कक्षाबाट भाग्छु भनेर हजुरआमा सँगै बस्नुहुन्थ्यो
म सानैदेखि नाटक, नाच, संगीत, कविता लेख्न, जात्रा हेर्नमा नै बढी रुचि राख्थेँ। स्कुलबाट भागी भागी नाटक हेर्न जान्थेँ। पढ्नुभन्दा नाटक रिहर्सलमा बढी समय खर्च गर्थें। त्यसैले पनि पढाइमा कमजोर थिएँ।
मेरो जन्म २०११ सालमा धनकुटाको तल्लो कोप्चेमा भएको हो। आमाको नाम नारायणदेवी प्रधानांग हो भने बुवाको खगेन्द्र प्रधानांग। बाल्यकाल उतै बित्यो। परिवारमा हामी तीन दाजुभाइ र तीन दिदीबहिनी थियौं। म सबैभन्दा कान्छो हुँ। म अहिले ६५ वर्षको भएँ। बुवाको निधन भएको पनि १० वर्षजति भइसक्यो। म उहाँलाई सम्झिरहन्छु। उहाँकै कारण म आज यहाँसम्म आइपुगेको हुँ। त्यति बेला अंग्रेजहरूको समय थियो। बुवा दार्जिलिङबाट पढेर आउनुभएको थियो। उहाँको अंग्रेजी एकदमै राम्रो थियो। उहाँ हिन्दी, बंगाली, अंग्रेजीका किताब खुब पढ्नुहुन्थ्यो। उहाँलाई ६/७ वटा भाषाको पनि ज्ञान थियो। यति धेरै पढ्ने मान्छे मैले कमै देखेको छु। बुवा त्यति बेलाका नामी लेखकमध्ये गनिनुहुन्थ्यो। उहाँका केही कविता, नाटक, कथा, उपन्यास पनि छापिएका छन्। यसले गर्दा घरमा एक किसिमको साहित्यिक वातावरण थियो। मैले किताब पढ्ने बानी उहाँबाटै सिकेको हुँ।
भाइबहिनी हो, तिमीहरूलाई थाहा छ। तिमीहरू पछि के बन्छौ भन्ने कुरा तिमीहरूको बाल्यकाल कस्तो वातावरणमा बितेको छ भन्ने विषयले प्रभाव पार्छ। त्यसैले सानैदेखि आफूलाई खुसी मिल्ने र मन पर्ने काम गर्नुपर्छ। म आज यहाँसम्म आइपुग्नुमा मेरो गाउँ, त्यहाँको वातावरण र संस्कृतिको निकै ठूलो प्रभाव छ। मेरो घर मात्र होइन, त्यति बेला पूरै धनकुटाको माहोल एकदमै साहित्यिक र सांस्कृतिक थियो। टोलटोलमा हरेक महिना नाटक हुन्थ्यो। हरेक महिना गोष्ठी हुन्थ्यो। म हरेक कार्यक्रममा भाग लिन्थेँ। प्रायः हरेक कार्यक्रमबाट पुरस्कार पाएकै हुन्थेँ। तर, मलाई अरूभन्दा नाटकप्रति विशेष रुचि थियो। त्यति बेला म यस्तै सात वर्षको थिएँ सायद। मेरो टोलका सबै केटाकेटीलाई दसैं, तिहार कहिले आउँछ भन्ने हुन्थ्यो। तर मलाई भदौरो जात्रा कहिले आउँछ भन्ने प्रतीक्षा हुन्थ्यो। किनभने जात्राको बेला टोलमा हुने नाटकमा मैले भाग लिन पाउँछु कि भन्ने आश हुन्थ्यो।
म मादल बजाउन पनि एकदमै सिपालु थिएँ। भदौरे जात्रा होस् या अरू कुनै कार्यक्रम, त्यसमा मलाई मादल बजाउन लगाउँथे। मलाई अभिनयमा पनि रुचि थियो। जात्रा वा कुनै कार्यक्रम हुनुपहिले टोलमा ठूला दाइहरूको बैठक हुन्थ्यो। त्यो बैठकमा म पनि कुनामा गएर बस्थेँ। बैठकमा उनीहरूले नाटकका लागि कथा र कलाकार छान्थे। मलाई पनि छान्छन् कि भनेर अगाडि अगाडि सर्थें। तर म कहिल्यै छनोटमा परिनँ। म निराश हुन्थेँ। बरु मादल बजाउन आग्रह गर्थे। मलाई सानो देखेर छानेनन् कि जस्तो लाग्थ्यो।
सानैदेखि पढाइमा खासै रुचि थिएन मेरो। बरु यस्तै यस्तै कार्यक्रममा भाग लिन मन लाग्थ्यो। म ६ वर्षको हुँदादेखि स्कुल जान थालँे। घरबाट स्कुल नजिकै थियो। त्यो स्कुलजस्तो पनि थिएन। सानो झुप्रो, घाम लागे पनि बिदा; पानी परे पनि बिदा। बोरामा बसेर पढ्नुपथ्र्यो। सरहरूले पनि राम्ररी पढाउँदैनथे। त्यसैले जान मन लाग्दैनथ्यो। स्कुल जाने डरले कुनामा लुक्थेँ। हजुरआमाले मलाई खोजी खोजी स्कुल पुर्याउनुहुन्थ्यो। बुवाले केही भन्नुहुन्थेन। म कक्षाबाट भाग्छु कि भनेर हजुरआमा सँगै बस्नुहुन्थ्यो। हजुरआमा नभए म फुत्त भागिहाल्थेँ।
एक दिन कक्षा २ को रिजल्ट आयो। सबै पास भए, म फेल भएँ। एकदमै नराम्रो लाग्यो। त्यसपछि पढ्नुपर्दो रैछ भन्ने चेत खुल्यो। अनि सधैं स्कुल जान थालेँ। बुवाले कक्षा ४ मा अर्को स्कुलमा भर्ना गरिदिनुभयो। त्यहाँ पनि पढाएको फिटिक्कै मन परेन। पछि अर्को स्कुल गएँ। त्यहाँ विद्यार्थी पिट्ने काम मात्रै हुन्थ्यो। त्यसपछि मेरो मनमा विभिन्न प्रश्न उठ्न थाले। सरहरूले किन विद्यार्थीलाई पिट्छन् ? के माया गरेर नपिटी पढाउन सकिन्न ? विस्तारै विस्तारै मनमा एक खालको विद्रोहको बीउ रोपियो।
म सानैदेखि नाटक, नाच, संगीत, कविता लेख्न, जात्रा हेर्नमा नै बढी रुचि राख्थेँ। स्कुलबाट भागी भागी नाटक हेर्न जान्थेँ। पढ्नुभन्दा नाटक रिहर्सलमा बढी समय खर्च गर्थें। त्यसैले पनि पढाइमा कमजोर थिएँ। एक पटक गाउँका दाइहरूले मलाई नाटकमा नछानेपछि मैले आफैं नाटक बनाउने सुर गरेँ। मेरै उमेरका टोलभरिका केटाकेटी जम्मा पारेर एउटा नाटक गरौं भने। त्यो नाटक टोलको प्रत्येक घरघरमा गएर देखायौं। उनीहरूले अलि अलि पैसा र खानेकुरा दिन्थे। त्यो मैले गरेको पहिलो नाटक थियो। त्यहीँबाट मेरो नाटक यात्रा पनि सुरु भयो। सायद सात वर्षकै थिएँ म त्यति बेला। नाटकको सबैले तारिफ गरे। त्यसपछि मलाई सबैले विशेष रूपले हेर्न थाले। यसरी बाल्यकालमै मलाई नाटकको छाप पर्यो र अहिलेसम्म यसमै सक्रिय छु।
मेरो बुवाले काठमाडौंबाट गाईजात्रामा छापिएको एक चाङ पत्रिका घरमा लिएर जानुभयो। त्यसमा प्रधानमन्त्री, मन्त्री, उच्च पदमा रहेकालाई व्यंग्यात्मक रूपमा गाली गरिएको थियो। त्यो देखेर साथी निरञ्जन प्रधान र राजेन्द्र प्रधानसँग मिलेर एउटा कागजमा कार्बन पेपर राखेर त्यस्तै नक्कल गरेर पत्रिका हातले लेख्यौं। ठूलाबडाका घरघर र चोकचोकमा टाँस्यौं। पुलिसले हामीलाई समात्यो र खाली पेपरमा लेख्न लगायो। यसरी म जानीनजानी देशको विसंगति, विकृतिको विरोधी भइसकेको रहेछु। त्यसैले मैले जति पनि नाटकहरू गरेँ; सबै देशको कुरीति, खराब राजनीतिलाई व्यंग्य गरेर मात्र बनाएको छु। भाइबहिनीहरूले पनि सधैं राम्रो काम गर्नुपर्छ। नाटक, कथा, कविता, उपन्यास, फिल्म जुनसुकै विधामा लागे पनि समाजलाई सही बाटोमा डोर्याउने खालको हुनुपर्छ। हामीले पनि राम्रो काम गर्नुपर्छ। सानैदेखि राम्रो बानीको विकास गर्नुपर्छ।
बाल्यकाल भनेको एकदमै सुन्दर समय हो। यो समयमा हामीले ज्ञानगुनका कुरा धेरै सिक्न सक्छौं। त्यसैले राम्रो कुरामा मात्र ध्यान दिनुपर्छ। मलाई मेरो बाल्यकाल एकदमै राम्रोसँग बितेको जस्तो लाग्छ। एकदमै नाटकमय, नृत्यमय, संगीतमय।
अहिले डिजिटल युग वा मोबाइलको युग छ। सानैदेखि बालबालिका मोबाइलमा झुम्मिरहेका देखिन्छन्। यो राम्रो होइन। सायद त्यति बेला नै मोबाइलको जमाना भएको भए म आज नाटककार हुँदैनथेँ होला। किनभने यसले बच्चाहरूको सिर्जनशीलतालाई मारिदिएको छ। त्यसैले भाइबहिनीहरू, मोबाइल र इन्टरनेट एकदमै कम चाहिने विषयमा मात्र प्रयोग गर्नुपर्छ। अहिले तिमीहरूले यसको बढी प्रयोग गर्नु हुँदैन है। आजको यो युग प्रकृतिको विरुद्धमा उभिन आएको छ। मेरो पूरा बाल्यकाल प्रकृतिको काखमै बित्यो। अहिलेका केटाकेटी योसँग साक्षात्कार हुन पाएका छैनन्। त्यसैले चाहिने मात्रामा यसको प्रयोग गरेर प्रकृतिको आनन्द लिन जान्नुपर्छ।
(नाटककार मल्लसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)