सडक मर्मतका लागि ३८ जना हेरालु खटिए
बेंसीसहर : बर्खा लागेपछि गाउँका सडक छिचोलि नसक्नुका हुन्छन्। हिउँदमा धूलो, बर्खामा हिलो ग्रामीण सडकको नियति नै हो। तर, लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने बर्खाभर सडक अवरुद्ध हुन नदिन हेरालुको व्यवस्था गरेको छ।
बाटो हेरालुको व्यवस्थासँगै बर्खामा सडक अवरुद्ध हुने समस्याको अन्त्य हुने भएको छ। गाउँपालि भित्रका सबै मुख्य सडक तथा शाखा सडक वर्षभरी नै सञ्चालन गर्ने योजना ल्याएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले मुख्य तथा शाखा बाटो मर्मत सम्भार तथा हेरचाहका लागि सुरुमा ३ महिनाका लागि ३८ जना बाटो हेरालुको व्यवस्था गरेको अध्यक्ष अर्जुन गुरुङले बताए। हेरालुले नाली बनाउने, पानी कटाउने, खाल्डा पुर्ने, ढुंगा हटाउनेलगायतको काम गर्ने छन्। ९ वटै वडाको सिफारिसमा छनौट भएका हेरालुलाई प्रशिक्षण दिएर कार्यक्षेत्रमा खटाइएको छ।
बाटो हेरालु असार १ गतेबाट काममा खटिएका छन्। हेरालुलाई हेलमेट, बेल्चा, पञ्जा, ज्याकेट दिइएको छ। 'बर्खा सुरु भयो, अब दिनदिनैजसो पानी पर्छ। स्तरवृद्धिको चरणमा रहेका सडक बर्खाले विगार्छ। सवारी र पैदलयात्री हिँड्न समस्या हुन्छ,' अध्यक्ष गुरुङले भने, 'बर्खाको समयमा पनि सहजै सवारी साधन सञ्चालन गर्न सकियोस् र नागरिकले दुःख नपाऊन भनेर हेरालुको व्यवस्था गरेका हौँ।'
गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार बाटो हेरालुले बिहान १० बजेदेखि ५ बजेसम्म बाटो बनाउने काम गर्नेछन्। आपत विपत परेका बेला बिहान बेलुका पनि प्रयोग गरिने उनले बताए। हेरालुले काम गरे नगरेको निरीक्षण वडाले गर्नेछ । आवश्यक परेमा गाउँपालिकाबाट पनि निरीक्षण गरिने उनले बताए।
हेरालुलाई प्रति महिना १८ हजार रुपैयाँ पारिश्रमिक दिइएको छ। ठूलै बाढीपहिरो आएर बाटो बिग्रिएमा हेरालुसँगै गाउँपालिकाको भ्याकु लोडर ल्याएर पन्छाउने व्यवस्था मिलाइएको छ।