राजधानी बम विस्फोटको अर्को पाटो : घाइतेका परिवारले भोगेको पीडा

राजधानी बम विस्फोटको अर्को पाटो : घाइतेका परिवारले भोगेको पीडा

सन्तोषी महर्जन (२७)ले दिउँसैदेखि श्रीमान विक्रम लामा (२९)लाई पर्खिरहेकी थिइन्। राति ९ बजेसम्म पनि उनी फर्किएनन्। त्यसैबेला कसैले ढोका ढकढक्यायो। उनले ढोका खोलिन्। बाहिर प्रहरीको टोली उभिएको थियो।   

सामान किन्न भनेर दिउँसै घरबाट निस्किएका विक्रम बेलुककासम्म घर नआउँदा सन्तोषीलाई रत्तिभर चिन्ता थिएन। किनकी काठमाडौंमा उनका आफन्त धेरै थिए। विक्रम आफन्त कहाँ जाने, बस्ने गर्थे।  त्यो दिन पनि उनी कतै गए होलान् भनेर सन्तोषी ढुक्क थिइन्। तर, समय उस्तै रहेन।

सन्तोषीले कल्पना नै नगरेको घटना २ घण्टाअघि नै घटिसकेको थियो। उनले भर्खर थाहा पाएकी थिइन्। आफूले पर्खिरहेका श्रीमन जीवन र मरणसँग जुधिरहेका छन् भनेर। 'प्रहरी आएर श्रीमान खोइ भनेर सोधे मैले बाहिर जानुभएको छ आउँदै हुनुहोला भनेर जवाफ फर्काएँ', सन्तोषी त्यो रात सम्झिन्छिन्,'त्यसपछि प्रहरीले घरबेटीलाई बोलाएर मेरो श्रीमानले बम विस्फोट गराएको र आफै घाइते पनि भएको जानकारी दियो।'

भिडियाे :

गत जेठ १२ गते राजधानीमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा विक्रम घाइते भएका थिए। थानकोटमा भएको विस्फोट परी उनको शरीरमा गम्भीर चोट लाग्यो। विस्फोटकै कारण उनको एउटा आँखामासमेत समस्या आएको छ। अहिले विक्रमको शहीद स्मृति अस्पताल कलंकीमा उपचार भइरहेको छ।

त्यो साँझदेखि सन्तोषी न ढक्क भएर सुतेकी छिन् न चैनको सास फेर्न पाएकी छिन्। उनका आँखाबाट थाहै नपाइ आँशु बगिरहन्छन्। 'छिमेकीले हेर्ने नजर नै फेरिएको छ, छोरीलाई कोठमा राख्न सकेकी छैन, घरबेटीले कोठा छोडेर जा भनिसकेका छन्’ आँशु पुछ्दै सन्तोषी भन्छिन्।

०००

निकै व्यस्त व्यक्ति थिए हरि खड्का (५०) ! मिलन चोक नजिकै रहेको उनको किराना पसलमा सधैँ भीड हुन्थ्यो। ग्राहकलाई सामान बेच्दाबेच्दै उनको दिन जान्थ्यो। त्यो दिन छोरा मिलन खड्का (१९)लाई पसलको जिम्मा दिएर विष्‍णु कपाल काट्न निस्किएका थिए।

'बुवाले दिउँसैदेखि कपाल काट्न जानुछ भन्दै हुनुहुन्थ्यो, म पसलमा आएपछि उहाँ हिड्नुभयो' मिलन त्यो दिन सम्झिन्छन्, 'म पसलमा बसिरहेको थिएँ आधा घण्टापछि ठुलोमम्मीले बुवाको एक्सिडेन्ट भयो, ओम अस्पतालमा लगेको छ भन्नुभयो।'   

विक्रम लामाकी श्रीमती सन्तोषी महर्जन र हरि खड्काकी श्रीमती राधिका खड्का।


जब मिलन ओम अस्पतालमा पुगे, उनको टाउको रन्थनियो। घाइतेहरूको अवस्था विभत्स थियो। सबैको शरीर छियाछिया भएको देखिन्थ्यो। 'सुरुमा मैले बुवालाई चिन्नै सकिन, त्यहाँको अवस्था कस्तो थियो भन्ने कुरा मैले अहिले भन्न सक्दिन'

१२ गतेकै श्रृङ्खलाबद्ध बम विस्फोटमा हरि पनि घाइते भएका थिए। बेलुका ४ बजे सुकेधाराको सैलुनमा भएको विस्फोटमा उनी पनि परे। त्यो दिन हरिकी श्रीमती राधिका खड्का (४४) दिदीको घरमा गएकी थिइन्। जब उनले श्रीमनको खबर थाहा पाइन् छाँगाबाट खसेझैं भइन्।

'उहाँलाई कुनै पार्टीसार्टीमा लाग्ने समय नै थिएन, कपान काट्न गएको बेला विस्फोटमा पर्नुभएको हो' राधिका भन्छिन्,'बम पड्काउनेको परिवार भनेर हामीलाई बसिनसक्नु भएको छ, सबैले शंकाको नजरमा हेर्छन्।'

०००

सुरेन्द्र महर्जन (५४) पेशाले मिस्त्री हुन्। चाबहिलको रैथाने परिवारमा जन्मिएका उनी अहिले परिवारसहित कपनमा बस्दै आएका छन्। उनको परिवारले कपनमा कुखुरा पालन तथा तरकारी उत्पादन गर्छ।

१२ गतेकै विस्फोटमा सुरेन्द्र पनि परे। सुकेधाराको सैलुनमा बड्किएको बमले उनको शरीर छियाछिया पारिदियो। तर, उनी बाँच्न सफल भए। अहिले उनको उपचार चाबहिलस्थित ओम अस्पतालमा भइरहेको छ। घाउमा संक्रमण बढ्दै गएपछि केही दिनअघि मात्र डाक्टरले उनको खुट्टा काटिदियो।

सुरेन्द्रको कुरुवाकरुपमा खटिएका छन् छोरा सुबोध महर्जन (१९)। 'पहिलेदेखि चाबहिलमै बसेका कारण बुबा यतातिर आइरहनुहुथ्यो, त्यो दिन पनि घुम्न आउनु भएको रहेछ' सुबोध घटनाको दिन सम्झिन्छन्,'बुवा विस्फोटमा परेको थाहा पाएपछि हामी सबै यहाँ आयौं।'

सुबोधकाअनुसार घटना भएदेखि घरको सबै काम प्रभावित भएको छ। कुखुरा फार्म लथालिङ्ग भएको छ। घरको सबै काम सम्हाल्ने सुरेन्द्र नै  भएको छोरा सुवोध बताउछन्।

'प्रहरीको अमानवीय व्यवहार'

बम विस्फोटमा घाइते हुनेका आफन्तले प्रहरीले आफूहरुलाई अमानवीय व्यवहार गरेको आरोप लागाएका छन्। राति १२-१ बजे आएर घाइतेलाई सोधपुछ गर्ने अस्पतालमा बसेका कुरुवालाई दु:ख दिने काम प्रहरीले गरेको उनीहरू सुनाउँछन्।

घाइते हरि खड्काका छोरा मिलनले अस्पतालमा कुरुवा बसिरहेका बेला एकदिन प्रहरीको एउटा समूहले आफ्नो परिचय पत्र मागेको र  त्यही परिचय पत्रमार्फत आफूलाई फसाउन खोजेको बताए।

ओम अस्पतालमा सुकेधारा बम विस्फोटका घाइते हरि खड्का र सुरेन्द्र महर्जन।


'प्रहरीले मेरो आइडी कार्ड मागे मैले सहजै  आफ्नो कलेजको आइडी कार्ड दिएँ'-मिलन भन्छन् 'केही समयपछि तिनै प्रहरी आएर विस्फोट भएको ठाउँमा तेरो आइडी कार्ड भेटियो भने मैले होइन भने।'  बुबा विप्लवका कार्यकर्ता नभएको र कपाल काट्न जाँदा  घाइते भएको मिलनले बताए।

समय-सययमा अस्पतालमा आएर बुवालाई प्रहरीले झस्काउने गरेको सुरेन्द्र महर्जनका छोरा सुबोध बताउछन्। 'सुतिरहेका बेला राति-राति आएर उठ् भन्दै प्रहरीको टोलीले बुवालाई थर्काउने गर्छ, विस्फोटका कारण उहाँको होस उडेको छ। त्यस्तो अवस्थामा प्रहरीले उल्टै हप्काउने थर्काउने गरिरहेको छ',उनी भन्छन्,'सोधपुछ र अनुसन्धान गर्न प्रहरीले पाउनुपर्छ तर राति १-२ बजे आएर थर्काएर अनुसन्धान हुन्छ?'   

विक्रम लामालाई अस्पतालबाट छिट्टै डिस्चार्ज गर्न डाक्टरलाई प्रहरीले दबाब दिएको श्रीमती सन्तोषी महर्जनको आरोप छ। 'मेरो श्रीमानलाई उपचार गर्ने डाक्टरले आफ्नो फोन प्रहरीले ट्रयाकिङ गरिरहेके छ भन्छन्। प्रहरीले डाक्टरहरूलाई छिटो डिस्चार्ज गर भनिरहेका छन्', सन्तोषी भन्छिन्,'घाइते पूर्णरुपमा सन्चो नहुँदै प्रहरीले जबरजस्ती गर्न पाउँछ? प्रहरीले जनावरको जस्तो व्यवहार गरिरहेको छ।'

उपचार कसले गरिदिन्छ?

घाइतेको उपचार गर्न आफूहरूलाई हम्मेहम्मे परेको आफन्तहरूको गुनासो छ।  घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने उनीहरूको माग छ।

'उपचार गर्दागर्दै ७-८ लाख खर्च भइसक्यो, ऋण लिएको सबै पैसा सकियो अझै सन्चो हुने छाँटकाट छैन अब कसरी उपचार गर्ने?', घाइते हरि खड्काकी श्रीमती राधिका भन्छिन्,'सरकारले पनि हामीलाई किन तल्लो व्यवहार गरिरहेको छ? घाइतेले त उपचार पाउनुपर्‍यो नि!'   

विक्रम लामाकी श्रीमती सन्तोषीलाई  उपचार खर्चको पिरलो छ। सानो व्यवसायले चलेको घरमा विक्रम विस्फोटमा परेदेखि  ठूलै संकट उत्पन्न भएको छ। व्यापार बन्द भएपछि एकातिर उनलाई घर कसरी चलाउने भन्ने चिन्ताले सताएको छ भने अर्कोतिर श्रीमानको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता उस्तै छ।

गत जेठ १२ गते राजधानीमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा घाइते भएकाका आफन्तहरु।


'अस्पतालमा ८-९ लाख रुपैयाँ तिर्न बाँकी छ, आफन्तसँग रोइकराई मागेको पैसा पनि सकियो' उनी भन्छिन्‍,'पहिले पहिले सरकारले केही गरिदिन्छ भन्ने आशा थियो प्रहरीको व्यवहारले त्यो आशा पनि मर्‍यो।'

सरकारले आफूलाई नेपालको नागरिक नै नभए सरह व्यवहार गरेको सुरेन्द्र महर्जनका छोरा सुबोध बताउछन्। घाइतेका परिवारहरू विप्लव र सरकारको राजनीतिक खिचातानीमा परेको उनको निष्कर्ष छ। 'सरकार र विप्लवको लडाइमा सर्वसाधारण परे अहिले सरकारले उनीहरूलाई उपचार नै गर्न मान्दैन' सुबोध भन्छन्,'घाइतेहररू नेपालको नागरिक होइनन् भने होइनन् भनोस् नभए उपचार खर्च व्यहोरोस्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.