनायौं। बेलारुसमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भाग लिने कुराले हामी खुसी भयौं। लालाबाला र स्कुलमार्फत पोल्यान्डमा नाटक देखाइसकेका थियौं। त्यो बेला म आफैं गइनँ।

आबुधावी (युएई)को ट्रान्जिटपछि उडेको इत्तिहादको प्लेनमा एअर होस्टेजले बेलारुस ल्यान्ड हुँदै छौं भन्दा एकदमै खुसी भएँ। पहिलो विदेश यात्रा। त्यसमा पनि युरोप। अर्को मनले बेलारुसमा नाटक देखाउने बेला आयो भनेर अलिकति आत्तिएँ अनि थोरै जोश बढेर आयो। एअरपोर्टको गेटबाहिर ‘आई एम लिली योर गाइड’ एक महिलाले भनिन्। उनले मिन्स्क सिटी पुर्‍याइन्, ३८ मिनेट लाग्यो। नाटक महोत्सव सेलिगोस्र्कमा रहेछ, मिन्स्कबाट १६० किलोमिटर टाढा। भोलिपल्ट अर्थात् तेस्रो दिन नाटक सो गर्नु थियो। थिएटर बाहिरबाट हेर्दा एकदमै सानो देखियो। गेटभित्र छिरेपछि बंगलाजस्तै पायौं। गेटबाट पाँच मिनेट हिँड्दामात्र हलमा पुगियो।

हाम्रो पालो चौथो नम्बरमा भएकाले विदेशी साथीहरूको नाटक हेर्न थाल्यौं। नाटक हेर्दा रमाइलो लाग्यो। रसियन भाषामा नाटक देखाइएकाले भाषा बुझिएन। पालोअघि चेन्जिङ रुममा गएर रोलअनुसारका लुगा लगायौं। स्टेजमा पुग्यौं। एंकरले केही बोले। पर्दा खुल्यो। नाटक गीत गाउँदै सुरु गर्नुपर्ने थियो।

नाटकमा सबैभन्दा रेस्टिङ रोल मेरो थियो। बुवा बनेर खेल्नुपर्ने। तर यसअघि नेपालमा केही नाटक देखाइसकेको थिएँ। प्रकेश सिन्धुलीयले लेखेको र निर्देशन गरेको ‘हिरोज डन्ट कम’ देखाउने व्यवस्था टंक सरले गर्नुभएको थियो। त्यसमा केही सिनेमा देखिने रोल थियो। त्यो पनि बिसाई बिसाई आरामसँग गर्नुपर्ने। मलाई कुनै टेन्सन भएन। नेपालमा साना स्टेज तर त्यहाँ त ठूलो अनि आधुनिक।

नाटक सकिएपछि हलका सबै मान्छे उठेर लामो समय ताली बजाए। पछि बुझ्दा लामो ताली भनेको अभिनय र नाटकलाई तारिफ गरेको भन्ने रहेछ त्यहाँ। हामी स्टेजबाट बाहिरियौं। नाटकको प्रेसर सकियो, आनन्दले होटलमा गएर आरामसँग सुत्यौं। भोलिपल्ट बिहान त्यही थिएटरमा हामी जत्रै र ठूला मान्छे अर्केस्ट्राको तयारीमा थिए। केही धुन सुन्यौं। सरले हामीलाई पनि ‘रेशम फिरिरि...’ गाउन लगाउनुभयो। त्यसपछि ‘रातो र चन्द्र सूर्य...’ बोलको स्वदेश गीत गायौं। यो गीत गाउँदा मलाई वीरताको महसुस भइरहेको थियो। विदेशमा नेपाली गीत गाउँदा मलाई एकदमै रमाइलो पनि लाग्यो, कारण म पनि गायनमा हराउन चाहन्छु।

गाइड लिलीले पार्कमा घुमाउन लगिन्। त्यहाँ सबैभन्दा अगाडि विश्वमै कम्युनिस्ट पार्टीको सुरुआत गर्ने मान्छे लेनिनको मूर्ति रहेछ, सबैले फोटो खिच्यौं। त्यसकै साइडमा बेलारुसकै ‘टलेस्ट टावर’ रहेछ। अलिक पर ऐनाको पार्क रहेछ। ऐना माथितिर फर्काएर राखिएको थियो। छेउमा एउटा पुल, बीचमा एउटा दुलो र फलामको पाइप तलसम्म झुन्ड्याइएको थियो। त्यहाँबाट तल झर्ने बाटोजस्तै देखियो। पहिले सबै तल झर्न डराइरहेका थिए। बालिका घिमिरे म्यामलाई सोधेर तल झरेँ। अरूलाई पनि आँट आएछ, दुईजनाबाहेक सबै साथी रमाउँदै झरे। त्यसपछि कुदेर पुलको बाटोमा आइपुगेर फस्ट भएँ। के गर्नु ? कुनै पुरस्कार थिएन।

नेपाल फर्किने दिन नजिकिँदै थियो। आज नाटकको विजेता घोषणा गर्ने दिन। दौरा लगाए,ँ सुरुवाल भेटिनँ। सँगैको साथी घुर्दै थियो। घरमा फोन गरेँ, बाबा मामु कालिञ्चोक जानुभएको रहेछ। खोज्दा खोज्दा गरेँ, भेटिनँ। सधैं आमाले ठिक्क पारिदिएको लगाउने बानी भएको मैले सबै लुगा भेटेँ, सुरुवाल भेटिनँ। टावेल तान्दा पो सुरुवाल भेटेँ। एकछिन त तनाव भयो। थिएटर पुगेपछि पाँच÷छ जनालाई साथी बनायौं। एकैछिनमा स्कुल थिएटर नेपाल र प्रज्ञा कुञ्ज स्कुल अनि सर र विद्यार्थीको नाम बोलाए। बेस्ट टिम अवार्डको सर्टिफिकेट र अरू तीनवटा पुरस्कार थाप्यौं। युरोप आएर अवार्ड जित्दाको जस्तो खुसी कहिल्यै पनि भएको थिएन।

– अञ्चित ढुंगाना

कक्षा : ८, काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, बानेश्वर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.