मध्यपूर्वमा थप १ हजार सैनिक तैनाथ गर्दै अमेरिका, 'इरानले हमला गर्याे'
वासिङ्टन : ओमानको खाडीमा गत साता दुईवटा तेल ट्यांकरमा भएको हमलासँग जोडिएका केही स्याटलाइट तस्बिरहरु अमेरिकाले सार्वजनिक गरेको छ ।
साथै हमलाको लागि इरानलाई जिम्मेवार भन्दै आरोप लगाएको छ । पेन्टागनबाट सार्वजनिक भएका तस्बिरहरुमा इरानी सैनिक हमलामा परेको जापानी कोकुका करेजियस जहाजबाट विस्फोटक सामग्री हटाउँदै गरेको देखिएका छन् । अर्को तस्बिरमा कोकुका जहाजमा टूलो प्वाल परेको समेत देखिएको बताइन्छ ।
यही शिलशिलामा अमेरिकाले मध्यपूर्वमा एक हजार अतिरिक्त सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । इरानले पनि अमेरिकाको आरोप गलत भएको बताउँदैआएको छ । इरानी मिडियाका अनुसार दुई जहाजमाथि अलग अलग समयमा तीन पटक आक्रमण भएको थियो । इरानी नौसेनाले नै ४४ जना ‘क्रू मेम्बर’लाई बचाएका थिए । जब कि, अमेरिकाले आफ्ना सेनाले क्रू मेम्बरलाई बचाएको जिकिर गरेको छ ।
अमेरिकाले औपचारिक रुपमै आफ्ना अतिरिक्त सेना तैनाथ गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । अमेरिकाका कार्यवाहक रक्षामन्त्री पेट्रिक सेनहनले सोमबार यस्तो जानकारी दिएका हुन् ।