शेरबहादुरजी आफैं घेर्न आउनुभयो, आश्चर्यचकित भएँ : प्रधानमन्त्री

शेरबहादुरजी आफैं घेर्न आउनुभयो, आश्चर्यचकित भएँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कंग्रेसले संसदमा असंसदीय र अमर्यादित गतिविधि देखाएको टिप्पणी गरेका छन्। मंगलबार आफू बोल्ने क्रममा कांग्रेस सांसदहरूले अवरोध गरेपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले दक्षिणपन्थी र प्रतिगामी शक्तिको मोर्चाबन्दी स्पष्ट रुपमा देखिएको दाबी गरे।

'लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको शासनविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट देखा परेको छ', प्रधानमन्त्रीले भने, 'विभिन्न प्रकारका तत्वहरू देखा परेका छन्। अति बामपन्थी, उग्रपन्थीदेखि अति दक्षिणपन्थी र प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ। त्यसको प्रतिविम्ब संसदमा पनि देखियो।'

सात सालको आन्दोलनपछि सबैलाई साथ लिनुपर्नेमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाइएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यतिबेला पनि कांग्रेसले प्रतिक्रियावदीसँग सहकार्य गरेको बताए। त्यही नीतिले २००७  सालपछि जनताले चाहेजस्तो संविधान नबनेको उनले टिप्पणी गरे।

कांग्रेसको बालहठ

सम्बोधनका लागि समय लिइसकेको अवस्थामा प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्छ भनेर प्रतिपक्षी कांग्रेसले बालहठ देखाएको उनले टिप्पणी गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले कांग्रेसले संसदमा 'अत्यन्तै असंसदीय र अमर्यादित व्यवहार देखाएको' बताए। मंगलबार कांग्रेसको अवरोधका कारण रोस्ट्रममा पुगिसकेका प्रधानमन्त्री सम्बोधन नगरी फर्किन बाध्य भएका थिए। कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीको सम्बोधनमात्र स्थगित भएन सभामुखले बैठक नै स्थगित गरेका थिए।

'असंसदीय र अमर्यादित व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो', प्रधानमन्त्रीले भने, 'दुनियाको लोकतान्त्रिक अभ्यासमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको खण्डमा संसदलाई सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन।'

प्रधानमन्त्रीले अगाडिदेखि तय भएको आफ्नो सम्बोधन रोक्नका लागि मात्र कांग्रेसले अलोकतान्त्रिक ढंगले संसदमा अवरोध गरेको बताए। 'आश्चर्य लाग्दो गरी अगाडिदेखि तय भएको सम्बोधनको समयमा आफूले बोल्न पाउनुपर्छ भन्ने अड्डीमात्र उसले लिएन, बोल्न रोक्न बेलमा गएर संसदको कारबाहीलाई अवरोध गरियो। तर त्यस्तो गर्नुपर्ने विषय थिएन', प्रधानमन्त्रीले भने, 'पहिले प्रधानमन्त्रीले बोल्ने र पछि विपक्षी दलको नेता तथा अरुले वरियताअनुसार बोल्ने संसदीय प्रचलन हो।'

कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्न थालेको भन्दै प्रधानमन्त्रीले आक्रोश पोखे। संसदमा बोल्न नपाएका कारण आफूले बाहिर पत्रकार सम्मेलन गरेको अर्थ नलगाउन उनले आग्रह गरे।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा आफैं नेतृत्व गरेर बेल घेर्न आइपुगेको भन्दै व्यंग्य गरे। 'मेरा लामो समयदेखिका मित्र, लोकतान्त्रिक आन्दोलनका सहयात्री, आफैं नेतृत्व गरेर बेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो', प्रधानमन्त्रीले भने, 'म आश्चर्यचिकत भएँ, उहाँले संसदीय मर्यादा थाहा पाउनुपर्ने हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.