न्युयोर्कमा ‘वर्ल्ड नेपाल म्युजिक अवार्ड’ हुँदै
काठमाडौं : अमेरिकाको न्यूयोर्कमा ‘वर्ल्ड युएसए नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना हुने भएको छ। नेपाली गीत संगीत क्षेत्रका सर्जकको प्रोत्साहन तथा सम्मानका लागि आवार्ड कार्यक्रम गर्न लागेको आयोजक वर्ल्ड कनेक्सन युएस इन्कले जनाएको छ।
१३ विधामा प्रदान गर्न लागिएको अवार्ड २३ नोभेम्बर अर्थात् मंसिर ७ शनिबार न्यूओर्कमा सम्पन्न हुने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अवार्डमा अनलाइन तथा प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ। फर्म यही जुन २१ देखि अगस्ट ३० सम्म दर्ता गराउन सकिने आयोजकले जनाएको छ।
सेप्टेम्बर १ देखि १५ सम्म पाँच अग्रज कलाकारको जुरी छनोट गरिने इन्कका महासचिव सुमन बुढा मगरले जानकारी दिए। जुरीको नाम गोप्य राख्ने आयोजकको निर्णय छ।
सेप्टेम्बर २९ देखि संसारभरबाट भोट गरी उत्कृष्ट १० मा परेका प्रतिभालाई जुरीको तर्फबाट ४० प्रतिशत, प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा हरेक विधामा उत्कृष्ट तीन चुनिने छ।
उत्कृष्ट पार्श्व गीत (पुरुष र महिला), भाषाभाषीका चलचित्रका गीत (पुरुष र महिला), आधुनिक गीत (पुरुष र महिला), लोक दोहोरी गीत (पुरुष र महिला), लोक गीत (पुरुष र महिला), गीतकार, संगीतकार, म्युजिक भिडियो निर्देशन, संगीत संयोजन, लोपन्मुख गीत (पुरुष र महिला), पप गीत (पुरुष र महिला), लोक गीत लय संकलक र म्युजिक भिडियो मोडल (पुरुष र महिला) गरी १३ विधामा अवार्ड दिइनेछ।