डेंगु प्रकोप तीब्र, नियन्त्रण सुस्त

डेंगु प्रकोप तीब्र, नियन्त्रण सुस्त

काठमाडौं/भद्रपुर/धरान : डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्।

डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हरेक वर्ष फरक-फरक जिल्लामा डेंगुले प्रकोपको रूप लिने गरेको छ। स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई सुम्पिएको छ। विशेषज्ञ तथा दक्ष जनशक्ति केन्द्रमा छ। न समन्वय छ न त रोगबारे अनुसन्धान भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले प्रदेशमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नभएको बताए। ‘डेंगुले खैलाबैला मच्चाएको छ। अनुसन्धान गर्न स्थानीय तहमा जनशक्ति छैन’, उनले भने, ‘काठमाडौंबाट अनुसन्धान गर्न पठाउनु भनेको पुरानै सोच भइहाल्यो।’ अनुसन्धान लामो समय लाग्ने भएकाले प्रदेशबाटै यो कार्य गरिनुपर्ने उनको सुझाव छ।

स्वास्थ्य अनुसन्धान परिषदका पूर्व सदस्यसचिव एवं जनस्वास्थ्य विज्ञ डा. खेम कार्कीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा योजना कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताए। ‘लहड तथा हचुवाका भरमा योजना-स्वास्थ्य कार्यक्रम बनाइन्छ। डेंगुले प्रकोपको रूप लिएको छ’, उनले भने, ‘चिकनगुनिया, स्क्रब टाइफसको कुरा आएकै छैन। कालाजार सबै जिल्लामा देखिएको छ। औलो पहाड र हिमालतिर देखा परेको छ। त्यसतर्फ चिन्ता देखिँदैन।’

जनस्वास्थ्य विज्ञ डा. कार्कीका अनुसार रोगको नियन्त्रण एवं रोकथामका लागि अनुसन्धान नगरी नीति, कार्यक्रम गर्दा प्रभावहीन भएका छन्।

‘सरकारी निकायबीच आपसमा समन्वय गरेको भए डेंगु नियन्त्रण हुन्थ्यो। सुनसरी, मोरङ र झापासम्म फैलँदैनथ्यो’, पूर्वस्वास्थ्यसचिव डा.सेनेन्द्रराज उप्रेतीले भने।

संघीय सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई गत वर्ष अनुसन्धानका लागि साढे ९ करोड रुपैयाँ विनियोजन गरेको थियो। २ र ५ नं प्रदेशले पनि अनुसन्धानका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका थिए। परिषद अध्यक्ष डा. झाले भने, ‘हामीले बजेटको शतप्रतिशत उपयोग ग¥यौैं। तर दुईवटा प्रदेशले बजेट उपयोग गर्न नसकेर रकमान्तर गरेछन्।’

संघ एवं सातवटै प्रादेशिक सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा झण्डै ७२ अर्ब बजेट विनियोजन गरेका छन्। तर, स्वास्थ्य अनुसन्धानलाई उपेक्षा गरिएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले भने, ‘स्वास्थ्यको कुल बजेटको एक प्रतिशत स्वास्थ्य अनुसन्धानमा खर्चने सरकारी प्रतिबद्धता छ। तर प्रतिबद्धता अनुसारको कार्यान्वयन अधुरै छ।’

स्वास्थ्य अनुसन्धानलाई महत्वदिनु साटो तत्कालका लागि चर्चा बटुल्ने खालका कार्यक्रम ल्याइएको विज्ञको टिप्पणी छ। स्वास्थ्य अनुसन्धानलाई तीब्रता दिनेतर्फ संघीय एवं प्रादेशिक सरकारहरू अघि नसरेको अनुसन्धान परिषद्का अध्यक्ष डा.झा स्वीकार्छन्।

आधुनिक चिकित्साका साथै आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान समेत प्रभावकारीरूपमा हुन सकेको छैन।


झापामा १४ लाई डेंगु संक्रमण

 मेचीनगरमा थप २ जना डेंगु सक्रमण बिरामी फेला परेका छन्। यसअघि नगरमा २ जना डेंगुका रोगी फेला परेका थिए। मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार मेचीनगर १ पाटापुर र १० को पशु बजारमा एक÷एकजना डेंगुको रोगी फेला परेका हुन्।

यसअघि मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको थियो। झापा जिल्लामा डेंगु संक्रमितको संख्या १४ पुगेको छ।

वडा नम्बर १० मा फेला परेका ३१ वर्षीया बिरामी काँकरभिट्टा धरानका यातायात मजदुर भएकाले धरानमा नै उनलाई डेंगु भएको आशंका गरिएको छ। अर्का १ नम्बर वडामा फेला परेका २५ वर्षीया डेंगुका नयाँ बिरामी हुन्। दुईजनाको उपचार मेचीनगरस्थित शिखर अस्पतालमा भइरहेको छ। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ।

बिरामीमा मनोबैज्ञानिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थर भने बताउन चाहेका छैनन। संक्रमितको घरमा पुगेर नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनीहरूका परिवारसँग छलफल गरेको छ। अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ। डेंगु नियन्त्रणमा कडाईका साथ अघि बढेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए।

नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। चेतनामूलक पर्चा पम्प्लेट वितरण सँगै माइकिङ पनि गरिरहेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले जानकारी दिए।डेंगु नियन्त्रण गर्न टोली परिचालन

डेंगु नियन्त्रण गर्न लामखुट्टे मार्ने टोली

धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि टोल टोलमा लामखुट्टे मार्ने प्रहरीसहितको टोली परिचालन गरिएको छ। धरान उपमहानगरले धरानका डेंगु प्रभावित वडामा समूह बनाई टोलटोलमा लामखुट्टे मार्ने अभियानमा प्रहरीसहितको टोली परिचालन गरेको हो।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट धरानमा ७ सय भन्दा बढी मानिसमा डेंगु संक्रमण देखिएपछि उपमहानगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरेको धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीले बताइन्। उनले धरानका डेंगु प्रभावित वडाअरू १, ७, ९, १२ र १५ मा लामखुट्टे नष्ट गर्न प्रहरीसहितको टोली परिचालन गरिएको जानकारी दिइन्।

लामखुट्टे नष्ट गर्न प्रत्येक वडामा स्वास्थ्य प्राविधिक, जनप्रतिनिधि, प्रहरी, समाजसेवी, टोल विकास संस्थाका प्रतिनिधि परिचालन गरिएको भण्डारीले बताइन्।

धरानमा खानेपानीको अभाव भएका कारण सर्वसाधारणले खुल्ला भाँडामा पानी सञ्चित गर्छन्। संक्रमित लामखुट्टले सफा पानीमा अण्डा पार्ने र लार्भा पिउपा हँुदै लामखुट्टेको उत्पत्ति भएर धरानमा डेंगु फैलिएको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका डा.विजयकुमार खनालले बताए।

चिकित्सकले पानी संचित गर्ने काम बन्द गर्न तथा संचित पानी नष्ट गर्न सुझाव दिएपछि उपमहानगरपालिकाले संचित पानी नष्ट गरी लामखुट्टे मार्ने काम गरिरहेको वडानम्बर १५ का सदस्य ज्ञानेन्द्र बस्नेतले बताए।

सोमबार १५ नम्बर वडामा दश वटा समूहले २७ टोलमा लामखुट्टे, अन्डा, लार्भा, प्यूपा नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले डेंगु प्रभावित क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गरी लामखुट्टे नष्ट गर्न धरानका २० वटै वडामा प्रहरी परिचालन गरिएको बताए।

धरानमा डेंगु प्रकोप फैलिएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले स्थलगत निरीक्षण गरेका छन्। उनले डेंगुका बिरामीलाई भेट गरी उपचार सहज बनाउन वीपी प्रतिष्ठानका चिकित्सकलाई निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.