एक्लो उपत्यका- १
रामगोपाल आशुतोष
यो उपत्यकाले
आउने सबैलाई सबै दियो।
- इन्द्रकमलले जस्तै इज्जत दियो
- घ्यू कुमारीले जस्तै औषधि दियो
- गुणकेशरीले जस्तै गुँड दियो।
सतिले सरापेको प्रमाणित गर्न
भलो गर्ने उपत्यकाको- इज्जत लुटे
उर्बर माटोमा- विषबमन गरे
प्राचीन सभ्यताको- संस्कृति भत्काए !
जङ्गल फाँडे, नदी फोहर पारे
जमिन अतिक्रमण गरे, जल प्रदूषित पारे
जागिरमा भाषाको जञ्जीर बनाए।
यो उपत्यकाले
भेदभाव र उँचनीच कहिल्यै गरेन।
कृष्णलाई पनि
धूपदीप, नैवैद्यले सम्मान गर्यो
र, मञ्जुश्रीलाई पनि
फूल, चन्दन, श्रद्धाले स्वागत गर्यो।
माग्न आउने सबैलाई सबै दियो।
- मन्दिरको पवित्रता दियो
- सहअस्तित्व र सुरक्षा दियो
- परम्परा र रीतिरिवाज दियो
आउनेहरूले
- गुणको बदला खुनले लत्पताए मन्दिर
सहअस्तित्व मासेर
- एकतन्त्र, अस्थिरता र अशान्ति फैलाए
सभ्यता मासेर
- सडक विस्तार गरे।
उपत्यकाबासीको मन्दिर ढले, पाटीपौवा भत्किए
जीवनदर ओरालो लाग्यो, मृत्युदर उकालो
सरकारलाई माया लागेछ आखिरमा
र, सर्वसम्मतिलेचिहानको सङ्ख्या बढाए !
आँगन काटे-पार्किङ स्थल बनाए
घर भत्काए- सडक बनाए
उपत्यकाको छातीमाथि बुलडोजर चलाए।
के के दिएन उपत्यकाले !?
पेटले भोकालाई- भातदियो
शरीरका नाङ्गालाई- लुगादियो
घरबारविहीनलाई- घर दियो।
उपत्यकाले
बहुरूपियालाई सिंहदरबार दिएर शासक बनायो।
शासकले उपत्यका भत्काएर-
कंक्रिटको कङ्काल बनायो।
बहुराष्ट्रिय योजनाका उद्योगलाई
पूmल दिएर ईश्वर बनायो।
हाइब्रिड ईश्वरले पहिचान र इतिहासलाई मासेर
- सामूहिक चिहान बनायो
त्यसपछि एउटा उखान बनायो
- बाउ दुष्ट
र, उपत्यका इष्ट हुँदैन।
(मूल नेपालभाषाबाट कविकै उल्था)