प्रविधिमा अब्बल बन्दै
काठमाडौं : छायांकनमा रहेको फिल्म कबड्डी– ३ मा क्यामेराको एड्भान्स भर्जन ‘एरिज एलेक्सा एक्सटी प्लस’ को प्रयोग गरिएको छ। यो नेपाल भित्रिएको अहिलेसम्मकै उत्कृष्ट क्यामेरा हो। हुन त नेपालमा अन्तर्राष्ट्रिय स्तरमा नै प्रयोग हुने रेड क्यामेरा धेरै पहिलेदेखि प्रचलनमा छ।
कबड्डी– ३ मा प्रयोग भइरहेको क्यामेराको भाडा १० लाखसम्म पर्न आउँछ। गुणस्तरीय र स्पष्ट पिक्चरका लागि यो क्यामेरा राम्रो मानिन्छ। विशेषगरी सिनेमा मेकिङकै लागि तयार भएको यो क्यामेरामा मल्टिपल रेकर्डिङ सिस्टम छ। डिजिटल फुटेजअन्तर्गत नजिकको वस्तु क्याप्चर गर्न मानिसको आँखाले देख्न सक्ने जत्तिकै क्षमता यसले राख्छ।
३५ दशमलव ४ मेगापिक्सल पिक्चर क्वालिटी भएको यो क्यामेराको मूल्य ९५ लाख रुपैयाँ पर्छ। यसलाई नेपालमा दीपेन्द्र के खनाल र सुरज पाण्डेले भित्त्याएका हुन्।
सुरुआती समयमा प्रविधिकै कारण नेपालमा फिल्म बनाउन मुस्किल थियो। पहिलो नेपाली फिल्म ‘सत्य हरिश्चन्द्र’ भारतको कोलकातामा निर्माण हुनुले पनि यो कुरा स्पष्ट पार्छ। त्यसपछि नेपालमै पहिलो पटक बनेको आमा फिल्मलाई रिलमा खिचिएको थियो।
यो क्यामेराको प्रयोग महँगो फिल्ममा मात्र हुने गथ्र्याे। कलाकारको अभिनयलाई सकेसम्म एकै सटमा ओके गरिन्थ्यो। आफूले कस्तो अभिनय गरेछु भनेर तुरुन्तै हेर्न सकिँदैनथियो। कलाकारले गल्ती सच्याउने मौका नै पाउँदैनथिए। साथै चलचित्र सम्पादनको प्रक्रियासमेत चुस्त नहुँदा नेपाली फिल्मले प्रविधिमा गुणस्तरीय उत्पादन गर्न निकै संघर्ष गर्नु पर्यो। अहिले चल्तीका क्यामेराम्यान दीर्घ गुरुङ भन्छन्, ‘समयअनुसार नेपाली फिल्म उद्योगले उन्नत क्यामेरा प्रयोग गर्दै आएको छ।’
गुरुङका अनुसार पहिले एनालग क्यामेराबाट नेगेटिभ प्रयोग गरेर चलचित्र खिच्नु परे पनि निर्देशकसँग फिल्म मेकिङको ज्ञान भए गुणस्तरीय फिल्म बन्थे। नेपालमा डिजिटल क्यामेरा आएपछि फिल्म ‘कागबेनी’ ले पहिलो पटक यसको प्रयोग गर्यो। यो फिल्म ६ जनवरी २००८ मा प्रदर्शनमा आएको हो।
नेपाली फिल्मले डिजिटल क्यामेरा र ग्राफिक डिजाइन जस्ता उन्नत प्रविधिको प्रयोग गर्न थालेको केही समय भएको छ। पुराना प्रविधि विस्थापित गर्दै अहिले रेड क्यामेरा, गोप्रो, ड्रोनजस्ता नवीनतम प्रविधि प्रयोग भइरहेका छन्।
कलर ग्रेडिङ र ग्राफिक डिजाइनसमेत पहिलेको तुलनामा स्तरीय भएको छ। यसबाट पिक्चर क्वालिटी निकै राम्रो देखिन्छ।
फिल्म रातो टीकाको छायांकनमा व्यस्त रहेका पुरुषोत्तम प्रधान लाइटिङ र पोस्ट प्रडक्सनको पाटोमा नेपाली फिल्मको प्रविधि अझै कमजोर रहेको बताउँछन्। भन्छन्, ‘म रेड कम्पनीकै ड्रागन सिक्स के क्यामेरा प्रयोग गरिरहेको छु तर क्यामेरामा मात्र फिल्मको क्वालिटी निर्भर हुँदैन।’ दक्षिण एसियामा नेपाल भारत प्रविधिमा अब्बल छन्। यहाँ प्रयोग हुने क्यामेरा हलिउड र बलिउडकै हाराहारीमा छ। तर नवीनतम क्यामेरा प्रयोगका आधारभूत ज्ञान फिल्म निर्देशकमा पनि हुनु आवश्यक भएको प्रधान बताउँछन्। नेपालमा प्रविधि अब्बल हुँदा हुँदै पनि फिल्म राम्रो भने बन्न नसकेको उनी बताउँछन्। चलचित्रको ज्यान स्क्रिप्ट हो। ‘क्यामेराको काम त सुनमा सुगन्ध मात्र हो’, उनी भन्छन्।
पछिल्ला केही वर्षमा लुट, पशुपति प्रसाद, कालो पोथी, ड्रिम्स्, बुलबुल, छक्का पञ्जा एक, दुई तीनजस्ता फिल्म नेपाली फिल्म मेकिङमा मानकको रूपमा स्थापित भए। कबड्डी–३ का निर्देशक तथा कथा लेखक बाबुराम गुरुङले नेपाली फिल्मलाई स्तरीय बनाउन नवीनतम क्यामेरा र ड्रोनको प्रयोग गरे।
कबड्डी फिल्मको तीनवटै सिक्वेल, आप्पा, साइँलीजस्ता फिल्ममा उनले नवीनतम् क्यामेरा र ड्रोनको प्रयोग गरेका छन्। ‘लुट’ मा रेड एपिक, गोब्रोका क्यामेरा प्रयोग गरिएको थियो। ‘पशुपति प्रसादका निर्देशक खगेन्द्र लामिछानेले आफ्नो फिल्मका लागि ‘फोर के, टु के’ र ‘एचडी’ क्यामेरा प्रयोग गरेका थिए।
‘जालो’ जस्तो एकै सर्टमा खिचिएको फिल्म निर्माण गर्न निर्देशक अराज केशव गिरीले अधिकतम स्टोरेज क्षमता र ब्याकअप भएको क्यामेरा प्रयोग गरेका थिए।
अहिले फिल्मको सुटिङ नसकिँदै आफ्नो सुट सकिएकाहरू डबिङमा जान सक्छन् पहिले यो प्रविधि थिएन। गुरुङ भन्छन्, ‘अहिले धेरै मोनिटरसमेत एकै पटक सञ्चालन गर्न मिल्छ।’ कहाँ के गल्ती भएको छ त्यो सबैले आफ्नो तर्फबाट सच्याउन सक्ने उनी बताउँछन्।
क्यामेराबाट सही काम लिन निर्देशकको भूमिका महत्त्वपूर्ण हुन्छ। नेपाली फिल्म उद्योगमा एनलगदेखि डिजिटल एरासम्मको अनुभव बटुलिसकेका प्रधान क्यामेरा र फिल्म मेकिङसम्बन्धी ज्ञान हुन नयाँभन्दा पुराना निर्देशक बढी सचेत हुने गरेको अनुभव सुनाउँछन्। नेपाली चलचित्रको इतिहास त्यति लामो नभए पनि प्रविधिमा यति छिटो छलाङ मार्नु राम्रै पक्ष हो। तर यसको सही प्रयोगका साथै ज्ञान र सीप पनि प्राविधिकमा अनिवार्य भएको प्रधान बताउँछन्। ‘केही अपवादबाहेक चल्तीका प्राविधिक क्षमतावान् छन्’, उनले भने। चंगा चेट पहिलो फिल्म हो जसको सुट एट के क्यामेराबाट गरिएको थियो। साथै भिजिलान्ते थ्रीडीमा खिचिएको अर्को फिल्म हो।