जलेपछिको जुझारु जिन्दगी
–सृजना खड्का/युवराज भट्टराईले अन्नपूर्ण सम्पूर्णका लागि तयार पारेको स्टोरी
जलेपछिको जुझारु जिन्दगी
‘आमाले भनेअनुसार त्यो बेला म छ–सात महिनाको थिएँ,’ दोलखाकी सीता भण्डारी (३०) ले भनिन्, ‘घरमा कोही नहुँदा खाटबाट पल्टिएर आगोको नजिक पुगेछु। लगाएको भोटो सल्किएर शरीरको देब्रे भाग पूरै जलेछ।’
उनका अनुसार त्यस दिन आमाबुबा खेतमा गएका थिए। माइली दिदीलाई उनको जिम्मा लगाइएको थियो। ‘मलाई एक्लै छाडेर माइली दिदी पनि खेल्न जानुभएछ,’ उनले भनिन्, ‘आमाबुबा खेतबाट आउँदा म जलिरहेको थिएँ रे। उहाँहरूले आगो निभाएर हत्तपत्त नजिकैको स्वास्थ्य चौकी लैजानुभएछ।’ यति बाहेक त्यस घटनाबारे सीतालाई केही याद छैन। ‘जति थाहा पाएँ अरूले भनेकै सुनेर थाहा पाएँ,’ उनले भनिन्, ‘त्यो घटनामा मैले देब्रे हात गुमाएँ। जलेकै ठाउँमा मेरो हात झरेको थियो रे।’
सुरुवातमा त सबैले उनलाई ‘अब बाँच्दिन’ भनेका थिए। काठमाडौँ अस्पताल लैजाने कि नलैजाने भनेर परिवार अलमलमा थियो।अहिलेजस्तो ३० वर्षअगाडि यातायातको सुविधा पनि थिएन। सम्पूर्ण उपचार स्वास्थ्य चौकीमै भयो।उनको अनुहारमा अहिले पनि देब्रे भागमा केही दाग प्रस्टै देखिन्छन्। हुर्किंदै जाँदा उनलाई लाग्न थाल्यो– ‘म यस्तै जन्मिएँ होला।’ सानैबेलामा जलेकाले साथीभाइबाट उनले खासै नराम्रो व्यवहार भोग्नुपरेन। बुझ्ने हुँदै गएपछि उनी घटनाबारे चासो देखाउन थालिन्। दाग कसरी बस्यो, हात कसरी गुम्यो ? भनेर आमाबुबलाई सोध्न थालिन्।
हात नभएकाले सजिलो काम उनलाई दिइन्थ्यो।‘अरू दिदीबहिनी जंगल जान्थे, घाँस–दाउराका भारी ल्याउँथे,’ सीताले भनिन्, ‘मलाई पनि उनीहरूको जस्तै काम गर्न मन लाग्थ्यो। तर, चाहेर पनि गर्न सक्दिनथेँ। त्यति बेला हो, मैले आफूलाई फरक पाएको।’ त्यस्तो बेला नरमाइलो लाग्थ्यो उनलाई। कहिलेकाहीँ जबर्जस्ती गर्न नसक्ने काम पनि गर्ने कोसिस गर्थिन्।
१५ वर्षसम्म उनी दोलखामै हुर्किइन्।आठ कक्षासम्म घर नजिकैको स्कुलमा पढिन्।नौ कक्षा पढ्नलाई टाढा जानुपथ्र्यो। साथीहरूले के भयो, कसरी भयो भन्ने प्रश्न गर्लान् भनेर उनी स्कुलै जान छाडिन्। त्यसपछि काठमाडौँ आइन्। ‘पढ्नभन्दा पनि पैसा कमाउँन यहाँ आएकी थिएँ,’ उनले भनिन्, ‘गाउँमा काम गर्ने अवसर थिएन।’
काठमाडौँ आएपछि सीताको संघर्ष सुरु भयो। आफन्तकोमा बस्न थालिन्। पढ्ने मन मरिसकेको थियो।‘मेरो उद्देश्य काम गर्ने र पैसा कमाउने थियो’, उनले भनिन्। काठमाडाँै, तिलगंगास्थित ‘शान्ति सेवा गृह’मा काम खोज्ने सिलसिलामा पुगिन्। त्यहीँ काम गर्न थालिन्। खुला विद्यालयबाट एसएलसी पनि दिइन्। ‘एसएलसीपछि भने पढ्न सकिनँ,’ उनले भनिन्, ‘खेलकुदमा रुचि भएकाले त्यतैतिर लागेँ।’
तेक्वान्दोले बाँच्न सिकायो
सीताले खेलकुदमा निकै सफलता हात पारेकी छिन्। हाल काठमाडौँ, धापासी बस्ने उनी तेक्वान्दो खेलाडी हुन्। तेक्वान्दो खेल्नका लागि उनी थुप्रै देश पुगेकी छिन्। थुप्रै पदक पनि जितेकी छिन्। ‘काम गर्दागर्दै खेलकुदमा भाग लिन थालेँ,’ उनले भनिन्, ‘तेक्वान्दोमा रुचि थियो।त्यतैतिर लागेँ। खासमा भन्ने हो भने तेक्वान्दोले मलाई बाँच्न सिकायो।’
‘एसियन पारा खेलकुद२०१४’,‘भारत–पाकिस्तान–नेपाल अन्तर्राष्ट्रिय तेकवान्दो प्रतियोगिता’ लगायत अन्तर्राष्ट्रिय र अनगिन्ती राष्ट्रिय प्रतिस्पर्धामा सीताले दर्जनौँ पदक हात पारेकी छिन्। ‘गेम खेल्दा मलाई कहिल्यै आफू अपांग भएको महसुस भएन,’ उनले भनिन्, ‘सधैँ देशको नाम राख्नुपर्छ, जितेर आउनुपर्छ भन्ने सोचले आत्मबल बढायो।’
प्रचलित सौन्दर्य दृष्टिकोणमा सीताको विमति छ। चिटिक्क जीउडाल, गोरो छाला, दाग नभएको सुन्दर अनुहार मात्रैलाई उनी सुन्दरता मान्दिनन्।‘मलाई सौन्दर्यको यस्तो पुरातन मान्यतामा विश्वास छैन,’ उनले भनिन्, ‘शरीर त बोक्रा मात्रै हो। मानिस सुन्दर उसको बुद्धि, विवेक र क्षमताले हुन्छ।’
सीताले जीवनमा हजारौँ पटक ‘डढेकी’, ‘जलेकी’, ‘अनुहार नपरेकी’जस्ता शब्द सुन्नुपरेको छ। ‘तर, यस्ता वचनले मेरो जीवनमा कुनै अर्थ राख्दैन,’ उनले भनिन्, ‘जलेपछिको जुझारु जिन्दगी बाँचिरहेकी छु म। शरीर जल्दैमा मानिस सुन्दर नहुने होइन। मलाई त आफू सधैँ अरूभन्दा फरक र झन् सुन्दर भएको महसुस हुन्छ।
लुक्ने होइन, संसारसँग लड्ने हो
मान्छेहरूले गर्ने अप्रिय टिप्पणीका कारण आगोले जलेका कतिपय महिला घरबाहिर निस्कन चाहदैनन्। शरीर वा अनुहारको दागका कारण उनीहरू कोठाभित्र गुम्सिएर बस्छन्। बाहिर निस्कँदा कटु प्रश्न, कटाक्ष र नजरहरूको सामना गर्नुपर्छ भन्ने लाग्छ उनीहरूलाई। तर, काठमाडौँ, बालाजु बस्ने सुनीता महर्जन (४१)लाई आफ्नो सुन्दरतालाई लिएर तेर्साइने हरेक प्रश्न अर्थहीन लाग्छन्। ‘सुरु–सुरुमा डढेको अनुहार लिएर हिँड्दा निकै अप्ठ्यारो लाग्थ्यो,’ उनले भनिन्, ‘अरूले केही भन्नेबित्तिकै चित्त दुख्थ्यो, नरमाइलो लाग्थ्यो।अनुहार छोपेर हिँड्थेँ। अहिले जसले जे भनेपनि वास्ता गर्दिनँ।’
सुनीता २२ वर्षअघि एउटा दुर्घटनामा परिन्। घरमा खाना पकाइरहेकी थिइन्। मट्टितेलले बल्ने स्टोभमा दम दिँदा स्टोभ पड्कियो। उनी बेस्सरी चिच्याइन्। किचेन माथिल्लो तलामा थियो। ‘एक्लै थिएँ,’ उनले भनिन्, ‘म चिच्याएको सुनेर दाइहरू माथि आउनुभयो।शरीरमा आगो दन्किरहेको थियो। उहाँहरूले पानी खन्याएर वीर अस्पताल लैजानुभएछ।’परिवार र आफन्तलाई सुनीता बाँच्ने आशथिएन। अस्पतालले पनि उनको अवस्था हेरेर नबाँच्ने संकेत दियो। ‘धन्न, मेरी दिदीआफैँ नर्स हुनुहुन्थ्यो,’ सुनीताले भनिन्, ‘उहाँ आफैँले जिद्दीगरेर उपचार गर्न थालेपछि मात्रै डाक्टरहरूले चासो देखाएछन्।’ उनी तीन महिना अस्पताल बसिन्। उनको पढाइ छुट्यो।‘हात कलम समाउन नसक्ने भएको थियो,’ उनले भनिन्, ‘चिउँडाको मासु सोहोरिएर अनुहार पनि तल झोल्लिएको थियो। बीबीएस तेस्रो वर्षमै मेरो पढाइरोकियो।’
वीर अस्पतालमा उपचार गराउँदै गर्दा काठमाडाँै, साँखुमा भर्खरै सुषमा कोइराला मेमोरियल हस्पिटल खुलेको थियो। सुनीताकी दिदीले उनलाई त्यहीँ लिएर गइन्। त्यहाँ उनको शरीरको विभिन्न भागको सर्जरी भयो। बिस्तारै हातका औँला चल्न थाले। जलेका अन्य भाग पनि निको हुँदै गयो। ‘घाउ निको हुँदै गएपनि बाहिर निस्किन अप्ठ्यारो लाग्थ्यो,’ उनले भनिन्, ‘अस्पताल जानबाहेक १० वर्षसम्म घरबाहिर निस्किन सकिनँ। अरूले के भन्लान् भन्ने डर थियो।’
बुबाको निधनपछि भने सुनीता आफैँलाई केही गर्नुपर्छ भन्ने लाग्यो। ‘बुबा बितेपछि घरको जिम्मेवारी ममाथि आइपर्यो,’ उनले भनिन्, ‘सिलाइबुनाइको सीप त थियो, तर काम गर्न जाने ठाउँ थिएन। एकजना दिदीको सल्लाहमा काठमाडौँ, सीतापाइलाको टेलरमा लुगा सिलाउन थालेँ।’ सुरुमा घरबाट काममा जाँदा उनी सधैँ सलले मुख छोप्थिन्। ‘छिमेकीले के भन्लान् भन्ने डरले घरनजिकै काम गर्न सकिनँ,’ उनले भनिन्।
केही समय सिलाइबुनाइको काम गरेपछि एउटा कम्पनीमा मार्केटिङको काम गर्न थालिन्। ‘आयुर्वेदिक सामानहरू बोकेर गाउँगाउँ डुलेर बिक्री गर्नुपथ्र्यो,’ उनले भनिन्, ‘विभिन्न ठाउँमा सामान बोक्दै चर्को घाममा हिँड्नुपर्ने भएकालेत्यहाँ पनि धेरै समय काम गर्न सकिनँ।’ कामअनुसार कमाइ नभएपछिउनले धेरै ठाउँमा केही समय काम गर्दै छाडिन्।‘सहकारी संस्थामा पैसा उठाउँदै हिँड्ने काम पनि गरेँ,’ उनले भनिन्, ‘त्यसपछि मलाई मान्छेहरूले के भन्लान् भन्ने कुराको पर्बाह हुन छाड्यो। सहकारीमा काम छोडेपछि गार्मेन्ट फ्याक्ट्रीमा फेरि सिलाइ बुनाइ गर्न थालेँ।’
धेरै ठाउँमा काम गर्दा धेरै अनुभव बटुलिन्, सुनीताले। ती खासै मीठा अनुभव थिएनन्। तर, तिनले सुनीतालाई जुझारु बनाए, हिम्मतिलो बनाए। ‘मलाई प्रायःले सामान्य मानिसलाई भन्दा निकै फरक व्यवहार गर्थे,’ उनले ती दिन सम्झिँदै भनिन्,‘कति मान्छे त मलाई देख्नासाथ हाँस्थे। सँगैका साथीहरू मसँग हिँड्न, बोल्न, व्यवहार गर्न खोज्दैनथे।गाडीमा पनिसबैले के–के न भएजसरी हेर्थे।म बसेको सिटमा अरू बस्दैनथे। तर, यस्ता तीता अनुभवले मलाई दुनियाँसँग लड्ने हिम्मत दिए।’
घरपरिवारबाट सुनीताले दरिलो साथ पाइन्। उनको आत्मविश्वास बढ्दै गयो। ‘बिस्तारै सबै कुरा सामान्य लाग्न थाल्यो,’ उनले भनिन्।अहिले सुनिता महाबौद्धको एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्छिन्। बाहिर निस्किएर समाजसँग घुलमिल भएपछि बिस्तारै हिम्मत बढ्दै जाने उनले बताइन्। ‘मैले हिम्मत हारेको भए अहिलेसम्म पनि घरभित्रै हुन्थेँ होला,’ उनले भनिन्, ‘अहिले त्यो १० वर्षत्यसै खेर फालेजस्तो लाग्छ।मैले त्यसो गर्न हुँदैनथ्यो।’ केही लक्ष्य राखेर अगाडि बढ्दा जीवनमा धेरैकुरा हासिल गर्न सकिनेउनको धारणा छ। ‘लुकेर बस्दा पीडामाथि झन् पीडा थपिन्छ,’ सुनीताले भनिन्, ‘बाहिर निस्कनुपर्छ। लुक्ने होइन, संसारसँग लड्ने हो।’
जलेकी छोरीलाई अस्पतालमा छोडेर भागे बाबु
काठमाडौँ, गोंगबुमा बस्ने अञ्जु गिरी थापा (३७) कोअनुहारदेखि शरीरको अगाडिको अधिकांश भागमाआगोले पोलेका खत छन्। सात महिनाको हुँदा कोक्रोबाट लडेर उनी आगोमा परिन्।‘आमा मलाई कोक्रोमा राखेर पानी लिन जानुभएछ,’ उनले भनिन्, ‘कोक्रोबाट पल्टिएर चुलोमा परेछु। कसैले आगो निभाउन पानी हालेछन्। तुरुन्तै वीर अस्पताल लगिएछ।’ धेरै जलेका कारण वीर अस्पतालले उनलाई भर्ना लिन मानेन। भर्ना लिन नमानेपछि उनको परिवारले उनलाई जोरपाटीस्थित एचआरडीसी अस्पताल लग्यो। उनको अवस्था हेरेर त्यहाँ पनि उनलाई अस्पतालले भर्ना लिन मानेन। भर्ना नलिएपछि उनलाई उनका बुबाले अस्पतालकै पेटीमा छाडेर भागे।‘छोराभएको भए सायद छाड्नुहुन्नथ्यो होला,’ उनले भनिन्, ‘छोरी भएकाले होला,मलाई छाडेर उहाँ भाग्नुभएछ।’ बुबाले छाडेपछिअञ्जु अस्पतालमा बेवारिस भइन्। परिवारले छाडे पनि अस्पतालकी एक जनाकर्मचारीले उपचारमा सहयोग गरिन्।‘अस्पतालकी तारा ममी मेरा लागि भगवान बनेर आउनुभएछ,’ उनले भनिन्, ‘उहाँले नै मेरो उपचार गराउनुभएछ।’
अञ्जुलाई अस्पताल घर र त्यहाँका स्टाफ आफ्नै परिवारजस्तो लाग्न थालिसकेको थियो।१३ वर्षपछि बल्ल उनलाई आफ्नो जन्मघर र परिवारबारे थाहा भयो। ‘आफ्नो हकअधिकार पाओस्, परिवार चिनोस् भन्दै अस्पतालबाटमलाई घर पठाइयो,’ उनले भनिन्, ‘तर, आफ्नो परिवार मलाई आफ्नो लागेन। तारा ममी र अस्पताल नै मलाई आफ्नो लाग्थ्यो।’ पहिलो पटक घर जाँदा उनलाई माया गर्ने मान्छेबाट कतै छुटेर गएको जस्तो लाग्यो। ‘आफ्नै परिवारको भीडमा पनि म एक्लो महसुस गर्न थालेँ,’ उनले भनिन्, ‘आफ्नै घरपरिवारले पराईजस्तो व्यवहार गरे। कसैले आफ्नो मानेनन्, आफ्नो ठानेनन्।’
शरीर दुर्बल थियो। जलेका कारण शरीरका सबै भाग चल्दैनथे। ‘तर, परिवारले त्यो कुरा बुझेन,’ उनले भनिन्, ‘मलाई बोझ ठानेर अस्पतालमा छाडेको कुरा थाहा पाएपछि झनै मन कुँडियो।’ केही समयपछि घर छाडेर उनी अस्पतालमै आइन्। ‘तारा ममीले केही दाताहरूसँग कुरा गरेर मेरो व्यवस्था मिलाइदिनुभयो,’ उनले भनिन्। त्यसपछि अञ्जुले एसएलसीसम्म पढिन्। दाताको सहयोगमा उपचार पनि गराइन्। उपचारपछि उनको शरीर पहिलेभन्दाअलिक ठीक भयो। त्यसपछि शान्ति सेवा गृहमा बस्न थालिन्। त्यहीँसिलाइको सीप पनि सिकिन्। विवाह भयो। अहिले उनको एकछोरा छन्।
उनी सिलाइ गरेरै गुजारा चलाइरहेकी छिन्। सिलाइबाहेक उनले अन्यत्र काम नखोजेको भने होइन। ‘कहीँ कतै जागिर पाइएन,’ उनले भनिन्, ‘काम खोज्न जाँदा सुरुमा सबैलेरूप हेर्थे। राम्रोरूप नभएर होला, कसैले कामदिएन।’ समाजले मान्छेको क्षमताभन्दा सुन्दरताका आधारमा मूल्यांकन गर्न उनले बताइन्। ‘अरूले हामीलाई जलेको भनेर नपत्याएपनि हामीले प्रयास गर्न भने छाड्नुहुँदैन,’ उनले भनिन्, ‘अहिले म आफ्नै बलबुताले परिवार धानिरहेको छु।’
२२ वर्षसम्म घरको घरै
भक्तपुर, भोलाछेँकी अस्मिता श्रेष्ठ (४५) को विवाह भएको वर्षदिनपछि घरमा स्टोभ पड्कियो। त्यति बेला उनी २१ वर्षकी थिइन्।बच्चा जन्मिएको तीन महिना पनि नबित्दै उनको जीवनमा त्यो दुर्घटना भयो। ‘त्यो दिन बच्चाका लागि लिटो पकाउँदै गर्दा स्टोभ पड्कियो,’ उनले भनिन्, ‘आफैँ आगो निभाउन खोज्दा सकिनँ। श्रीमान्ले आत्तिएर चामलको बोराले छोपेर आगो निभाउन खोज्दा बोरा जलेर शरीरमा टाँसिएछ। पोल्यो–पोल्यो भनेर म चिच्याएछु।’
होशमा आउँदा उनी टिचिङ अस्पतालको ओछ्यानमा थिइन्। त्यहाँ उपचार नभएपछि उनलाई वीर अस्पताल लगियो। महिना दिन अस्पतालमा बिताइन्। तनको घाउ निको भएपनि मनको घाउ बल्झिन थाल्यो। घरतिरबाट कसैले वास्ता नगरेपछि माइती फर्किइन्। ‘देख्नेबित्तिकै सबैले के भयो, कसरी भयो भनेरसोध्थे,’ उनले भनिन्, ‘त्यही प्रश्नका जवाफ दिनुपर्ला भनेर २२ वर्षसम्मघर बाहिरै निस्किनँ। २२ वर्षपछि बाहिर निस्किँदा पनि सलले पूरै मुख ढाक्थेँ।’
उनी घरबाहिर निस्किन थालेको तीन वर्ष भयो। केही काम गर्नुपर्यो भन्दै उनी धेरै ठाउँ गइन्। ‘जलेको अनुहार र शरीर देखेर ‘तपाईं गर्न सक्नुहुन्न’ भन्दै धेरैले कामै दिएनन्,’ उनले भनिन्, ‘हामी पनि काम गर्न सक्छौँ। तर, समाजले हामीलाई स्विकार्दैन। काम दिनेले पनि हामीलाई विश्वास गर्दैनन्।’जलेका महिलालाई समाजले ‘कठै’,‘बिचरा’ भन्ने गरेको उनको अनुभव छ। ‘काम गर्न सक्दासक्दै पनि हामीलाई बिचरा बनाइदिन्छन्,’ उनले भनिन्, ‘समाजले हामीलाई फरक नजरले हेर्छ। त्यसैले मजस्ता धेरै दिदीबहिनी कोठाभित्रै थुनिएर बस्न बाध्य छन्।’
दुई वर्षअगाडि अस्मिताको भेट राधा श्रेष्ठसँग भयो। राधा आगोले पोलेकामध्ये एक थिइन्। अस्मिताजस्ता धेरै महिला काठमाडौँ, बसुन्धरास्थित ‘राधाको बर्न लेडिज गु्रप’मा मैनबत्तीदेखि पोतेका विभिन्न सामान बनाएर जीविका चलाउँछन्। ‘यहाँ आउँन थालेपछि मभित्र आँट पलायो,’ अस्मिताले भनिन्, ‘मुख छोपेर हिँड्न छाडेँ। अरूले के भन्लान्, कसो भन्लान्सँग सरोकार लाग्न छाड्यो।अहिले आएर २२ वर्षसम्म कोठाभित्र बसेर गल्ती गरेछु भन्ने लागेको छ।’
राधाको बर्न लेडिज ग्रुप
होटल क्षेत्रमा आबद्ध थिइन्, राधा श्रेष्ठ (४२)। काठमाडौँ, टोखामा स्थायी घर भएकी उनीआफैँले परिवार चलाइरहेकी थिइन्। दुर्घटना हुँदा उनी २९ वर्षकी थिइन्। ग्यास बाल्न खोज्दा सिलिन्डर पड्कियो। उनको अनुहार र शरीररका केही भाग जले। दुर्घटनामा उनले आफ्नी आमा पनि गुमाइन्।
४१ दिनसम्म अस्पताल बसिन् उनी। अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनी सीधै आफूले काम गर्ने होटलमा गइन्। त्यहाँ गएर फेरि काम गर्न थालिन्। ‘होटलमा काम गर्दा अस्पतालमा देखेका आफूजस्ता धेरै दिदीबहिनीको झलझली सम्झना आयो,’ उनले भनिन्, ‘उनीहरूका लागि केही गर्नुपर्छ भनेर होटलको काम छाडेँ। अस्पतालमा बस्दा जलेका धेरै दिदीबहिनीको पीडा नजिकबाट नियालेको थिएँ।’ होटलको काम छाडेपछि चार वर्षसम्म साँखुमा उनले एउटा सेल्टर होम सञ्चालन गरिन्।
केही वर्षअगाडि राधाले ‘राधाको बर्न लेडिज ग्रुप’सुरु गरिन्। बसुन्धरास्थित उक्त समूहमा उनीजस्ता थुप्रै महिला छन्। त्यहाँ पोतेका विभिन्न समान र मैनबत्ती बनाउने काम हुन्छ। सदस्य दिदीबहिनी कोही दैनिक आउँछन्, कोही आफूले भ्याउँदा आएर काम गर्छन्। राधालाई लाग्छ, ‘आफू बलियो भयो भने अरूले भनेको कुराले खासै फरक पर्दैन।’ आर्थिक रूपमा आत्मनिर्भर भइयो भने कसैले हेप्न नसक्ने उनको अनुभव छ। ‘आफू कमजोर भएमा अरूका वचन र कटाक्षले झन् कमजोर बनाउँछ,’ उनले भनिन्। आगोले जलेकै कारण बाहिर आउन नसकेर भित्रै गुम्सिएर बसेकादिदीबहिनी देख्दा उनलाई पीडा हुन्छ। ‘बाहिर आउन चाहनेलाई पनि समाजले बाहिर आउन दिँदैन,’ उनले भनिन्, ‘भित्रै खुम्चिएर बस्दा पीडा झन् बल्झिन्छ। कतिजना त डिप्रेसनको शिकार पनि भएका छन्। त्यसैले सकेसम्म घरबाहिर निस्क्निुपर्छ। हामी पनि समाजकै हिस्सा हौँ।’
जो आफूलाई सेलिब्रिटी ठान्छिन्
मुना मगर (२५) सल्यानमा हुर्किइन्। उनको अनुहार र घाँटीजलेको छ। दागहरू स्पष्ट देखिन्छन्। सानैबेलामा आगोले पोलेको हो भन्ने सुनेकी थिइन् उनले। तर, आफैँले भने कसैलाई ‘मलाई के भएको ?’ भनेर अहिलेसम्म सोधेकी छैनन्। ‘मैले यो घटनाबारे कहिल्यै कसैलाई सोध्न चाहिनँ,’ उनले भनिन्, ‘जे भयो, भयो, अब थाहा पाएर के गर्नेजस्तो लाग्थ्यो। विगतलाई पछाडि छोडेर जीवनमा अगाडि बढेँ।’
हुर्किंदै जाँदा मुनालाई देख्दा गाउँका बच्चाहरू उनीसँग डराएर भाग्थे। अनुहारमा भएको दागको कारण उनलाई देख्ने जोकोहीकोमुखबाट निस्किने पहिलो शब्दहुन्थ्यो– आबुई ! अहिले उनी अपरेसन गरेर केही हदसम्म ठीक भएकी छिन्। ‘पहिलेको भन्दा निकै ठीक भएको छु,’ उनले भनिन्, ‘पहिला मेरो अनुहार डरलाग्दो थियो।’
स्कुल टाढा भएकाले उनले पढ्न सकिनन्। २०६६ सालमा काठमाडौँ आइन्। उपचार गराइन्। काठमाडौँ बस्दाको अनुभव गाउँमा भन्दा निकै फरक भएको उनले बताइन्। ‘गाउँमा सबैले के भयो, कसरी भयो भनेर हैरान पार्थे, जिस्काउने, होच्याउने गर्थे,’ उनले भनिन्, ‘यहाँ हत्तपत्त कसैले केही सोध्दैनन्। सोधे पनि नबिझ्ने गरी सोध्छन्।’ उपचारपछि उनी ‘साथी’ नामक संस्थामा बस्न थालिन्। त्यहाँ सिलाइबुनाइको काम सिकिन्। त्यसपछि सुरुवातदेखि नै उनी ‘राधाको बर्न लेडिज गु्रप’मा आबद्ध छिन्।
‘मलाई आगोले पोल्यो, जिन्दगी खत्तम भयो, अब केही गर्न सक्दिनँ भन्ने कहिल्यै लागेन,’ उनले भनिन्, ‘अरूको भर पर्नुहुँदैन, आफैँले केही गर्नुपर्छ भन्दै अगाडि बढेँ। मन बलियो बनायो भने आँटेको काम सबै गर्न सकिने रहेछ।’ आजभोलि मानिसहरूले उनलाई फर्कीफर्की हेरेको देखेर रमाइलो लाग्छ। ‘समान्य मानिसलाई त कसले हेर्छ र,’ उनले भनिन्, ‘म अरूभन्दा फरक छु, त्यसैले हेर्छन्। अरूले फर्केर हेर्दा नराम्री होइन, बरु सेलिब्रिटी भएछुजस्तो लाग्छ।’
जलेकी धनबाट गायिका धन
करिब २२ वर्षअघिको कुरा हो। दैलेखकी धन परियार छाउगोठमा सुतिरहेकी थिइन्। त्यति बेला उनी तीन वर्षकी थिइन्। उनीसँगै उनको एक वर्षको भाइ पनि सँगै थिए। गोठमासुतिरहँदा आगो लाग्यो।उनकी आमा घाँसदाउरा गर्न गएकी थिइन्। भित्रै रहेकी धन र उनका भाइ आगोको शिकार भए। ‘भाइलाई मेरो जीउले छेकेर खासै धेरै पोलेन,’ उनले भनिन्, ‘मेरो शरीरको धेरै भाग जलेको छ।त्यसमा पनि अनुहार र हात धेरै जले।’
बाल्यकालमा भएको घटना उनलाई खासै याद छैन। तर, पछि उनले आफूलाई अरूभन्दा फरक देख्न थालेपछि आमालाई सोधिन्। ‘सबैको अनुहार राम्रो, आफ्नो चाहिँ यस्तो देख्दा ‘आमा, मलाई के भएको?’ भनेर सोधेको सोध्यै गर्थें,’ उनले भनिन्, ‘आमाको मुखबाट जति सुने, त्यति मात्रै थाहा छ।’ उमेर बढ्दै गएपछि टोलछिमेक र साथीभाइले आफूलाई गर्ने व्यवहार फरक भएको उनको अनुभव छ। ‘धेरैजना मसँग बस्न त के, नजिक पनि आउँदैनथे,’ उनले भनिन्, ‘उनीहरूले मेरो अनेकथरी नाम राखेका थिए। वर्षौंसम्म अरूको छिःछिःर दूरदूर सहेँ।’
गाउँमा एसएलसी दिएपछि धन काठमाडौँ आइन्। उनलाई गीतसंगीतमा रुचि थियो। ‘आफ्नो रुचि भएकाले यहाँ आएर गीत गाउन थालेँ,’ उनले भनिन्, ‘मैले गाएका गीत धेरैले मन पराउनुभयो। अहिले ‘जलेकी धन’ बाट ‘गायिका धन’ भएकी छु।’ धनले ‘महापाप’, ‘खुशीको अभाव’, ‘भाग्य लेख्ने कलम’,‘सुदूरकी मैना’ लगायत दर्जनौँ गीत गाएकी छिन्। आागामी दिनमा पनि गीतसंगीतमै लाग्ने उनको सोच छ। ‘शास्त्रीय संगीतको कक्षा लिइरहेकी छु,’ उनले भनिन्।
दैलेखमा रहँदा कहीँ कतै उपचार गराएकी थिइनन् उनले। आगोले जलेर बनाएका घाउहरू खाटा बस्ने, पाक्ने भइरहन्थे। ‘गाउँमा अस्पताल नभएकाले उपचार भएन,’ उनले भनिन्, ‘त्यसमाथि बुबाले छोरी भनेर हेला गर्नुभयो। आर्थिक स्थिति पनि कमजोर थियो।’ काठमाडौँ आएपछि कीर्तिपुर अस्पतालमा उनको अपरेसन भयो, त्यहीँका एक डाक्टरको पहलमा। आगोले पोलेर मुठी खोल्न नसक्ने हात अपरेसनपछि भने केहीहदसम्म ठीक हुँदै गएको छ। ‘त्यही बेला उपचार पाउन पाएको भए घाउ गहिरो हुने थिएन,’ उनले भनिन्, ‘यत्तिका वर्षपछि उपचार गर्दा सबैकुरा पहिलाको जस्तो ठीक त नहोला। तर, मलाई सहज भएको छ।’
धनलाई गाउँघरभन्दा शहर प्यारो लाग्न थालेको छ। गाउँमा हुँदा हरेकले अनेक प्रश्न गर्थे, होच्याउँथे। तर, यहाँ उनलाई कसैले केही सोध्दैनन्। ‘काठमाडाँैमा कसैलाई कसैको वास्ता छैन्,’ उनले भनिन्, ‘गाउँमा जस्तो कसैले दुव्र्यवहार पनि गर्देनन्। के भएको, कसोभएको भनेर सबैलाई जवाफ दिँदै हिँड्नुुपर्दैन।’कोठाभित्र बसिरहँदा मनभित्र अनेक कुरा खेल्छन् उनको। ‘अनेक सोचाइ नआऊन् भनेर सकेसम्म गीतसंगीतमा व्यस्त हुने कोसिस गर्छु,’ उनले भनिन्, ‘व्यस्त हुँदा सबैकुरा भुल्छु। आफूलाई बलियो ठान्छु।’
काम पाउन मुश्किल
सम्झना भुजेल (२५) सलार्हीबाट काठमाडौँ आएको दुई वर्ष भयो। उनी अहिले नेपाल अपांग महिला संघको होस्टलमा बस्छिन्। स्नातक सकेकी उनी हाल लोकसेवाको तयारीमा व्यस्त छिन्। बाल्यकालमा उनको कम्मरदेखि माथिको दाहिने भाग जलेको थियो।‘हजुरबुबाले हामीलाई जाडो भयो भनेर आगो बाल्दिनुभएको रहेछ,’ उनले भनिन्, ‘लुगाबाट सल्किएको आगोले शरीर भेटेछ।’ त्यो बेला उनी तीन वर्षकी थिइन्। ‘सुरुमा त फोका मात्रै उठेको थियो,’ उनले भनिन्, ‘राम्रो उपचार नपाएपछि घाउ पाकेर झन्झन् गहिरो भएछ। खत बस्यो। स्थानीय स्वास्थ्यकर्मीले माछाको तेल लगाएर ब्यान्डेज गरिदिएछन्। घाउ झन् नराम्रोसँग पाकेछ।’ काठमाडौँमा उपचार गराउन पाएको भए केही हदसम्म निको हुन्थ्यो भन्ने लाग्छ उनलाई।
सर्लाहीमा एसएलसी दिएपछि उनी वीरगञ्ज आएर पढ्न थालिन्। स्कुल पढ्दा होस् वा कलेज, साथीहरूबाट उनलाई कहिल्यै राम्रो व्यवहार भएन। उनीहरू उनीसँगै बस्न मान्दैनथे, बोल्न पनि खोज्दैनथे। पढाइकै क्रममा जागिरका लागि उनले धेरै कोसिस गरिन्। तर, प्रयास गर्दा पनि कसैले जागिर नदिएको उनको गुनासो छ। ‘फोनमा कुरा गर्दा ‘आऊ, काम दिन्छु’ भन्छन्,’ उनले भनिन्, ‘भेटेर जलेको देखेपछि ‘तिमी त काम गर्न सक्दिनौ’ भनेर पन्छिन्छन्।’
काठमाडाँै आएपछि आफूजस्ता जलेका धेरै महिला देखेर केहीगर्ने आँट पलाएको उनले बताइन्। ‘काठमाडौँ आएपछि मजस्ता थुप्रै दिदीबहिनी भेटेँ,’ उनले भनिन्, ‘आफूजस्तै अरूलाई भेटेपछि नराम्रो लाग्न छाड्यो।’ सम्झना विभिन्न एनजीओ, आईएनजीओमा संलग्न छिन्। निर्वाचन आयोगमा पनि केही समय काम गरेको अनुभव उनीसँग छ। ‘हामीले काम गरेको देख्दा मान्छेहरू छक्क पर्छन्,’ उनले भनिन्, ‘म जसरी भए पनि सरकारी जागिर खान्छु र आफूजस्ता अरू दिदीबहिनीको प्रेरणाको स्रोत बन्न चाहन्छु।’
अनुहार छोप्नु आफूलाई धोका दिनु हो
भारत, बिहारकी अमृता गुप्ता(२८)बाल्यकालदेखि नै नेपालमा बसिन्। जाडो महिनाको समयमा नुहाएर स्टोभ बालेर आगो ताप्न खोज्दा उनलाई आगोले पोल्यो। त्यतिबेला उनी १२ वर्षकी थिइन्। ‘भर्खर नुहाएर आएकी थिएँ,’ उनले भनिन्,‘जाडो भएर आगो ताप्नलाई स्टोभ बाल्न खोज्दा आगोले भेट्यो।’ त्यसपछि भने के भयो, उनलाई थाहा छैन। ‘नौ दिनपछि मात्रै मेरो होश आएछ,’ उनले भनिन्, ‘अनुहार, हातलगायत शरीरकाधेरै भाग जलेका थिए। मलाई वीर अस्पताल लगिएछ।’
चार महिनासम्म उनी अस्पताल बसिन्। आफन्त र छिमेकीले अमृताका आमाबुबालाई भनेछन्– यस्तो भएर बाँच्नुभन्दा त मर्नु बेस! ‘तर, आमाबुबाको मन कहाँ मान्थ्यो र,’ उनले भनिन्, ‘जसरी भएपनि बचाउँछौँ भनेर सुषमा कोइराला अस्पताल लगेर उपचार गराउनुभयो।’
बाटोमा देख्नेले अमृतालाई ‘कस्तो डरलाग्दीभूतजस्ती केटी’ भन्थे। स्कुलमा पनि दुव्र्यवहार सहनुपर्ला भनेर उनी पढ्नै गइनन्। ‘बाटोमा देख्नेहरू तर्सिएको देखेर अचम्म लाग्थ्यो,’ उनले भनिन्।केही समयपछि उनी शान्ति सेवा गृहमा सीप सिक्न थालिन्। ‘काम गर्न थालेपछि निकै अप्ठ्यारा परिस्थिति भोग्नुपर्यो,’ उनले भनिन्, ‘बस चढ्न खोज्दा अनुहार देखेर ड्राइभरले बस रोक्दैनथे। बस चढिहाले पनि भित्रका मानिस मसँग तर्किन्थे।’उपचारपछि एकपटक उनी आफ्नो घर बिहार गइन्। त्यहाँ उनी आफन्तको बिहेमा गएकी थिइन्। ‘धेरैले मेरा आमाबुबालाई ‘यसलाई किन ल्याएको ? यस्तो अनुहार हेर्यो भने अपशकुन हुन्छ’ भने,’ उनले सम्झिन्, ‘त्यो बेला चित्त दुख्यो तर केही बोल्न सकिनँ।’
अमृताको अनुहारको अधिकांश भाग जलेको छ। तर, उनी कहिल्यै अनुहार ढाकेर हिँड्दिनन्। ‘मान्छेहरू सामान्य डन्डीफोर आउँदा घरबाट निस्किन अप्ठ्यारो मान्छन्,’ उनले भनिन्, ‘अनुहार छोप्दा आफूले आफैँलाई धोका दिएको जस्तो लाग्छ। त्यसैले आफू जे हुँ, त्यही भएर बाँच्न खुला भएर हिँड्न थालेकी हुँ।’
पाँच वर्षअघि उनको विवाह भयो। अहिले पाँच वर्षको छोरा छन्। अमृतालाई अहिले जीवन पहिलजस्तो निरस लाग्दैन। ‘राम्रोसँगव्यवहार गर्नेलाई राम्रै जवाफ दिन्छु,’ उनले भनिन्, ‘जसले ‘बिचरा’ भन्छ, हेप्न खोज्छ, त्यसलाई मुखभरिको जवाफ दिन्छु।आफूलाई कहिल्यै नराम्री छु भन्ने ठान्दिनँ। मान्छेले फर्कीफर्की हेर्दा सबैभन्दा राम्री त मै पो रहेछु कि क्या होजस्तो लाग्छ मलाई।’
समाजले हेप्छ जलेकालाई
झापाकी ज्योति हरिजन (२८) को कलिलै उमेरमा बिहे भयो। दाइजो नल्याएको निहुँमा श्रीमान् र उनको परिवारलेदुःख दिन्थे, कुटपिट गर्थे। ‘छोरी जन्मिएपछि हालत झन् खराब भयो,’ उनले सम्झिइन्, ‘२२ दिनको सुत्केरी ज्यानमाश्रीमान्ले दाइजो नल्याएको, छोरी पाएको भन्दै रक्सी खाएको तालमा मट्टितेल खन्याएर आगो लगाइदिए।’ ज्योतिको शरीरका अधिकांश भाग नराम्ररी जलेका छन्। ‘म त्यो दिन मरेर बाँचेँ,’ उनले भनिन्, ‘त्यो घटनापछि श्रीमान् जेलमा परे। छोरीलाई हुर्काउने जिम्मेवारी सबै ममा आयो। कामका लागि धेरै ठाउँमा भौँतारिएँ। कतै काम पाइएन।’ अहिले उनी घरमा बसेरगुडिया बनाउने काम गर्छिन्। त्यही कामबाट आफूलाई र छोरीलाई खर्च निकाल्छिन्। ‘हामीलाई सीपमूलकबाहेक अफिसमा बसेर गर्ने काममा कसैले पत्याउँदैन,’ उनले भनिन्, ‘खुबीअनुसार काम दिएमा हामी पनि धेरै गर्न सक्छौँ। तर, समाजमा जलेकालाई हेप्ने चलन छ।’
इन्ट्रोः तातो पानी, आगो, करेन्ट जेले पोले पनि सुरुमा पोलेको दुखाइ हुन्छ। त्यो दुखाइ घाउको दुखाइ हो। घाउको दुखाइ निको हुँदै गएपछि दागको दुखाइ सुरु हुन्छ। दागले पीडितलाई मानसिक दुखाइ दिन्छ।
‘दागको दुखाइ चर्काे हुन्छ’
डा. जसवन शाक्य, प्लास्टिक सर्जन
मेडिकल डाइरेक्टर
सुषमा कोइराला मेमोरियल हस्पिटल
आगोको पोलाइबाट बच्नधेरै कुरामा ध्यान दिनुपर्छ। धेरैजसो बिरामी आगो ताप्दा जलेर आएका हुन्छन्। आगो ताप्दा नाइलनको वा आगोले समात्ने खालका लुगा लगाउनु हुँदैन। साना बच्चा भएको घरमा बिजुलीको प्लगमा टेप लगाउने गर्नुपर्छ। तातोपानी, सलाई, लाइटर, ग्यास चुलो, स्टोभजस्ता कुराबाट उनीहरूलाई टाढा राख्नुपर्छ।
पोल्नेबित्तिकै सुरुमा जसरी हुन्छ, आगो निभाउनुपर्छ। सकेसम्म कम्बलले छोप्नुपर्छ। वरिपरि कम्बल वा अरू केही छैन भने भुइँमा सुतेर, लडीबुडी गरेर आगो निभाउनुपर्छ। त्यसपछि तत्कालै शरीरमा भएको कपडा निकाल्नुपर्छ। कपडा जीउमा टाँस्सियो भने झन् गाह्रो हुन्छ। कपडा निकालेपछि पोलेको भागमा २० देखि ३० मिनेटसम्म पानी खनाइराख्नुपर्छ वा पोलेको भाग पानीमा डुबाइराख्नुपर्छ। तर, फ्रिजको चिसो पानी होइन, सामान्य पानी हुनुपर्छ। धेरै चिसो पानीले थप जटिलता ल्याउँछ। पोलेको भागमा पानी खनाउँदा घाउ गहिराइसम्म पुग्न पाउँदैन। पानी खनाएपछि सफा कपडाले पुछेर अस्पताल लैजानुपर्छ। पोल्नेबित्तिकै कतिपयले गोलभेँडा, काँक्रो, तुथपेस्ट दल्ने गरेको पाइन्छ। पानी नभएको खण्डमा मात्र यी उपाय अपनाउनुपर्छ। नत्र पानीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ।
तातोपानी, आगो, करेन्ट जेले पोले पनि सुरुमा पोलेको दुखाइ हुन्छ। त्यो दुखाइ घाउको दुखाइ हो। घाउको दुखाइ निको हुँदै गएपछि दाग सुरु हुन्छ। त्यसपछि दागको दुखाइ सुरु हुन्छ। दागको दुखाइ घाउको जस्तो शारीरिक हुँदैन। तर, दागले पीडितलाई मानसिक दुखाइ दिन्छ। ऐनामा हेर्दा अनुहार परिवर्तित देखिन्छ। ‘मेरो अनुहार पहिला यस्तो थियो, अहिले यस्तो भयो’ भनेर मानसिक रूपले उनीहरू दुःखी हुन थाल्छन्। घाउको दुखाइभन्दा दागको दुखाइ निको हुन समय लाग्छ। दागको दुखाइ कम हुँदै जान थालेपछि उनीहरू समाजमा फर्किन खोज्छन्। तर, समाजबाट पनि उनीहरू दुःखी हुन पुग्छन्। ‘ओहो, यसको त मुखै कस्तो भएछ’, ‘अब यसलाई कसले बिहे गर्छ’, ‘यसले के गरी खान्छे’, ‘कठै’, ‘बिचरा’ भन्दै सामाजिक दुखाइ हरेक बर्न सर्भाइभरले सहनुपर्छ। यस्ता प्रतिक्रियाले उनीहरूलाई हतास बनाउँछ। जलेकाहरूको सबैभन्दा नजिकको साथी परिवार हो। परिवारको साथ र सहयोगबिना उनीहरूलाई घरबाट बाहिर निस्किन गाह्रो हुन्छ।
जतिसुकै शिक्षित पुरुषले पनि बिहे गर्ने बेला शारीरिक रूपले चिटिक्क परेकी महिला खोज्छ। थोरै दाग भयो भने पनि ‘केटीको त दाग रहेछ’ भन्ने चलन छ। मानिसले सुरुमा हेर्ने भनेको अनुहार हो। सुरुमै व्यवहार र मन कस्तो छ, कसैले हेर्दैन। सौन्दर्य भन्नेबित्तिकै सबैको दिमागमा अनुहार आउँछ। तर, संसारमा कोही पनि मानिस नराम्रो हुँदैन। त्यो त हेर्ने नजरमा भर पर्ने कुरा हो।
बर्न सर्भाइभर आत्मनिर्भर हुन सुरुमा घरबाहिर निस्किनुपर्छ। बाहिरी दुनियाँको सामना गर्नुपर्छ। उनीहरूलाई व्यावसायिक तालिम दिनुपर्छ। सिलाइबुनाइजस्ता काममा लगाउनुपर्छ। उनीहरूले अफिस वा मानिसका आवतजावत हुने ठाउँमा काम गरेको देखिँदैन। अफिसको फ्रन्ट डेस्कमा कोही पनि बर्न सर्भाइभर छैनन्। पहिलो कुरा, उनीहरू आफैँ जागिर माग्न जादैनन्। ‘म जस्तोलाई कसले जागिर दिन्छ र’ भनेर उनीहरू आफँै खुम्चिएर बस्छन्। कतिपय भने ‘कसैले नदेख्ने गरी भित्रै बसेर काम गर्न पाए हुन्थ्यो’ भन्ने सोच्छन्।
पोलाइको उपचार आफैँमा खर्चिलो होइन। खर्चिलो त्यतिबेला हुन्छ, जब लामो समयसम्म अस्पताल बस्नुपर्छ। शरीरको कति प्रतिशत भाग जलेको छ, त्यही अनुसार उपचार हुन्छ। ड्रेसिङ गर्ने, मरेको छाला निकाल्ने, अर्को छाला टाँस्ने गर्दा अस्पतालको बसाइ लामो हुन सक्छ। महिना दिनदेखि छ–सात महिनासम्म अस्पतालमा बस्नुपर्ने हुन सक्छ। डे«सिङमा धेरै खर्च हुन्छ। धेरै पोलेको खण्डमा दिनमै चारपाँच हजार रुपैयाँसम्म डे«सिङका सामानमा खर्च हुन्छ।
बाल्यकालमा नभई पछि अनुहार जलेका कतिपय महिला आफ्नो पहिलाको फोटो नै लिएर आउँछन्। ‘मेरो अनुहार पहिला यस्तो थियो, अहिले यस्तो भयो, पहिलाको जस्तै बनाइदिनुपर्यो’ भन्छन्। प्लास्टिक सर्जरी गरेर पुरानो अनुहारलाई फिर्ता ल्याउन सकिँदैन। नेपालमा मात्र होइन,युरोप–अमेरिकामा पनि यसो गर्न सम्भव छैन। हामी डाक्टरले दागलाई कम गर्ने मात्र हो।
सरकारले बर्न सर्भाइभरका लागि कुनै पनि कार्यक्रम ल्याएको छैन। अहिलेसम्म जति जलेकाहरू बाहिर आएका छन्, आफैँ उत्प्रेरित भएर आएका हुन्। शहरका केही महिला बाहिर निस्किए पनि गाउँघरका त्यस्ता धेरै महिला छन्, जो बाहिर निस्किन सक्दैनन्। बर्न सर्भाइभर कति छन् भन्ने यकिन तथ्यांक पनि छैन।