योग सिकाउँदै गण्डकी प्रदेश सरकार
बागलुङ : गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वस्थ बनाउने उद्देश्यले जिल्ला जिल्लामा योग शिविर सञ्चालन गरेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बागलुङमा यही साता योग शिविर सञ्चालन गरेको छ । प्रदेशका नागरिकलाई योग, ध्यान र व्यायामको माध्यमबाट स्वस्थ जीवनशैलीमा बाँच्न प्रेरित गर्ने अभिप्रायले मन्त्रालयले ‘स्वस्थ जीवन’ अभियान मार्फत शिविर सञ्चालन गरेको सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका अधिकृत नवीनकिरण भुुुुसालले जानकारी दिए ।
बागलुङ सदरमुकाममा सञ्चालित शिविरमा ४ सय बढी सहभागी भए । शिविरमा १६ प्रकारका योगासनबारे डा.योगी विकासानन्दले प्रशिक्षण दिएका थिए । व्यस्त दैनिकी र तनावपूर्ण जीवनशैलीका कारण मानिसले हाँस्न र आनन्दायक जीवन बाँच्न बिर्सँदै गएकाले योग अभ्यास अपरिहार्य भएको विकासानन्दले बताए । शिविरमा विभिन्न जिल्लाका जनप्रतिनिधिहरु पनि सहभागी थिए ।