‘गाउँका सिंहदरबार’ भाडाकै घरमा
धादिङ : गाउँका आधा सिंहदरबार घर भाडामा लिएर सञ्चालन भइरहेका छन। नगरपालिका र गाउँपालिकाका आफ्नै भवन नहुँदा प्रशासनिक तथा विकास निर्माणमा समस्या आएको पालिका प्रमुखहरूको गुनासो छ। धादिङका १३ स्थानीय तहमध्ये ९ वटाको आफ्नै कार्यपालिका भवन छैन। १ सय ४ वडामध्ये ५२ वटा वडा कार्यालय व्यक्ति तथा सहकारीका भवन र कोठा भाडामा लिएर सञ्चालित छन्।
८ वटा वडा रहेको गल्छी गाउँपालिकामा ६ वटा वडाको आफ्नो भवन छैन। गाउँकार्यपालिकाको भवन पनि भाडाको घरबाट सञ्चालित छ। ६ नम्बर वडा कार्यालय भवन जीर्ण भएको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए। ६ वटा वडा रहेको रुविभ्याली गाउँपालिकाको पनि आफ्नो भवन छैन। रुविभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामाले भनिन्, ‘कार्यपालिका भवन बनाउन प्रदेश सरकारको विशेष अनुदान आएको छ, माटो परीक्षण र डिपिआर तयार भइसकेको छ।’
खनियावास गाउँपालिकाले पनि पुरानो दार्खा गाविस भवनमा छिमेकी घरका कोठा थप भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ। ५ वटा वडा रहेको खनियावासको २ वटा वडाको मात्रै आफ्नो भवन छ। गाउँपालिकाभित्रका ८ वटा शाखाका लागि कोठा बनाउँदै गरेको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए।
जिल्ला सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिका पनि साँघुरो भवनबाट सञ्चालित छ। कार्यालय रहेको भवनमा आधा कर्मचारी मात्रै अटाउने भएकाले आधाले अरू कार्यालय भवनमा बसेर सेवा दिइरहेको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाले बताए।
धुनीबेंसी नगरपालिकाका ६ वटा वडा कार्यालयको आफ्नै भवन छ। २ वटा वडा कार्यालयको जग्गा छनोट भइसकेकाले छिट्टै निर्माण थाल्ने उपमेयर निरु खरेलले बताइन्।
त्रिपुरासुन्दरी गाउँपालिकाको भने आफ्नै भवन छ। ज्वालामुखी गाउँपालिकाले पनि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ। ७ वटा वडा रहेको ज्वालामुखी गाउँपालिकामा ४ वटा वडाको मात्रै आफ्नो भवन छ। गाउँपालिका अध्यक्ष विनोद तिमल्सेनाले भने, ‘आफ्नो नाममा जग्गा पास हुनेबित्तिकै निर्माण सुरु भइहाल्छ।’
११ मध्ये ७ वटा वडा कार्यालय भाडामा रहेको र आगामी वर्ष निर्माण थालिने थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए। ८ वटा वडा रहेको गजुरी गाउँपालिकामा पनि ६ वटा वडाको आफ्नै भवन नभएको गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन्।
सिद्धलेक गाउँपालिकाले भने गत वर्ष ४ वटा वडा कार्यालय भवन बनाएको थियो। सिद्धलेकमा ३ वटा वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष प्रेम सिलवालले जानकारी दिए।
गंगाजुमना गाउँपालिका आफ्नै भवनबाट सञ्चालित छ भने ५ वटा वडा रहेको नेत्रावती गाउँपालिकाका सबै वडा कार्यालय भाडामा रहेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर शाक्यले बताए।