कर्मचारी अभावले सेवा प्रवाह सुस्त
कालिकोट : कर्मचारी समायोजनपछि कालिकोटका स्थानीय तह रित्तो भएका छन्। आर्थिक वर्षको अन्त्यमा पालिकामा कर्मचारी अभाव हुँदा दैनिक कामकारबाही प्रभावित बनेको छ। विकासे काम तिव्र हुने यो समयमा कर्मचारी नहुँदा विनियोजित रकम कार्यान्वयन हुन सकेको छैन।
समायोजनपछि अधिकांश कर्मचारी संघ र प्रदेशमा गएका छन्। तर स्थानीय तहका लागि खटाइएका कर्मचारी पनि कार्यालयमा हाजिक नहुँदा निर्धारित काम गर्न नपाएको कालिकोटका जनप्रतिनिधिहरुको गुनासो छ। कर्मचारी अभावले दैनिक कार्यालयमा आउने सेवाग्राहीलाई रित्तो हात फर्काउनुपरेको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बर्ता।
‘प्रशासनिक काम हेर्ने प्रशासकिय अधिकृत नै छैनन्, रकम भुक्तानी र विकासे काम हुने बेला नै आर्थिक वर्षको अन्त्यमै हो’ अध्यक्ष बमले भने, ‘योजनाका कामको त कुरै छोडौं, कार्यालयमा आउने सेवाग्राहीले पनि सहज रुपमा काम लिन पाएका छैनन्।’ पहिला रहेका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद कुस्मा सरुवा भएपछि नयाँ अधिकृत अँझै कार्यालय हाजिर भएका छैनन्।
यस्तै रास्कोट नगरपालिकामा पनि आवश्यकता अनुसार न्यूनतम कर्मचारीसमेत छैनन्। समायोजनमा प्रशासकिय अधिकृत र लेखापालसहित ६ जना कर्मचारी बाहिर गए। उनीहरुको ठाउँमा हालसम्म एकजना कर्मचारी पनि उपस्थित भएका छैनन्। तिलागुफा नगरपालिकामा उप–प्रमूख दर्शना नेपालीले भनिन्, ‘अधिकृतले संघ रोजे, खरदार र सुब्बाले प्रदेश, गाउँपालिकामा आउने कोही छैन।’
कर्मचारी समायोजनका नाममा बहुअधिकारप्राप्त स्थानीय तहलाई असफल बनाउने प्रयास भएको उनको भनाइ छ। दरबन्दी अनुसारका अन्य कर्मचारी आउने अपेक्षा गरिए पनि कुनै पनि कर्मचारी उपस्थित नहुँदा विकास निर्माणका कामहरु प्रभावित भएको उनले बताइन्।
रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले कालिकोटबाट निजामति क्षेत्रमा निकै न्यून सहभागीताका भएकैले स्थानीय कर्मचारी अभाव भएको बताए। ‘समायोजनमा सबै आ–आफ्नो क्षेत्र छानेर गए, हाम्रो क्षेत्रबाट निजामति सेवामा सहभागीता नै न्यून छ। आफ्नै ठाउँका कर्मचारी नभएपछि दुर्गममा कसले छनोट गरेर आउँछन् ? ’ उनले प्रश्न गरे। अहिले रास्कोट नगरपालिकामा नागरिकता सिफारीस र जन्मदर्ता गर्ने कर्मचारी पनि छैनन्। जस कारण नगरका सार्वजानिक सेवा तथा विकास निर्माणको काम अधुरै छन्।
कर्मचारी नहुँदा सबै काम प्रभावित भएपछि नगरपालिकाले अगामी वर्षदेखि स्थानीय युवालाई लोकसेवा आयोग बढाउने योजना बनाएको छ। ‘निजामतिमा हाम्रो क्षेत्रका युवाको सहभागीता बढाउन अर्कोवर्षदेखि नगरपालिका आफैले पढाउने योजना बनाएको छ। यसका लागि बजेटको व्यवस्था गर्नेछौं।’ नगरप्रमुख बरालले भने।