सर्पदंशको जोखिम बढ्यो
चन्द्रपुर : गर्मी बढेसँगै रौतहटको उत्तरी भेगमा सर्पदंशको जोखिम बढेको छ। वैशाख र जेठ महिनामा मात्रै चन्द्रनिगाहपुर अस्पतालमा ५२ जना सर्पदंशका बिरामीले उपचार गराएका छन्।
धेरैजसो कम विष भएका सर्पले टोकेका बिरामी अस्पताल आएको चिकित्सक बताउँछन्। दैनिक रुपमा सर्पले टोकेको भन्दै बिरामी उपचारमा आउने गरेको चन्द्रनिगाहपुर अस्पतालकी सहायक स्वास्थ्य अधिकृत कविता लामाले बताइन्।
रौतहटमा गोमन, करेत, धामन प्रजातिका सर्प बढी पाइन्छन्। विषालु सर्पको टोकाइपछि समयमै उपचार नपाउँदा बर्सेनि धेरैको ज्यान जाने गरेको छ।
गोमन सर्पले टोकेमा एक घन्टाभित्रै अस्पताल पु¥याउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन्। सर्पले टोकेका शंका लागेमा चाँडोभन्दा चाँडो अस्पताल नलैजाँदा बिरामीको मृत्यु हुने गरेको छ।
सर्पले टोकेमा वा शंका भएमा तुरुन्त अस्पतालमा गएर उपचार गराउन चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर अभिषेक अधिकारीको सुझाव छ।
सर्पले टोेकेको भागमा चलाउन नहुने, विष झार्ने भन्दै घाउ चिर्न नहुने, टोकेको भाग भन्दा माथि धेरै कसेर बाँध्न नहुने डा. अधिकारीको सुझाव छ।
सर्पले टोकिहालेमा आत्तिने, डराउने र घरमै झारपुख तथा जडीबुटी प्रयोग गर्नुभन्दा पनि तालिम प्राप्त चिकित्सक भएको अस्पतालमा जानुपर्ने उनले बताए।
रौतहटको उत्ततरी भेगमा सर्पले टोकेका बिरामीको उपचार चन्द्रनिगाहपुर अस्पतालमा हुने गरेको छ। यस्तै जिल्ला अस्प्ताल गौरमा पनि सर्पले टोकेका बिरामी दिनहुँजसो आउने गरेका छन्।
बिरामीका लागि ऐन्टी स्नेक भेनम औषधि पर्याप्त रहेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ।