बेंसीसहरको सडक कालोपत्रे
बेंसीसहर : सदरमुकाम बेसीसहरको सडक कालोपत्रे भएको २४ वर्ष वितिसक्यो। त्यस यता एकाध वर्ष टालटुल गरिएपनि विस्तार र स्तरवृद्धि हुन सकेको छैन। डुम्रे–बेंसीसहर सडक कालोपत्रे भएको दुई दशकसम्म बेंसीसहर भित्रका अन्य सडक धुलाम्मे थिए। कति खनिएका थिएनन्, खनिएकापनि कालोपत्रे हुन सकेका थिएनन्।
चालु आर्थिक वर्षमा भने सदरमुकाम भित्रका दर्जनौं सडकको मुहार फेरिएको छ। यहाँका ३० बढी सडकहरु धमाधम कालोपत्रे भएका छन्। बेंसीसहर नगरपालिका र सहरी विकास मन्त्रालयले सडक कालोपत्रे गरेका हुन्। चालु आर्थिक वर्षमामात्रै बेंसीसहर बजार क्षेत्रका १२ वटा सडक कालोपत्रे भइरहेको छ। २ वटा सडक ढलान भएको छ। सम्झौता भएर निर्माण कार्य भइरहेको केही सडकको निर्माणकार्य अन्तिम चरणमा पुगेको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए।
उनकाअनुसार बजार क्षेत्रमा पर्ने बेंसीसहर नगरपालिका ७ र ८ का सडक कालोपत्रेका लागि काम अघि बढाइएको छ। बजार क्षेत्रका १३ वटा सडक कालोपत्रेका लागि सम्झौता भएको थियो। यीमध्ये ३ वटा सडकको निर्माण कार्य सकेर भुक्तानी भइसकेको छ। यस्तै, ढलानका लागि सम्झौँता भएका ३ वटा सडकको काम पनि सकिएको छ।
नगरपालिकाका शाखा अधिकृत शम्भुप्रसाद घिमिरेकाअनुसार बेसीशहरस्थित जनविकास स्कूल अगाडिको सडक कालोपत्रे, गैरीधारा नाली तथा बाटो ढलान, मुक्तिनाथ मार्ग ढलान तथा नाला निर्माण सकिएको छ। तिलानदी ओख्लेफाँट सडक, मनाङ्गे चौतारा गुमानसिंह रामबाबुबीचको सडक, ओख्लेफाँट सडक, गंगटे मार्ग सडक, ठमेल मार्ग सडक, लाइन स्टार होटल जाने सडक, नागबोली सडक, बुद्ध मार्ग, मोहन अधिकारीको घरसम्मको सडक, आले मुलमार्ग मोटरबाटो दोबाटोसम्म सडक, सामुदायिक अस्पताल पछाडिको सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगको छ। त्यसैगरी बेसीशहर–२ भकुण्डेमा प्रदेश सरकार र बेसीशहर नगरपालिकाको साझेदारीमा १ सय ८३ मिटर सडक कालोपत्रे गरिएको छ।
नगरपालिकाका इन्जिनियर शर्मिला श्रेष्ठकाअनुसार नगरपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत लगानीमा सडक कालोपत्रे भएको हो। चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयबाट ८ वटा सडक कालोपत्रेको काम भइरहेको छ। नगरभित्रका सबै सडक कालोपत्रे गरिने गरी काम भइरहेको नगर प्रमुख अर्यालले दाबी गरे। उनले भने–‘अर्को वर्षदेखि बेंसीसहरबासीले हिलो र धुलोमा हिँड्नु पर्दैन। धुलो, खाल्डाखुल्डी तथा हिलोमैलो र बिग्रिएको बाटो सबै कालोपत्रे हुन्छ।’ विकासको मेरुदण्ड नै सडक भएकाले नागरिकको घरदैलोसम्म पुग्ने गरी सडक विकासको काम गरिने उनले बताए।
नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीकाअनुसार सडक कालोपत्रेका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ र सहरी विकास मन्त्रालयले ७ करोड रुपैयाँ छुट्याएको छ। गतवर्ष नगरभित्रको ६ वटा सडक कालोपत्रे गरिएको थियो। सहरी विकास मन्त्रालयले एकल लगानीमा सडक कालोपत्रे गरेको र नगरपालिकाको हकमा उपभोक्ताको श्रमदान रहने छ। बजार क्षेत्रको सडक कालोपत्रे भएपछि नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गर्ने योजना रहेको उनले बताइन्। ‘यसवर्ष बजारको सडक कालोपत्रे भ्याउँछौं। अर्को वर्ष ग्रामीण क्षेत्रमा जाने योजना छ’, अधिकारीले भनिन्।