‘स्यामा पिन्बा’ उत्कृष्ट
काठमाडौं : तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) मा तामाङ समुदायमा छोरी हुर्केपछि गुन्यूचोली दिने चलनमाथि बनेको छोटो फिल्म ‘स्यामा पिन्बा’ उत्कृष्ट घोषित भएको छ। सञ्चु थोकर निर्देशित ‘स्यामा पिन्बा’ ले तामाङ समुदायको मौलिकता उजागर गरेको भन्दै ‘सेमरी छोरङान ग्रान्ड जुरी अवार्ड’ दिइएको हो।
डेढ दशकअघि जयनन्द लामाले निर्देशक गरेको पहिलो तामाङ फिल्म ‘सेमरी छोरङान’ मा नामबाट दिइएको अवार्डको राशि ५० हजार रुपैयाँ छ। राष्ट्रिय सभागृहमा सम्पन्न महोत्सवमा देश विदेशबाट १८ छोटा फिक्सन र डकुमेन्ट्री देखाइएको थियो। सञ्चु थोकरद्वारा निर्देशित चलचित्र १६ मिनेटको थियो। वेष्ट डकुमेन्ट्री अवार्ड कमल योञ्जन निर्देशित ‘मधुराजा’ जित्यो। यो डकुमेन्ट्रीले २५ हजारसहितको अवार्ड जितेको छ।
त्यस्तै उत्कृष्ट सर्ट फिल्म अवार्ड अमृतमान घिसिङको ‘क्युई’ (पानी) ले जित्दा पब्लिक च्वाइस अवार्ड ‘छ्यो पोङ’ को पोल्टामा गयो। कमल योञ्जनद्वारा निर्देशित छ्योपोङमा प्रेम गरी भागी विवाह गरेपछि छ्यो पोङ (चोरी सगुन) लाने चलन उतारेको छ। स्पेसल मेन्सन अवार्ड उदय लामाको ‘म्हेन्दोमाया डकुमेन्ट्री’ले हात पारे।
त्यस्तै इन्करेजमेन्ट अवार्ड छोटो फिल्म ‘नोर्बु’ ले जित्यो। छेडुप तामाङले निर्देशन गरेको यो फिल्मले १० हजार रुपैयाँ र अवार्ड पायो। तामाङ आवाज र सेलो फाउन्डेसनले गरेको महोत्सवमा एससीआरसी, काठमाडौं महानगरपालिकालगायतको सहकार्य रहेको थियो। फेस्टिभलमा अप्रतिस्पर्धीको रूपमा अमेरिकाबाट ङिमा पाख्रिन तामाङको ‘गिफ्ट फ्रम मदर’, नेपालबाट फूलमान बलको ‘सेलफोन’ सहभागी थियो भने क्यानडाबाट ग्राब्रियल ग्रेनोटको ‘पिल्ग्रिम्स टु पाँचपोखरी’ प्रतिपस्र्धामा थिए।
महोत्सवको समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले राष्ट्र भाषाका चलचित्रलाई प्रोत्साहन दिन यस्ता कार्यक्रमको सघाउने बताए। महोत्सवमा तामाङ चलचित्रसम्बन्धी विषयगत छलफल, भिजुअल पोइट्री एवं कवितावाचन, परम्परागत थांका चित्रकला एवं मूर्ति कलाबारे अन्तरक्रिया भएको महोत्सव अध्यक्ष विगेन्द्र वाइबाले बताए।